कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्दिरमा दलितलाई विभेद

रूपा गहतराज

(नेपालगन्ज) — मन्दिरको चारैतिर तारबार लगाइएको छ, बीचमा मान खोला । यहाँ शिव र कालीका मन्दिर छन् । मन्दिरमा राखिएका शिव र कालीका मूर्तिमा पूजा गर्न सबै समुदायलाई छुट छैन ।

मन्दिरमा दलितलाई विभेद

बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा रहेको शिव र काली मन्दिरमा दलित समुदायलाई प्रवेश गर्न दिइँदैन । शुक्रबार शिवरात्रि मेलामा पनि दलित महिलाले उही समस्या भोग्नुपर्‍यो । गाउँकै अन्य महिला प्रसाद बनाउन, टपरी गाँस्न व्यस्त हुँदा दलित महिला भने मेलामा सहभागीसम्म पनि हुन पाएनन् ।


शिवरात्रि मेलामा सघाउन र प्रसाद ग्रहण गर्न पुगेकी लक्ष्मी सार्कीले मन्दिर परिसरमा राखिएको गुन्द्रीमा बस्नसमेत नदिइएको गुनासो गरिन् । ‘प्रसाद लिन जाँदा बस्न पनि दिएनन्,’ उनले भनिन्, ‘न काम गर्न नै दिइयो, मन्दिरमै भएको विभेदको व्यवहारले सारै अपमानित महसुस गर्नु पर्‍यो ।’ यस्तो विभेद पहिलोपटक भने नभएको उनले बताइन् । मन्दिरमा गत वर्ष महायज्ञ लगाएका बेला पनि उनलाई यस्तै व्यवहार गरिएको थियो । सबैलाई टीका लगाइदिने पण्डितले आफूलाई लगाउने बेला टीकाको थाली र सामग्री भूइँमा राखेर लगाइदिएको उनले स्मरण गरिन् ।


मन्दिरमा हुने हरेक धार्मिक कार्यक्रममा दलित समुदायलाई विभेद गर्ने गरिएको स्थानीय चन्द्रा सुनार बताउँछिन् । गाउँका सबै दिदीबहिनी जम्मा भएर काम गर्दा आफूहरू टाढै बस्नुपर्ने बाध्यता रहेको उनले दुखेसो पोखिन् ।


‘मन्दिरमा हुने कुनै पनि धार्मिक काममा हाम्रो सहयोग लिँदैनन्,’ उनले प्रश्न गरिन्, ‘भगवान्ले पनि दलित र गैरदलित छुट्याउँछन् र ?’ शुक्रबार शिवरात्रिको अवसरमा मन्दिरमा शिवको मूर्ति स्थापना गरियो । त्यसमा स्थानीय दलित समुदायले पनि क्षमताअनुसार दूध, चामल चढाउन चाहे पनि पुजारीले नलिएको उनको गुनासो थियो । सुनारका अनुसार कथित माथिल्लो जातका स्थानीयबाट संकलन गरिएको दूध र चामलबाट खीर बनाएर प्रसादका रूपमा वितरण गरिएको थियो ।


वडाध्यक्ष रूपबहादुर मल्लले गाउँमा रहेको विभेदलाई अन्त्य गर्ने प्रयासमा रहेको बताए । उनले सकेसम्म सबै समुदायलाई सहभागी गराउने गरी सहमति र सहकार्यमा काम गर्ने गरिएको दाबी गरे । ‘हामीले सहज गराउने प्रयास गर्दै छौं,’ उनले भने, ‘तर अझै पनि कतिपयमा पुरानो सोच र संस्कार रहेकाले त्यसलाई पनि बिस्तारै चिर्दै छौं ।’ उनले सबै समुदायलाई समान रूपले सहभागी गराउने गरी समितिबाट निर्णय नै गराएको जनाए ।


मन्दिर व्यवस्थापन समिति समावेशी नबनाइएको दलित समुदायको गुनासो छ । ११ सदस्यीय समितिमा दलित समुदायको प्रतिनिधित्व नै छैन । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निलबहादुर क्षत्रीले मन्दिर पुरानो भएकाले समिति पनि पुरानो नै भएको जिकिर गरे । ‘अब समिति पुनर्गठनका बेला समावेशी बनाउने छौं,’ उनले भने, ‘नयाँ पुस्ताको सोचलाई पनि मन्दिर सुधारमा सहभागी गराउने प्रयास हुनेछ ।’


पाँच बिघामा रहेको मन्दिर संरक्षणका लागि गाउँपालिकाले पनि सघाएको छ । गत वर्ष लगाइएको महायज्ञबाट उठेको ६ लाख रुपैयाँमा गाउँपालिकाले थप ६ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यसले मन्दिर पुनर्निर्माणसँगै तारबार र संरक्षणका अन्य काम गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?