कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा १ सय ८७ शय्याको क्‍वारेन्टाइन, ८ बेडको आइसोलेसन

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरसका शंकास्पद बिरामीका लागि कपिलवस्तुका स्थानीय तहले १ सय ८७ शय्याको क्वारेन्टाइन स्थलको तयारी थालेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका १० वटै स्थानीय तहसँग समन्वय गरी तयारी तीव्र पार्न आग्रह गरेपछि क्वारेन्टाइन कक्ष निर्माण अघि बढेको हो।

संक्रमितको उपचारका लागि ८ बेडको आइसोलेसन कक्षसमेत तयार गरिएको छ।


कृष्णनगर नगरपालिकामा ७४, कपिलवस्तु नगरपालिकामा ११ र विजयनगर गाउँपालिकामा १६ बेडको क्वारेन्टाइन बनाइएको छ। त्यस्तै, शिवराज नगरपालिकामा १४, महाराजगन्ज नगरपालिकामा ३५ र वाणगंगा नगरपालिकामा ४ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छन्।


बुद्धभूमि नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा २०, यशोधरा गाउँपालिकामा ५ र शुद्धोदन गाउँपालिकामा ४ बेडको क्वारेन्टाइन बनिसकेका छन्। सदरमुकामस्थित कपिलवस्तु जिल्ला अस्पतालमा ४, वाणगंगाको पिपरा अस्पतालमा २ र शिवराज अस्पताल बहादुरगन्जमा भने २ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको छ।


‘शंकास्पद बिरामीको उपचारका लागि पूर्वतयारी गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने, ‘जिल्लामा लकडाउनको कार्यान्वयन प्रभावकारी बनाउन लागिपरेका छौं।’

प्रकाशित : चैत्र १५, २०७६ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?