भारतबाट आएका ७ जना क्‍वारेन्टाइनमा

वीरेन्द्र केसी

(अर्घाखाँची) — भारतबाट अर्घाखाँची आउँदै गरेका ७ जनालाई जिल्ला प्रशासनले क्‍वारेन्टाइनमा राखेको छ । 



सीमा नाका कृष्णनगरबाट कपिलवस्तु प्रशासनले पथ्थरकोटसम्म ल्याइदियो। त्यसपछि अर्घाखाँची प्रशासनले बिहीबार एम्बुलेन्सबाट सन्धिखर्क ल्याएर युवा वर्ष रविचित्र मावि हटारीको क्‍वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए।


उनीहरु रोजगारीका लागि भारत गएका थिए। मंगलबार भारतको लुधियानाबाट आएका हुन्। गड्डाचौकी नाका भएर आएका अर्घाखाँचीका २९ वर्षीय एकजना हालसम्म सम्पर्कमा नआएकाले खोजी भइरहेको उनले बताए।

यसैबीच, भारतबाट आएका २५ जनालाई गुल्मीको तम्घासस्थित महेन्द्र माविको क्‍वारेन्टाइनमा राखिएहरुको स्वास्थ्य सामान्य भएपछि स्थानीय तहको जिम्मेवारीमा गाउँ पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए। प्रकाशित : चैत्र १३, २०७६ १५:५१

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गुल्मी रातिदेखि लकडाउन

वीरेन्द्र केसी

गुल्मी — कोरोना संक्रमणबाट जोगिन गुल्मीलाई पूर्ण रुपमा लकडाउन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको सुरक्षा समिति र सरोकारवालाको छलफलपछि सुरक्षित रहन सम्पूर्ण सार्वजनिक र निजी सवारी साधनलाई राति १२ बजेदेखि आवतजावतमा रोक लगाइने भएको छ । मोटरसाइकल पनि अर्को सूचना जारी नभएसम्मको लागि चल्ने छैनन् ।

एम्बुलेन्स, दूधका गाडी, खाद्यान्न बोक्ने मालवाहक गाडी, पानी, फलफूल औषधि र तरकारी बोक्ने गाडीलाई रोक लगाइएको छैन। जिल्ला भित्रिने मालवाहक गाडीमा एक चालक र एक सहचालक मात्रै रहनेछन्। उनीहरुको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्ने र आवश्यक परेमा क्वारेन्टाइनमा राखिने शर्माले बताए।

अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु इन्धन, दाल, चामल, तेल, नुन, दूध डेरी तरकारी तथा फलफूल बाहेकका अन्य सम्पूर्ण पसलहरु राति १२ बजेदेखि अर्को सूचना नभएसम्म पूर्ण रुपमा बन्द रहनेछन्। अस्पताल स्वास्थ्य संस्था, औषधि पसलहरु र पेट्रोल पम्म २४ सै घन्टा सञ्चालन रहने शर्माले बताए।

सबै स्थानीय तहमा हेल्थ डेस्क राखिएको छ। घरबाट कोही पनि बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक बाहेक अरु बाहिर ननिस्कन भनिएको छ। भारत लगायत स्वदेशका अन्य ठाउँबाट आएकालाई १४ दिन अनिवार्य घरको क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिलाई सर्कुलर प्रशासनले गरेको छ। १२ वटै स्थानीय तहका नागरिकलाई कोरोनाबाट जोगिन सरकार र प्रशासनले जारी गरेको सर्तहरु पालना नगरे कानुन बमोजिम कारबाही गरिने शर्माले बताए।

प्रकाशित : चैत्र १०, २०७६ १८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×