रेसुंगा र मदानेमा बढे चरा

वीरेन्द्र केसी

गुल्मी — यहाँका रेसुंगा र मदाने संरक्षित वनमा छिर्नासाथ चराको चिरबिर सुनिन्छ । धेरैले चराका आवाज मोबाइलमा रेकर्ड गर्छन् । चराको तस्बिर खिच्छन् । यहाँ पुग्नेले हरियाली, रमणीय स्थल र चरा अवलोकन गरेर आनन्द लिन्छन् ।

स्थानीयको सक्रियतामा वन घुम्नलायक बनेको छ । ०७३ सालमा रेसुंगा र ०७५ मा मदानेलाई सरकारले संरक्षित वन घोषणा गरेर चरा गणना सुरु गरेको थियो । त्यसपछि स्थानीयलाई चरा संरक्षण गर्ने जिम्मेवारी आएका हो ।


मुलुकमा पाइने ८ सय ८६ मध्ये २५ प्रतिशत प्रजातिका चरा यहाँ पाइन्छन् । ‘चरा संरक्षणका लागि स्थानीयको जीविकोपार्जनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन छन्,’ जिल्लास्थित पंक्षी संरक्षण संघका सहायक परियोजना अधिकृत भरत पन्थीले भने, ‘रेसुंगामा २ सय २ चरा रहेकामा अहिले बढेर २ सय २८ र मदानेमा २ सय ७ रहेकामा बढेर २ सय ५८ पुगेका छन् ।’ रेसुंगामा ३ हजार १ सय हेक्टर र मदानेमा १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफललाई संरक्षित वन बनाइएको छ ।


तम्घास बजारबाट माथि लागेपछि रेसुंगाधाम छ । ‘यहाँ चरा हेर्नेको रुचि बढ्दो छ,’ पन्थीले भने, ‘चराको संख्या पनि थपिँदैछ, मदाने र रेसुंगा चरा पर्यटकको गन्तव्य बन्ने क्रममा छन् ।’ रेसुंगा गिद्धको बासस्थान हो ।


यहाँ सुनगिद्ध, सेतो गिद्ध, हिलेलगायत आठ प्रकारका गिद्ध पाइन्छन् । गोमायुमहाचिल, कालिज, लोभीपापी गरुड, च्याखुरा, लाटोकोसेरो, मुनाल, कोइली, तित्रालगायत चरा पाइन्छन् । अग्ला हरियाली रुखमा चराका थुप्रै गुँड छन् । वनमै कलकल बग्ने पानीका मुहान छन् । चरालाई पानी खान सजिलो होस् भनेर डिभिजन वन कार्यालयले अग्लो डाँडोमा पोखरी बनाइदिएको छ ।


रेसुंगामा दुईवटा र मदानेमा एउटा पोखरी निर्माण गरिएको छ । बाह्रै महिना पानीको व्यवस्था हुन्छ । बासस्थानमै चराले पानी खान पाउन् भनेर पोखरी निर्माण गरिएको सहायक वन अधिकृत मदन ढुंगानाले बताए । रेसुंगाको गौशालामा साढे दुई सय बूढा गाई पालिएका छन् ।


महिनामा दुई/तीन वटा मर्छन् । तिनैले गिद्धलाई आहारा पुग्छ । यहाँ ओडार छन् । बाक्लो संख्यामा गिद्ध देखिन्छन् । गिद्ध संरक्षण गरी संख्या वृद्धि गर्न गिद्ध रेस्टुराँ सञ्चालन गर्न प्रक्रिया अघि बढेको ढुंगानाले बताए । गौशालामा रैथाने गाईको संख्या थप्ने योजना छ ।


वनमा हरियाली कायम राख्न र चरा जोगाउने उपायबारे संघ र वनले स्थानीयलाई प्रशिक्षण दिएका छन् । रेसुंगा सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष जंगबहादुर कुँवरले स्थानीय संरक्षणमा लागि परेको बताए । पहिला चरा उडिरहन्थे, स्थानीयलाई त्यति वास्ता हुँदैनथ्यो । जब संरक्षित क्षेत्र घोषणा गरेर चरा गणना गर्न थालियो, स्थानीय जागरुक बनेका हुन् ।


स्थानीय ११ वटा सामुदायिक वन र केही राष्ट्रिय वन क्षेत्र समेटेर रेसुंगा संरक्षित क्षेत्र बनाइएको हो । पश्चिम भेगमा रहेको मदाने रमणीय छ । मौसमअनुसारका चरा यहाँ देखिन्छन् । हिमाली क्षेत्र र तराईबाट पनि घुम्दै यहाँ आउँछन् । तराई, पहाड र हिमाल एकै दिन घुम्न सकिने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भइरहेको छ ।


पंक्षी संरक्षण संघसँग सहकार्य गरेर मदानेको वनमा ओखरलगायत विरुवा रोप्ने, जंगल बढाउनेजस्ता कार्यक्रम सञ्चालन गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् । प्रकाशित : चैत्र ७, २०७६ १०:३१

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

असिनाले चुट्दा बालककाे मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीकाे शीतगंगा नगरपालिका-१२ ठाडा रजिया रातामाटाका १० वर्षीय बालक विकास नेपालीको असिनाले चुटेर मृत्यु भएकाे छ । 

शनिबार दिउँसो घरबाट हिँडेका नेपालीडोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए। बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

यसैबीच भूमिकास्थान नगरपालिका-९ ढिकुरामा खोलाले बगाएर चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको उनले बताए। गाउँमा रहेको चरेपानीकाे पातले खोलाले बगाएर वलालको मृत्यु भएको हाे। भीषण पानीसँगै परेकाे असिना र हिउँका कारण खाेलामा बाढी आएकाे थियाे। असिनाले लाखाैंकाे अन्नबाली समेत नष्ट गरेकाे छ।

प्रकाशित : चैत्र २, २०७६ १५:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×