महिलाले घन्काउँछन् नौमती

सन्जु पौडेल

तिलोत्तमा — सालझण्डीको दुर्गा मन्दिरमा पूजाआजाका बेला बाजा बजाएर भजन गाउने परम्परा थियो । रमाइलो हुन्थ्यो । तर, बाजा बजाउने अग्रज ‘परियार दाइ’को मृत्युपछि पूजा खल्लो हुन थाल्यो । स्थानीयले बाजाको अभाव महसुस गरे ।

मगर समुदायको बाहुल्य रहेको टोलका क्याप्टेन रनबहादुर रानाले बाजा सिक्ने र बजाउने निधो गरे । यसका लागि आफन्तसँग सल्लाह गरे । व्यक्तिगत एक लाख रुपैयाँ खर्च गरेर एक सेट नौमती बाजा किने । मन्दिरको चौपारीमा सिक्न सुरु गरे । स्थानीय देवबहादुर परियारले सिकाउन थाले । टोलका अन्य साथीलाई समेत सिक्न आग्रह गरे । त्यसपछि महिलाहरू पनि समूहसँग जोडिए । सैनामैना–१० स्थित सालझण्डी नौमती बाजा समूहमा आबद्ध बालमाया श्रीस, तारा राना, रूपा गुरुङ र रूपा थापा ६ वर्षदेखि नौमती बाजा बजाइरहेका छन् ।


माघभरि व्यस्त भए । फागुनलाई पनि निम्तो आइसकेको छ । ‘परियार दाइको मृत्युपछि बाजा बज्न छोडेको थियो,’ समूहकी बालमायाले भनिन्, ‘त्यसपछि सिकेर बजाउन थाल्यौं ।’ परिवारको साथ र हौसलाले बजाउन थालेको उनले बताइन् । सुरुमा झ्याली बजाउन सिकिन् । अहिले सबै बाजा बजाउने गरेको उनले बताइन् । उनीसँगै ताराले पनि बाजा बजाउन सिकेकी छन् । केही बाजा सिकिरहेकी छन् । सासूआमाले बाजा बजाउन साहस थपेको ताराले सुनाइन् ।


पाँच वर्षीया छोरीलाई सासू र श्रीमान्को जिम्मा लगाएर बाजा बजाउन हिँड्ने गरेको उनले बताइन् । ‘पहिले सासूले बजाउनु हुन्थ्यो,’ उनले भनिन्, ‘उमेर ढल्किँदै गएकाले मलाई सिकाउनु भयो ।’ संस्कृति जोगाउनु पर्छ भन्ने सासूको सोचले आफूलाई बाजा समूहमा आबद्ध गराएको उनले बताइन् । उनी समूहमा नाच्न र दमाहा बजाउन पोख्त छन् । ४१ वर्षीया रूपा गुरुङ सानैबाट मादल बजाउँथिन् ।


भारतमा जन्मिएकी उनी दाइले खेल्ने नाटकमा मादल बजाउने भूमिकामा थिइन् । ‘मादल आइहाल्छ, अरु सिकौंला भनेर हिँड्न थालेँ,’ उनले भनिन्, ‘अरू बाजा पनि सजिलै सिकेँ ।’ भारतीय सेनाबाट अवकाश प्राप्त श्रीमान्ले महिलाको यस्तो कामको प्रशंसा गरेपछि सहज भएको उनले बताइन् । यसरी बजाएबापत दिनको १ हजार ५ सय रुपैयाँसम्म कमाइ गर्छिन् । समूहकी रूपा थापाले बाउबाजेले नगरेको काम गर्न मन लागेर सिकेको बताइन् ।


‘सुरुमा कसले के भन्छ भन्नेतिर ध्यानै गएन,’ उनले भनिन्, ‘अहिले प्रशंसा पाइरहेकी छु ।’ छोराछोरीले समेत उनलाई हौसला थपिदिएका छन् । उनीहरूले पुरुषसँगै बाजा बजाएर आम्दानी गरेका छन् । टोली नेता रनबहादुरले सुरुमा महिलाले कसरी सिक्लान् भनेर चिन्ता लागे पनि अहिले सबै जना बाजामा प्रख्यात भएको बताए । चेलीबेटीलाई अघि बढाउँदा समाजले पाठ सिक्ने उनले बताए ।


१२ जनाको समूहमा चार महिला वाद्यवादक छन् । उनीहरूको माग बढेको रनबहादुरले बताए । ‘सिजनमा त फुर्सद नै हुँदैन,’ उनले भने, ‘सिकेर राम्रै गर्‍यौं जस्तो लाग्छ ।’ संस्कृति जोगाउन आफूहरूले योगदान गरेको उनले बताए । जाति विशेषले मात्रै यस्तो गर्नुपर्छ भन्ने छैन । त्यसैले परम्परा तोड्न समूह अघि बढेको उनले बताए । झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी, सहनाई, कर्नल, नरसिंह आदि बाजा उनीहरूले बजाउँछन् । प्रायः दुई दिनका लागि निमन्त्रणा आउँछ । दिनको २५ हजार रुपैयाँका दरले लिने गरेको उनले बताए । ‘बाजा बजाउँदा खुसी भए थपेर पनि रकम दिन्छन्,’ उनले भने, ‘मौलिक भाका र गीत बढी बजाउँछौं ।’ प्रकाशित : फाल्गुन १२, २०७६ १०:३६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

