कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वादीलाई काम पाउनै मुस्किल

‘हामीले टेके जमिन रुखो हुन्छ भन्छन्, कृषिको काम जान्दैनौ भनेर तर्काउँछन्’
अमृता अनमोल

बुटवल — दाङको घोराही–१३, शुभबिहानीकी पवित्रा वादी २५ वर्षअघि दैलेखबाट यहाँ झरेकी हुन् । आउँदा आमा पनि सँगै थिइन् । यहाँ आएपछि अर्जुन विकसँग माया बस्यो । करिब १० वर्ष सँगसँगै बसे ।

पाँच सन्तान जन्मिएपछि अर्जुन आफ्नै घर फर्के । तर, पत्नीको दर्जा दिएनन् । पवित्रा अहिले एक्लै हाडछाला घोटेर छोराछोरी हुर्काइरहेकी छन् ।


शुभबिहानी टोलमा ६८ घर छन् । त्यसमा ५६ घर वादी समुदायका छन् । सबैको अवस्था पवित्राको जस्तै छ । धेरैका घरमा कमाउने पुरुष छैनन् । महिलाहरू पुरुषसरह काम गर्न सक्दैनन् । गर्न सक्ने काम समाजले दिँदैन । यस्तोमा धेरैले गिट्टी चाल्ने र कुट्ने गरेर गर्जो टार्दै आएका छन् । ‘एक–दुई दिन बिरामी भए पनि भोकै बस्ने अवस्था छ,’ चार सन्तानकी आमा निर्मला वादीले भनिन्, ‘छोराछोरीलाई हुर्काउने र खुवाउने–पियाउने काम एक्लैले गर्नुपरेको छ ।’


नजिकै रहेको दुर्गा भवानी टोलका १ सय ५० मध्ये १ सय २५ घर वादी समुदायका छन् । अधिकांश वादीको आफ्नो जग्गा छैन । खोलाछेउ झुपडी बनाएर बसेका छन् । गरिखाने जमिन र सीप पनि छैन । जुनसुकै काम गर्न समाजले दिँदैन । ‘वादीले टेके जमिन रुखो बन्छ भन्छन् । कतिले मुखैले भन्छन् । भन्न नसक्नेले कृषिको काम जान्दैनौ भनेर तर्काउँछन्,’ स्थानीय सरिता वादीले भनिन्, ‘दलित समुदायले पनि वादीलाई छुवाछूत गर्छन् । त्यसको असरले होटल रेस्टुराँमा काम दिंदैनन् ।’


वादी समुदायमा पहिल्यैदेखि महिलाले कमाउने र पुरुषलाई खुवाउने बानी लागेको छ । त्यसैले घरमा पुरुष भए पनि धेरैले काम गर्दैनन् । महिलाहरू नै काममा अगाडि सर्नुपर्छ । पछिल्लो समय केही वादी युवाले कक्षा १२ सम्म पढेका छन् । उनीहरू काम गर्नुपर्छ भन्ने मानसिकतामा छन् । तर, पढेकाले पनि काम पाएका छैनन् । विकल्प गिट्टी मजदुरी र भारी सामान उठाउने मात्र छ ।


यही काम पनि खोसाखोस हुन्छ । ‘बिहान गिट्टी उठाउन जाने केटाहरूजति ट्राफिक प्रहरीको अगाडि भेला हुन्छौं । खोलामा जाने ट्रकमा हाम फालेर चढ्छौं,’ दुर्गा भवानी टोलका विशाल नेपाली वादीले भने, ‘चढ्न सक्नेले दिनको पाँच सय कमाउँछौं । नसक्ने त्यत्तिकै ।’ गरिखाने काम नै नपाएपछि यहाँका वादी महिला र पुरुषले विकास निर्माणका काममा मजदुरीमा लगाउन माग गर्दै आएका छन् । तर, ठेकेदार कम्पनीले उनीहरूलाई काम दिएका छैनन् । उद्योगधन्दामा काम माग्दै जाने क्रम अहिले पनि जारी छ ।


वादी भन्नासाथ काम गरेर खाँदैनन् भन्ने सोच रहेको भवानी टोलकी अध्यक्ष रन्जिता वादीले बताइन् । ‘सोच यति गलत छ कि वादीहरूले अरूलाई पनि बिगार्छन् भनेर काम नै दिंदैनन्,’ उनले भनिन्, ‘रोजगारदाताहरू हामीले काम गर्छौं भन्ने कुरा सुन्नै चाहन्नन् । समाजले हामीलाई काम गरेर खाने वातावरण नै बनाइदिएन ।’

प्रकाशित : फाल्गुन १२, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?