कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनौलीमा सधैं भीड

भारतबाट आएका पाँच सयभन्दा बढी व्यक्ति नाकामा अलपत्र, भन्छन्– ‘हामी बाध्यताले आएका हौं, घर जान दिइयोस्’
माधव ढुंगाना

(भैरहवा) — विदेशमा अलपत्र र समस्यामा परेका नागरिकको उद्धार गर्नु राज्यको जिम्मेवारी हो । तर, भारतका विभिन्न स्थानबाट घर फर्किने क्रममा सुनौलीमा अलपत्र परेका सयौं नेपालीले भोग्नुपरेका पीडा देख्दा भने सरकार आफ्ना नागरिकप्रति उत्तरदायी हुन नसकेको आभास हुन्छ । 

सुनौलीमा सधैं भीड

सीमाबाट आवागमन रोक्न सरकारले एक सातादेखि सीमा बन्द गरेको छ । तर, भारतबाट आउनेको संख्या घटेको छैन । थुप्रै हन्डर खेपेर मुलुक फर्किनेको ताँती नाकामा अझै छ । काँधमा झोला, गुन्टा र काखमा बालबच्चा च्याप्दै उनीहरू आइरहेका छन् । कतिपय सयौं किमि पैदल र केही बसमा कोचिँदै सिमानासम्म आइरहेका छन् । ‘हामी रहरले आएका होइनौंं, बाध्यताले आएका हौंं,’ उनीहरूले भने, ‘मुलुक फर्किने वातावरण मिलाइदिन अनुरोध छ ।’


भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका सयौं नेपाली यतिबेला सुनौली–भैरहवा नाका हुँदै मुलुक आउने क्रममा छन् । शनिबार सिमानासम्म आएर नेपाल प्रवेश अनुमति नपाएपछि उनीहरू दुई दिन भारतीय भूमिमै रात कटाउन बाध्य भए । आफूले काम गरेको कम्पनी बन्द भएपछि र मालिकले धपाउन थालेपछि विवश भएर नेपाल फर्किनुपरेको पीडा उनीहरूको छ । ‘काम गरेको कम्पनी बन्द भएपछि मालिकले राख्न मानेन,’ अर्घाखाँचीको मालारानी गाउँपालिका–३ का सुनिल खनालले भने, ‘अहिले प्रवेश नपाउँदा देश परायाजस्तो लाग्न थाल्यो । आफ्नै घरको ढोका बन्द गरेजस्तो हुन थाल्यो ।’ सुनौलीमा अलपत्र परेका अधिकांशले भारतमा खाने र बस्ने समस्या भएपछि नेपाल फर्कनुपरेको बताए ।


उनीहरूले सरकारले तोकेको स्थानमा दुई सातासम्म बस्न तयार रहेको बताएका छन् । ‘हामी क्वारेन्टाइनमा बस्न तयार छौं,’ अर्घाखाँची, नरपानीका सुरेश भुसालले भने, ‘हामी सबै जना नेपाल पुगेपछि दुई साता क्वारेन्टाइनमा बिताउने मनस्थितिले हिँडेका हौंं ।’ अलपत्र परेका उनीहरूको अवस्था के हुने भन्ने सोमबार साँझसम्म टुंगो लाग्न सकेको छैन । जिम्मेवार निकायका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय सरकार कसैले पनि यसप्रति चासो नदिएको उनीहरूले गुनासो गरे ।


रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यसबारेमा प्रदेश र संघीय सरकार कतैबाट पनि कुनै निर्णय नआएको बताए । सिमानामा आएका नेपाली र उनीहरूको अवस्थाबारे आफूले गृह मन्त्रालयमा आइतबार जानकारी गराएको उनले जनाए । सुनौलीमा अलपत्र पर्नेको संख्या सोमबार अपराह्नसम्ममा पाँच सयको हाराहारी छ । जसमा केही महिला र बालबालिकासमेत छन् । भारतीय सुुरक्षाकर्मीले उनीहरूमध्ये केहीलाई बसपार्क र केहीलाई स्थानीय विद्यालयमा राखेका छन् ।


उनीहरू भोकभोकै पर्न थालेपछि नेपालको सीमावर्ती बेलहिया र भारत सुनौलीका केही स्थानीय मिलेर सोमबार खानाको व्यवस्था मिलाएको बेलहियाका रमेश थापाले बताए । उनका अनुसार धेरै दिनदेखि घर आउन नपाएपछि लुकेर खुला सिमानाको प्रयोग गर्दै नेपाल छिर्न थालेका हुन् । भारतबाट रोजगारी गरी घर फर्कन विवश भएका गरिब नेपालीप्रति राज्यले आफ्नो दायित्व बहन गर्न नसकेको आरोप सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा बेलहियाका स्थानीय विष्णु शर्माले लगाए । ‘विकसित देशमा रहेका नेपालीलाई विमान चार्टर गरेर उद्धार गर्ने निर्णय गर्ने सरकारले भारतमा मजदुरी गरेर सिमानामा अलपत्र परेका नेपालीको वास्ता नराख्नु दुर्भाग्य हो,’ उनले भने, ‘भारतमा मजदुरी गर्ने नेपाली नागरिक होइनन् र ?’


सिमानामा कष्ट बेहोरेका नेपालीको अवस्था र उनीहरूलाई उद्धार गर्नेबारेमा आफूले व्यक्तिगत रूपमा प्रशासनसमक्ष कुरा राखिसकेको जनाउँदै उनीहरूको समस्या समाधानका लागि तत्कालै कुनै निर्णय नभएमा परिस्थिति भयावह हुने जानकारी दिएको उनले बताए । समस्यामा परेर सिमानामा अलपत्र नेपालीले अर्को कदम उठाएमा वा खुला सिमानाको प्रयोग गरेमा कोरोना संक्रमणको जोखिम नेपालमा झन् भयावह हुने दाबी उनको छ ।


प्रकाशित : चैत्र १७, २०७६ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?