कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

क्वारेन्टाइनमा राख्नै मुस्किल

प्रदेशभरिमा ६ सय ५० जना क्वारेन्टाइनमा, बल्लबल्ल राखिएका पनि सुविधा नभएको भन्दै भाग्न थाले
प्रदेश ब्युरो

बुटवल — विदेशबाट फर्किएका व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यहाँका स्थानीय तहहरूले क्वारेन्टाइन स्थल तयार गरेर उनीहरूको खोजी थालेका छन् । अहिलेसम्म स्वत:स्फुर्त रूपमा कोही पनि क्वारेन्टाइनमा बस्न आएको छैन । 

क्वारेन्टाइनमा राख्नै मुस्किल

खोजीमा संलग्न टोलीले परामर्श गरेर घरमै छुट्टै बस्न अनुरोध गर्नेबाहेक काम हुन सकेको छैन । ‘मलाई केही भएको छैन’ भन्दै बस्न मानिरहेका छैनन् । स्थानीय तहले लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्न सकेका छैनन् । प्रदेश ५ का स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टाइन केन्द्र सुविधाविहीन भएपछि त्यहाँ राखिएकाले पनि धमाधम छोड्न थालेका छन् । अस्थायी प्रयोजनका लागि हतारहतारमा प्रदेशका १ सय ९ वटै स्थानीय तहले ५ देखि ५० बेडसम्मका क्वारेन्टाइन केन्द्र सञ्चालनमा ल्याएका छन् ।

त्यस्ता क्वारेन्टाइनमा खानेपानी, शौचालय, बिजुलीलगायतका सुविधा छैनन् । गर्मीको समय सुरु भएकाले तराईका जिल्लामा खोलिएका क्वारेन्टाइनमा मच्छडले टोकेर बस्नै नसक्ने अवस्था छ । कोरोना त्रासले कतिपय स्थानमा खाना र खाजाको व्यवस्थापनमा समस्या छ । प्रदेश ५ मा आइतबारसम्म १ सय ९० स्थानमा २ हजार २ सय ९९ बेडका क्वारेन्टाइन स्थापना भएका छन् ।

तीमध्ये ५ सय ५० जना मात्र क्वारेन्टाइनमा बसेको प्रदेश निमित्त प्रहरी प्रमुख नरबहादुर खत्रीले बताए । अधिकांश ठाउामा स्थानीय तह, स्थानीय क्लबसँगको सहकार्यमा प्रहरीले क्वारेन्टाइनमा राख्ने र तिनको सुरक्षामा पर्याप्त ध्यान पुर्‍याएको उनले बताए । ‘तैपनि, धेरै स्थानमा हतारमै तयार गरिएकाले सबै सुविधा छैनन्,’ उनले भने, ‘सक्दो व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।’ घरपरिवारको सम्पर्कमा पुगिसकेका व्यक्ति पुन: फर्केर क्वारेन्टाइनमा बस्न आउन नमान्ने गरेको र घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्ने गरेको उनले बताए ।

रूपन्देहीका विभिन्न १२ वटा क्वारेन्टाइनस्थलमध्ये तिलोत्तमाको दुर्गादत्त माविमा सोमबारसम्म ३० जना छन् । स्थानीय नवज्योति युवा क्लबले अहिलेसम्म खाजा र खानाको व्यवस्थापन गरिरहेको क्लबका अध्यक्ष दिपेश कँडेलले बताए । सियारी गाउँपालिकाले तयार गरेको १५ बेडको क्वारेन्टाइनमा ११ जना बस्दै आएको अध्यक्ष अयोध्याप्रसाद थारुले बताए । सैनामैना नगरपालिकाले तयार गरेको सैनामैना–१, वनकट्टास्थित पद्मपाणिनी योग केन्द्रमा एक जना छन् । शुद्धोधन गाउँपालिका–३, रमवापुरस्थित यज्ञोदय दुधनाथ बहुमुखी क्याम्पसमा १३ जना छन् ।

