कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटपाथ छेकेर व्यवसाय

फ्रेस हाउस, चिया पसलदेखि वर्कसपसम्म फुटपाथमै 
मधु शाही

बाँके — नगर प्रहरीको गाडी आइपुगेपछि नेपालगन्ज उपमहानगरपालिका–५ की सुनीता चौधरीको अनुहार रातै भयो । ब्युटिपार्लर सञ्चालन गरिरहेकी उनले हत्तपत्त फुटपाथमा राखिएको होर्डिङबोर्ड झिकिन् । नगर प्रहरी कटेपछि फेरि बोर्ड निकालेर फुटपाथमै राखिन् । नगर प्रहरी र सुनीताबीच यस्तो लुकामारी नौलो होइन ।

फुटपाथ छेकेर व्यवसाय

धेरैपटक प्रहरीले सामान नियन्त्रणमा लिइसकेको छ । जरिवाना तिरेर उनी फिर्ता ल्याउँछिन् । फुटपाथ कब्जा गरेर व्यवसाय गरिरहेकाले नगर प्रहरीलाई टेर्दर्नैन् । हिँड्ने बाटो कब्जा भएपछि सर्वसाधारण मूल सडक हुँदैं यात्रा गर्न बाध्य छन् ।


नेपालगन्ज–५ मा बुधबार फुटपाथ मिचेर भण्डारण गरिएका सामान उठाउने क्रममा यस्ता दृश्य देखिए । प्रहरीको गाडी देखेपछि स्थानीय सामान लुकाउने गर्थे । प्रहरी कट्नासाथ बाटोमा ल्याएर राख्थे । वडाभरि यस्तो लुकामारी चलेको थियो । नगर प्रहरीले बारम्बार उनीहरूको सामान नियन्त्रणमा लिने गरेको छ । त्यहीँ पनि स्थानीयले सामान राख्न छाडेका छैनन् । ‘उठाउने र राख्ने प्रक्रिया चलिरहन्छ’, स्थानीय सरोज गुप्ताले भने, ‘जरिवाना तिरेर सामान ल्याउँछन् । अनि बाटोमै राख्छन् ।’


पैदल यात्रुका लागि फुटपाथ निर्माण गरिए पनि यसको महत्त्व स्थानीयले नबुझ्दा सहर व्यवस्थित हुन नसकेको नगर प्रहरीका इन्सपेक्टर सूर्य बोगटीले बताए । उनका अनुसार यहाँ बाटै छेकेर फ्रेस हाउसदेखि, चिया पसल, सुत्ने खटिया, पसलका सामान राख्ने स्टोर, मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गरिएको छ । ‘फुटपाथमै छतमा उक्लिने भर्‍याङसमेत निर्माण गरिएको छ,’ उनले भने, ‘महिनैपिच्छे सामान उठाउँदा पनि प्रभाव देखिएन ।’ उपमहानगरका प्रमुख प्रशासकीय अधिकारी हरि प्याकुरेलले फुटपाथ कब्जा गर्नेलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक कारबाही गरिने बताए । फुटपाथ कब्जा नगर्न दिइएको सुझाव नमानेपछि सामान नियन्त्रणमा लिइएको र त्यसपछि अटेर गर्नेबाट जरिवाना असुल्ने योजना रहेको उनले बताए ।


फुटपाथ व्यवस्थित नहुँदा दृष्टिविहीन, शारीरिक अपांगता भएका व्यक्ति, बालबालिका र वृद्धवृद्धाले सास्ती खेप्नुपरेको छ । एक वर्षअघि नेपालगन्ज–२ का अमिया शेख दुर्घटनामा परे । सडकपेटी ओगटेर पसल चलाइएका कारण उनी मूल सडकबाट यात्रा गरिरहेका थिए । त्यही बेला तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दियो । भुइँमा पल्टिएका उनको हात भाँचिएको थियो । ‘मान्छे हिँड्ने बाटो पसलले कब्जा गरेका छन्,’ उनले भने, ‘सडकमा हिँड्यो कि दुर्घटनाको डर छ ।’ धम्बोजीकी कविता खड्काले फुटपाथमा अवरोध हुँदा हिँडडुल गर्न कठिन भएको बताइन् । उनी दृष्टिविहीन हुन् । ‘फुटपाथ हो कि पसल पत्तै पाउन्नँ,’ उनले भनिन्, ‘धेरैपटक लडेकी छु ।’


जिल्ला ट्राफिक प्रमुख पविन्द्रबहादुर बमले नेपालगन्जको मूल राजमार्गमा केही व्यवस्थित फुटपाथ भए पनि त्रिभुवन चोक, बीपी चोक, गणेशमान चोक, सेतुविक चोक, एक्लैनी, सदरलाइनजस्ता भित्री सहायक सडकमा अतिक्रमण भएको बताए । नगरपालिकाले फुटपाथ खाली गर्न कडाइ नगरेको उनको भनाइ छ । ‘ट्राफिकले चेतना दिने हो,’ उनले भने, ‘स्थानीय सरकार व्यवस्थापनमा लाग्नुपर्छ ।’

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?