१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कोरोना संक्रमित युवतीसँगै आएकाको स्वाब परीक्षण भएन

मनोज पौडेल

कपिलवस्तु — कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट बकतारको दोहा हुँदै आएका कपिलवस्तुका दुई युवाको अझैसम्म पनि स्वाब परीक्षण हुन सकेको छैन ।

कोरोना संक्रमित युवतीसँगै आएकाको स्वाब परीक्षण भएन

मायादेवी गाउँपालिका–१, वर्रोहियाका नुरमोहम्मद धोवीलाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले छत्रपाली तीर्थादेवी माविमा बनाएको क्वारेन्टाइनमा बसेको चार दिन भइसके पनि उनको सामान्य तापक्रम लिने मात्र काम भइरहेको छ ।

त्यस्तै, मायादेवी–५, अटकोनियाका धर्मराज अहिर शुक्रबारबाट क्यारेन्टाइनमा छन् । प्रहरीले दुबैलाई घरबाट ल्याएर क्वारेन्टाइनमा राखेको हो । उनीहरुको थुक र खकारको (स्वाब) परीक्षण हुन सकेको छैन । ‘स्वाब परीक्षण गरेको भए ढुक्क हुने अवस्था आउने थियो,’ एक सुरक्षा अधिकारीले भने, ‘नहँुदा सबैमा संत्रास बढेको छ ।’


कोरोना संक्रमण भए–नभएको जाँचका लागि उनीहरुको स्वाबको नमुना पठाउने बारेमा सम्बन्धित अधिकारीबीचमै अन्योल छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई सम्पर्क गर्दा उनले जिल्ला अपतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेसित सोध्न भने । डा. बन्जाडेलाइ सम्पर्क गर्दा मायादेवी गाउँपालिकाका प्रतिनिधिलाई सम्पर्क गर्न भने । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवलाई सम्पर्क गर्दा उनले डा. बन्जाडेलाई नै सबै जानकारी गराएको बताए ।


अन्तत: उनीहरुमा कुनै लक्षण नदेखिएकाले स्वाब परीक्षण नगरिएको बन्जाडेले स्वीकार गरे । उनीहरु नेपाल आएको सोमबार १४ दिन पुग्ने भएकाले छाड्ने तयारी गरेको उनको भनाइ छ । उनीहरु गत चैत ४ गते कतार एयरवेजको क्यूआर ६५२ विमान चढेर दोहाबाट काठमाडौं आएका थिए ।


जिल्लामा विभिन्न पालिकाद्वारा सञ्चालित क्यारेन्टाइनमा ५५ जनालाई राखिएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?