कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाप्रोबाट घरमा

मधु शाही

बाँके — टिनको छानो । दुई कोठासँगै सानो भान्सा र अट्याच बाथरुम । कोहलपुरका ६५ वर्षीय वीरबहादुर गन्धर्व भुइँमै ओछ्यान लगाएर सुत्छन् । अहिले उनलाई कसैले बस्ती हटाइदेला भन्ने चिन्ता छैन । सरकारको एकीकृत बस्ती आवास पाएपछि उनीलगायत कोहलपुरका १० गन्धर्व परिवारले ओत लाग्ने घर पाएका हुन् ।

सारंगी बजाएरै जीविकोपार्जन गर्दै आएका उनीहरूलाई स्थानीय सरकारले आवास बनाइदिएको हो । उनी कोहलपुर नगरपालिकाका गन्धर्व समुदायका पाका पुस्तामा पर्छन् । उनीसँगै झन्डै २४ घरपरिवार गन्धर्व समुदायका छन् । सबै परिवार सारंगी बजाउँदै गर्दा जुटेका हुन् । अधिकांशको पुर्ख्यौली घर सल्यान हो ।


गन्धर्वको इतिहास राजा–रजौटाको इतिहाससँग जोडिएको छ । सल्यान जिल्लाका फालांगा भन्ने ठाउँमा बसोबास गरेका वीरबहादुरका पुर्खा बाइसे–चौबीसे राजाको सेवामा लागे । त्यतिबेला राजाले सारंगीलाई पवित्र संगीतका रूपमा लिन्थे । घरमा पूजाआजा गर्दा मंगल धुनका रूपमा सारंगी बजाउनुपर्थ्यो । राजा/रजौटाको अन्त्यसँगै उनीहरू पनि छरिन पुगे ।


सल्यानबाट विस्थापित भएपछि रुकुम वाफिकोटको ‘भाग्ले’मा पुगे । त्यहाँस्थित ‘स्यारपु दह’ किनारमा बस्ती बसाए । बिस्तारै घरबार जोड्न थाले । ‘गरिबलाई प्रकृतिले समेत हेप्दो रहेछ,’ वीरबहादुरले भने, ‘वि.सं. ०२१ मा दह फुट्यो । अलि अलि आर्जेको घरबास, भैंसी, बाख्रा, अन्नपात र जमिन सबै दहले बगायो ।’ भोको पेट पाल्न खोक्रो सारंगी रेट्दै उनीहरू रुकुमबाट दाङ झरे । पपनगर भन्ने ठाउँमा बस्न थाले । जहाँ अहिले नगरपालिका भवन छ । ०२२ सालमा बाँकेमा जग्गा खुलेको खबर पाए । झन्डै २४ जनाको गन्धर्व समुदाय बाँकेको साबिक राप्तीसोनारीको शमशेरगन्जस्थित ठुरे खोला नजिक छाप्रो बनाएर बसे । वर्षहरू बित्दै थिए, ०३१ सालमा जिल्ला वन कार्यालयले डोजर लगाएर त्यो बस्ती हटायो ।


स्थानीय कृष्ण गन्धर्वका अनुसार उनीहरू बास खोज्दै नेपालगन्जको सल्यानी बंगलामा बस्न थाले । दिनभरि सारंगी बजाउँदै गाउँ डुल्ने र बेलुका अन्नपात लिएर बंगलामा सुत्न आउँथे । यसै गरी १४ वर्ष बित्यो । भौंतारिंदै छरिएका गन्धर्वहरू बाँकेसम्म आइपुग्दा एकजुट भए । समूह ठूलै बन्यो । हिंड्दा हिंड्दै विवाह गरे । परिवार बढ्दै गयो । एक्लो जीवन त सारंगीसँगै डुल्छ तर परिवार ! त्यसपछि उनीहरूले परिवारका लागि भए पनि बसोबासको निधो गर्न थाले ।


यसै क्रममा झन्डै ३० परिवारको गन्धर्व समुदाय कोहलपुरनजिक डुडुवा खोला किनारमा बस्न थाल्यो । ‘जहाँ गयो, त्यहीँ हाम्रो घर । जतिपटक भत्किन्थ्यो, उति पटक बन्थ्यो,’ ६७ वर्षे कृष्णले भने । ०६५ सालदेखि उनीहरू कोलपुरको खुला चौरमा बस्न थालेका हुन् । गन्धर्व समुदायका अध्यक्षसमेत रहेका दलबहादुर गर्न्धवका अनुसार कोहलपुरमा १ सय १० को हाराहारीमा गन्धर्व समुदायको बसोबास छ । उनीहरूमध्ये आधाजसो बेघर छन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?