जिल्लाका १२ क्वारेन्टाइनमा सोमबारसम्ममा ८३ जना बसेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले बताए । प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले तयार गरेको बुटवल कोरोना अस्थायी अस्पतालको आइसोलेसन बेडमा आठ जना उपचाररत छन् । उनीहरूको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

दाङको घोराही उपमहानगरपालिकाले विदेशबाट फर्किएका व्यक्तिको अभिलेख तयार गर्न सबै वडामा फारम वितरण गरेको छ । चैत १ गतेपछि भारतलगायत मुलुकबाट आएकाको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको नगर प्रमुख नरुलाल चौधरीले बताए । घोराही–३ स्थित प्रेरणाका लागि अभियान, घोराही–१५ स्थित परिवार नियोजन संघ र घोराही–१६, सर्रास्थित बाल अस्पतालको भवनलाई क्वारेन्टाइन स्थल बनाइएको उनले बताए । क्वारेन्टाइन स्थलमा चिकित्सकसहितको टोली रहने उनले बताए । कोरोनाका लक्षण देखिए कोरोना विशेष अस्पतालमा पठाउने र नभए बिस्तारै घर पठाउँदै जाने उनले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाले रक्षाचौरस्थित गुरुजजुर माविमा ५० शय्याको क्वारेन्टाइन स्थल निर्माण गरेको नगर प्रमुख घनश्याम पाण्डेले बताए । अहिले समुदायस्तरमा स्वास्थ्यकर्मी खटाएर खोज्ने र पत्ता लगाउने काम भइरहेको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।

अहिलेसम्म २ सय ९६ जना विदेशबाट आएका भेटिएको र तीमध्ये २ सय ५० भन्दा बढी भारतबाट आएको उनले बताए । कसैमा पनि लक्षण नदेखिएकाले घरमै बस्न परामर्श दिइएको उनले बताए । लमही नगरपालिकाले विदेशबाट आएका अधिकांशलाई होम क्वारेन्टाइनमा राखेको नगर प्रमुख कुलबहादुर केसीले बताए ।


आए ११ सय, बसे ३९ मात्रै

भारत तथा तेस्रो मुलुकबाट पाल्पामा आएकाहरूले क्वारेन्टाइनमा बस्न मानेका छैनन् । चैत १ गतेपछि मात्रै १ हजार ८६ जना जिल्लामा भित्रिएका छन् । तर, क्वारेन्टाइनमा ३९ जना मात्रै छन् । क्वारेन्टाइनमा राखिएका कतिपय व्यक्तिलाई परिवारले घर लगेका छन् । स्वास्थ्य कार्यालयका अनुसार १० स्थानीय तहमा ३ सय ४६ बेडका क्वारेन्टाइन बनेका छन् ।

अहिलेसम्म पूर्वखोलाको जनमार्ग मावि सिलुवामा २१, रामपुर नगरपालिकाअन्तर्गत बालकल्याण प्रावि रामपुरमा नौ, चन्द्रोदय मावि गाडाकोटमा तीन, रिब्दीकोट गाउँपालिकाको कालिका प्रावि जोगीथुममा दुई र रैनादेवी छहरा गाउँपालिकाको जोगिवारी प्रावि भुवनपोखरीमा चार जना छन् । पूर्वखोलामा १ सय ९८ जना भारतलगायत तेस्रो मुलुकबाट भित्रिएका हुन् । चैत ३ गतेयता मात्र १ सय २७ जना भित्रिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

गाउँपालिकाले उद्बुद्ध कलेज पूर्वखोलामा १०, गणपति माविमा १०, जनमार्ग माविमा ३० र समाज उत्थान सहयोग केन्द्रमा ५ वेडको क्वारेन्टाइन बनाएको छ । छिमेकी मुलुक भारतबाट आउने धेरै छन् । विदेशबाट आउनेहरू खुलेर हिंड्दा ग्रामीण भेगमा सन्त्रास फैलिएको छ ।


