कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेसुंगा र मदानेमा बढे चरा

वीरेन्द्र केसी

गुल्मी — यहाँका रेसुंगा र मदाने संरक्षित वनमा छिर्नासाथ चराको चिरबिर सुनिन्छ । धेरैले चराका आवाज मोबाइलमा रेकर्ड गर्छन् । चराको तस्बिर खिच्छन् । यहाँ पुग्नेले हरियाली, रमणीय स्थल र चरा अवलोकन गरेर आनन्द लिन्छन् ।

रेसुंगा र मदानेमा बढे चरा

स्थानीयको सक्रियतामा वन घुम्नलायक बनेको छ । ०७३ सालमा रेसुंगा र ०७५ मा मदानेलाई सरकारले संरक्षित वन घोषणा गरेर चरा गणना सुरु गरेको थियो । त्यसपछि स्थानीयलाई चरा संरक्षण गर्ने जिम्मेवारी आएका हो ।


मुलुकमा पाइने ८ सय ८६ मध्ये २५ प्रतिशत प्रजातिका चरा यहाँ पाइन्छन् । ‘चरा संरक्षणका लागि स्थानीयको जीविकोपार्जनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन छन्,’ जिल्लास्थित पंक्षी संरक्षण संघका सहायक परियोजना अधिकृत भरत पन्थीले भने, ‘रेसुंगामा २ सय २ चरा रहेकामा अहिले बढेर २ सय २८ र मदानेमा २ सय ७ रहेकामा बढेर २ सय ५८ पुगेका छन् ।’ रेसुंगामा ३ हजार १ सय हेक्टर र मदानेमा १३ हजार ७ सय ६१ हेक्टर क्षेत्रफललाई संरक्षित वन बनाइएको छ ।


तम्घास बजारबाट माथि लागेपछि रेसुंगाधाम छ । ‘यहाँ चरा हेर्नेको रुचि बढ्दो छ,’ पन्थीले भने, ‘चराको संख्या पनि थपिँदैछ, मदाने र रेसुंगा चरा पर्यटकको गन्तव्य बन्ने क्रममा छन् ।’ रेसुंगा गिद्धको बासस्थान हो ।


यहाँ सुनगिद्ध, सेतो गिद्ध, हिलेलगायत आठ प्रकारका गिद्ध पाइन्छन् । गोमायुमहाचिल, कालिज, लोभीपापी गरुड, च्याखुरा, लाटोकोसेरो, मुनाल, कोइली, तित्रालगायत चरा पाइन्छन् । अग्ला हरियाली रुखमा चराका थुप्रै गुँड छन् । वनमै कलकल बग्ने पानीका मुहान छन् । चरालाई पानी खान सजिलो होस् भनेर डिभिजन वन कार्यालयले अग्लो डाँडोमा पोखरी बनाइदिएको छ ।


रेसुंगामा दुईवटा र मदानेमा एउटा पोखरी निर्माण गरिएको छ । बाह्रै महिना पानीको व्यवस्था हुन्छ । बासस्थानमै चराले पानी खान पाउन् भनेर पोखरी निर्माण गरिएको सहायक वन अधिकृत मदन ढुंगानाले बताए । रेसुंगाको गौशालामा साढे दुई सय बूढा गाई पालिएका छन् ।


महिनामा दुई/तीन वटा मर्छन् । तिनैले गिद्धलाई आहारा पुग्छ । यहाँ ओडार छन् । बाक्लो संख्यामा गिद्ध देखिन्छन् । गिद्ध संरक्षण गरी संख्या वृद्धि गर्न गिद्ध रेस्टुराँ सञ्चालन गर्न प्रक्रिया अघि बढेको ढुंगानाले बताए । गौशालामा रैथाने गाईको संख्या थप्ने योजना छ ।


वनमा हरियाली कायम राख्न र चरा जोगाउने उपायबारे संघ र वनले स्थानीयलाई प्रशिक्षण दिएका छन् । रेसुंगा सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष जंगबहादुर कुँवरले स्थानीय संरक्षणमा लागि परेको बताए । पहिला चरा उडिरहन्थे, स्थानीयलाई त्यति वास्ता हुँदैनथ्यो । जब संरक्षित क्षेत्र घोषणा गरेर चरा गणना गर्न थालियो, स्थानीय जागरुक बनेका हुन् ।


स्थानीय ११ वटा सामुदायिक वन र केही राष्ट्रिय वन क्षेत्र समेटेर रेसुंगा संरक्षित क्षेत्र बनाइएको हो । पश्चिम भेगमा रहेको मदाने रमणीय छ । मौसमअनुसारका चरा यहाँ देखिन्छन् । हिमाली क्षेत्र र तराईबाट पनि घुम्दै यहाँ आउँछन् । तराई, पहाड र हिमाल एकै दिन घुम्न सकिने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भइरहेको छ ।


पंक्षी संरक्षण संघसँग सहकार्य गरेर मदानेको वनमा ओखरलगायत विरुवा रोप्ने, जंगल बढाउनेजस्ता कार्यक्रम सञ्चालन गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताइन् ।

प्रकाशित : चैत्र ७, २०७६ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?