कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकका बीचमा रूख

बुटवल — रूपन्देहीको सैनामैना नगरपालिकामा चक्रपथ निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएन । त्यसैले २०७३/०७४ मा सुरु भएको ५५ किलोमिटर सडक निर्माण लामो समय अलपत्र पर्‍यो । संघीय सरकारले हस्तान्तरण गरेको सडकको काम प्रदेशले अगाडि बढाउन खोज्यो । त्यसपछि डिभिजन वनले रूख कटानका लागि प्रतिवेदन माग्यो । आयोजनाले बुझाउन सकेन । वनले रूख काट्न दिएन । अहिले चंखीपुर क्षेत्रमा सडकको बीचमा रूख राखेरै आसपासबाट सडक विस्तार गरिएको छ । यस क्षेत्रमा ३५ रूख सडकको बीचमा छन् ।

शर्मा–रमन जेभी कन्स्ट्रक्सनले सडक बीचमा रूख छाडेर काम अगाडि बढाएपछि स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाले रूख नकाटी काम अघि नबढाउन आग्रह गर्‍यो । त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेको संयोजकत्वमा प्राविधिकको जीर्ण तथा विवादित सडक अनुगमन र समस्या समाधान टोली बनाइयो । टोलीले आयोजनाका कमजोरी पत्ता लगायो । सडक अनुगमनमा खटेका मन्त्रालयका प्रवक्ता पाण्डेले गत वर्ष कम समय भएकाले ईआईए गर्न नसकेको बताए ।


‘आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन बनाउने बेलैमा ईआईए गर्नुपर्ने थियो,’ उनले भने, ‘पहिलेको गल्तीले अहिले काम अगाडि बढाउन समस्या भएको छ ।’ प्रारम्भिक काम रूख बीचमै राखेर गरे पनि अरू काम रूख हटाएर मात्रै गर्ने उनले दाबी गरे ।


चक्रपथका लागि दुई चरणमा काम भएको छ । पहिलो चरणको ४१ किलोमिटर चक्रपथ साबिक पर्रोहा र दुधराक्ष गाविस जोड्ने सडक हो । दोस्रो चरणको राजमार्ग उत्तरबाट सालझण्डी जोड्ने सडकमा करिब दुई सय रूख सडकको बीचमै छन् । दुवै सडकमा अहिलेसम्म ईआईए भएको छैन । प्रदेशअन्तर्गतको शिवपुर डिभिजन सडक कार्यालय कपिलवस्तुले यस वर्ष ईआईएको काम अगाडि बढाएको छ । प्रतिवेदनको नतिजा कहिले आउने हो, टुंगो छैन ।


काम रोकिन नदिन प्रतिवेदन नआउँदासम्म रूख नभएका स्थान छनोट गरेर काम अगाडि बढाएको प्रवक्ता पाण्डेले बताए । डिभिजन वन कार्यालयका प्रमुख बोधराज सुवेदीले ईआईए प्रतिवेदनपछि रूख काट्ने अनुमति लिएर मात्रै त्यस क्षेत्रमा सडक विस्तार गर्नुपर्ने बताए ।


प्रकाशित : चैत्र १०, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?