१ सय ७२ जना

बर्दियामा भारतलगायत मुलुकबाट आएका सबै क्वारेन्टाइनमा बसेका छैनन् । विदेशबाट आएका १ सय ७२ जनालाई जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकामा निर्माण गरिएका १३ वटा क्वारेन्टाइनमा राखिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा राखेका तीन जना उपचारपछि घर फर्केका छन् । क्वारेन्टाइनमा राखिएकामध्ये तीन जनालाई ज्वरो आउने, खोकी लाग्ने भएपछि अस्पताल भर्ना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेयले बताए । भारतबाट आएका ६ सय १० जनालाई परिवारबाट अलग्गै रहने गरी घरमै क्वारेन्टाइनमा राखिएको छ । परिवारसँग घुलमिल नहुने सर्तमा घरमा राखिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।


कपिलवस्तुमा ८५ जना

कपिलवस्तुमा विभिन्न स्थानीय तहले २ सय ५७ बेड क्षमताका क्वारेन्टाइन स्थल तयार गरेका छन् । तिनमा अहिले ८५ जना मात्र छन् । कृष्णनगर नगरपालिकामा १ सय १, कपिलवस्तु नगरपालिकामा १६ र विजयनगर गाउँपालिकामा १६ बेडका क्वारेन्टाइन बनाइएको छ । शिवराज नगरपालिकामा १४, महाराजगन्ज नगरपालिकामा ३५ र वाणगंगा नगरपालिकामा २२ बेडको क्वारेन्टाइन बनाइएको छ । बुद्धभूमि नगरपालिकामा ५, मायादेवी गाउँपालिकामा २०, यशोधरा गाउँपालिकामा ६ र शुद्धोदन गाउँपालिकामा १२ बेडका क्वारेन्टाइन छन् । सदरमुकामस्थित कपिलवस्तु जिल्ला अस्पतालमा चार, वाणगंगाको पिपरा अस्पतालमा दुई र शिवराज अस्पताल बहादुरगन्जमा दुई बेडको आइसोलेसन वार्ड तयारी अवस्थामा छन् । संक्रमितको उपचारका लागि जिल्लाका तीन अस्पतालमा आठ आइसोलेसन बेड तयार छन् । ‘शंकास्पदको उपचार गर्ने तयारी छ,’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘विदेशबाट फर्केकामाथि निगरानी बढाएका छौं । उनीहरूको लगत राख्न थालेका छौं ।’


‘खायो, सुत्यो’

पूर्वी रुकुमको सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी मावि क्वारेन्टाइनमा सोमबारसम्म ३३ जनालाई राखिएको छ । खाजादेखि खानाको तालिका बनाइएको छ । बिहान झोलिलो पदार्थ खान्छन् । त्यसपछि दाल, भात, तरकारी खान्छन् । अपराह्न झोलिलो पदार्थ खुवाइन्छ । बेलुका दाल, भात र तरकारी खाएर सुत्छन् । भारत तथा तेस्रो मुलुकबाट आएकालाई यहाँ राखिएको छ । गाउँपालिकाले कोभिड–१९ को संक्रमण हुन सक्ने भन्दै क्वारेन्टाइनमा राखेको हो । स्वास्थ्यकर्मीले ढोकाबाहिरैबाट हेर्छन् । यहाँ राखिएका व्यक्तिको नजिक जान सकेका छैनन् । प्रत्येक कोठामा चार जना र एउटा खाटमा दुई जना सुत्छन् । व्यक्तिगत सुरक्षा सामग्री अभाव भएकाले समस्या भइरहेको जिल्ला अस्पतालका चिकित्सक पूर्णबहादुर पुनले बताए ।