विपद् व्यवस्थापन गर्न कोष

मेनुका ढुंंगाना

अछाम — स्थानीय तहले विपद् जोखिम न्यूनीकरण योजना तयार पार्न थालेका छन् । उनीहरूले कोष स्थापना, भौतिक संरचना निर्माणलगायतका काम सुरु गरेका हुन् । बालबालिकाहरू धेरै समयसम्म रहने स्थानलाई योजनाको प्राथमिकतामा राखेको अछामका स्थानीय तहले बताएका छन् ।

जोखिम न्यूनीकरण गर्न स्थानीयस्तरमै पुगेर कार्यक्रम सञ्चालन गर्न थालिएको कमलबजार नगरपालिकाका प्रमुख ओमप्रकाश विष्टले बताए । उनका अनुसार आस्था नेपालको विपद् जोखिम न्यूनीकरण परियोजनासँग सहकार्य गरेर विद्यालय तथा समुदायमा जनचेतनामूलक क्रियाकलाप अघि बढाइएको छ । ‘विपद्को समयमा पीडितसमक्ष सबैभन्दा छिटो स्थानीय तह नै पुग्नसक्ने भएकाले उनीहरू विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको मेरुदण्ड हुन्,’ उनले भने, ‘त्यसकारण विपद् व्यवस्थापन तथा अप्ठ्यारो परेका बेला स्थानीयलाई सुरक्षित रहन सक्षम बनाउनु जरुरी छ ।’

स्थानीय तहले जनताको साथी भएर काम गर्ने भएकाले विपद् व्यवस्थापन कार्य सहज र प्रभावकारी भएको उनको बुझाइ छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन ऐन, २०७४ ले स्थानीय तहलाई विपद् व्यवस्थापनको जिम्मेवारी दिएको छ । आवधिक योजनाले उनीहरूलाई विकासको संवाहक मानेको छ । बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै विद्यालयलाई सुरक्षित स्थान बनाउन प्रत्येक विद्यालयको अनुगमन गरिएको साँफेबगर नगरपालिका–२ का अध्यक्ष कालुसिंह कुँवर बताउँछन् । ‘चार वर्षअघिको भूकम्पले हामीलाई सचेत रहन सिकाएको छ । बालबालिका, महिला, वृद्धवृद्धाको पहुँच धेरै हुने ठाउँमा हामी बढी सक्रिय भएका छौं,’ उनले भने । विपद्का विविध आयामबारे जानकारी दिन समुदायमा पुगेर भेला तथा अन्तरक्रिया गर्ने गरेको कमलबजार नगरपालिका–४, चाल्साका अध्यक्ष ललित ढोलीले बताए ।

‘विपद् प्राकृतिक र मानव सिर्जित गरी दुई प्रकारका हुन्छन् भन्ने समुदायलाई जानकारी गराउनुपर्छ,’ उनले भने, ‘यस्ता जोखिम न्यूनीकरण गर्न स्थानीयलाई जिम्मेवार बनाउनु आवश्यक हुन्छ ।’ हिमपात, हिमपहिरो, हिमताल विस्फोटन, असिना, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, खडेरी, आँधी, हुरीबतास, शीतलहर, लू, चट्याङ, भूकम्प, डढेलो आदि प्राकृतिक विपद् हुन् । महामारी, अनिकाल, किट तथा सूक्ष्म जीवाणुको आतंक, पशु तथा चराचुरुंगीमा हुने लू, आतंककारी घटना, खानी, हवाई, सडक, जल तथा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवन, भौतिक संरचनाको क्षति तथा प्रकोप उद्धार कार्यमा हुने दुर्घटना गैरप्राकृतिक विपद्अन्तर्गत पर्दछन् ।

आकस्मिक कोष निर्माण
विपद् व्यवस्थापन गर्न र पूर्वतयारीका लागि स्थानीय तहले कोष खडा गरेका छन् । कमलबजारले १० लाख, तुर्माखाँदले २२ लाख, ढकारीले एक करोड र साँफेबगरले १७ लाख ५३ हजार रुपैयाँ विपद् पूर्व तयारीका लागि विनियोजन गरेको छ । यस्तै पञ्चदेवल विनायकले२५ लाख, चौरपाटीले जोखिम क्षेत्रको पहिचान गर्दै २३ लाख विपद् पूर्व तयारी तथा ३० लाख रुपैयाँआकष्मिक कोषमा राखेको छ । रामारोशनले १० लाख नौ हजार विनियोजन गरेको छ । रामारोशनका वडाहरूले पनि रकम छुट्टयाएका छन् । वडा नम्बर ३ ले एक लाख १५ हजार, चारले तीन लाख र वडा नम्बर पाँचले चार लाख रुपैयाँ बजेट विपद् पूर्वतयारीका लागि विनियोजन गरेको बताएका छन् ।

मेल्लेख गाउँपालिकाले ३० लाख ५० हजार, बान्निगढी जयगढले १० लाख ५० हजार र सदरमुकामसमेत रहेको मंगलसैन नगरपालिकाले १० लाख रुपैयाँ छुट्याएको छ । विनियोजित बजेटले स्थानीय तहमा आइपर्ने विपद्को सामना गर्न र सम्भावित विपद्को पूर्वतयारी गर्न सहज हुने ढकारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी साउद बताउँछिन् । वर्षायाममा हुने सडक अवरुद्ध, पहिरो, बाढीलगायत समस्या समाधान गर्न थप रकम परिचालन गरिने उनले जानकारी दिइन् । ‘हिउँदमा आएको असिनापानीले विपद्को क्षेत्रमा रकम विनियोजन गर्न स्थानीय तहलाई बाध्य बनाएको हो,’ उनले भनिन् ।

प्रकाशित : फाल्गुन १२, २०७६ १०:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×