बाँकेमा ५० जना

बाँकेका स्थानीय तहले बल्ल विदेशबाट आएका व्यक्तिको खोजी गर्न थालेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले भारतलगायत मुलुकबाट आएकालाई खोजेर क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको बताइन् । आफ्नो र परिवारको सुरक्षाका लागि क्वारेन्टाइन बस्नु पर्छ भन्ने चेतनाको कमीले यस्ता व्यक्तिलाई क्वारेन्टाइन स्थलसम्म ल्याउन मुस्किल भइरहेको उनले बताइन् । जिल्लाभर अहिलेसम्म ५० जना क्वारेन्टाइनमा रहेको प्रहरीले जनाएको छ । यहाँ आइसोलेसन अस्पताल (अस्थायी) बनेको छ । भेरी प्रादेशिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले क्वारेन्टाइनमा अति आवश्यक सुविधामा कमी हुन नदिएको बताए ।


५९ जना क्वारेन्टाइनमा

पश्चिम नवलरासीमा एक महिलासहित ५९ जना विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार सुनवल नगरपालिका र सुस्ता गाउँपालिकामा २१/२१ जना, बर्दघाट नगरपालिकामा चार, प्रतापपुर गाउँपालिकामा सात, पाल्हीनन्दन गाउँपालिकामा चार जना क्वारेन्टाइनमा छन् । रामग्राम नगरपालिकामा कोही पनि बसेका छैनन् । एक साता अवधिमा भारतलगायत विदेशबाट आएकालाई जनप्रतिनिधिले क्वारेन्टाइन बस्न आग्रह गरिरहेका छन् । सुनवल नगरपालिकामा चिकित्सकसहितको क्वारेन्टाइन स्थल स्थापना गरिएको छ । जिल्लामा २ सय १४ बेडका क्वारेन्टाइ स्थल छन् ।


गुल्मीमा ५५ र अर्घाखाँचीमा ३३ जना

गुल्मी र अर्घाखाँचीमा विदेशबाट आएका ८८ जनालाई स्थानीय तहका क्वारेन्टाइनमा राखेर निगरानी राखिएको छ । अर्घाखाँचीमा ३३ जना क्वारेन्टाइनमा छन् । तर, भारतबाट आएका १ हजार ८ सय ५१ जना क्वारेन्टाइनमा छैनन् ।

तीमध्ये धेरै गाउँमा साथीभाइ र नातेदारकहाँ भेटघाटका लागि हिँडिरहेका छन् । जिल्लाका ६ स्थानीय तहमा ४ सय ४४ क्वारेन्टाइन बेड तयार भएको जिल्ला प्रशासनका सूचना अधिकारी विष्णुराज बेल्वासेले बताए । कुन पालिकामा कति भारत र अन्य देशबाट आए भन्ने तथ्यांक राख्ने र बाहिरबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने स्थानीय तहको जिम्मेवारी भएको उनले बताए । उनीहरू होम क्वारेन्टाइनमा पनि बसेका छैनन् । गाउँमा हिँडेका छन् भने त जनप्रतिनिधिले निगरानीमा नराख्नु राम्रो नभएको उनले बताए ।

तेस्रो मुलुकबाट आएका कतिपयले अटेर गरी गाउँमा खुलेआम भेटघाट गर्दा अलि डर भएको प्रदेश सांसद चेतनारायण आचार्यले बताए । ‘भारतबाट आएकाहरूलाई केही नभएको रहेछ भने त केही भएन तर संक्रमित रहेछन् भने त डुबाए,’ उनले भने । क्वारेन्टाइनमा बसेका ३३ जना लकडाउनपछि जिल्ला आएका हुन् ।

गुल्मीमा ५५ जना क्वारेन्टाइनमा छन् । भारत र तेस्रो मुलुकबाट आउनेको संख्या १ हजार ७ सय २४ पुगेको छ । गुल्मीदरबारबाहेक ११ वटा स्थानीय तहमा ४ सय ९५ बेडका क्वारेन्टाइन निर्माण भएको जिल्ला प्रशासनका सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए ।

प्रकाशित : चैत्र १७, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?