कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झिमरुक फाँट बाँझै

गिरुप्रसाद भण्डारी

(प्यूठान) — झिमरुक नदीले बनाएको समथर फाँटको छेउबाट बग्ने झिमरुक नदी । माथिल्लो भागमा मिलेर बसेको टारी, टिकुरी, पुन्यखोला, विजयनगर, क्वाडीलगायत मनमोहक बस्ती । बीबीसीका पूर्वपत्रकार सुमन खरेललाई यही दृश्यले मोहित बनायो ।

साझा सवाल कार्यक्रम रेकर्डका लागि केही वर्षअघि प्यूठान आएका उनले खलंगाबाट बिजुवारतर्फको उपत्यकालाई स्वीजरल्यान्डसँग तुलना गरेका थिए । ‘सारै राम्रो रहेछ,’ उनले भने, ‘यसको विकास उत्पादन र पर्यटनसँग जोडेर गर्नुपर्छ ।’


०६३ सम्म झिमरुक फाँटको बिजुवार, जुम्री क्षेत्र खाली थियो । अहिले घरैघरले घेरिएको छ । साबिकको धर्मावती गाविसअन्तर्गत पर्ने खप्रेङखोला क्षेत्रका किसानले फाँटैभरि व्यावसायिक तरकारी खेती गरेर धेरै गाउँलाई तरकारीमा आत्मनिर्भर बनाएका थिए । मानो रोपी मुरी फल्ने यस फाँटको पनि बेग्लै महत्त्व थियो । कसैले फाँटको खेत बाँझै राख्दैनथे । तर, अहिले झिमरुक उपत्यका खरेलले बयान गरेजस्तो रहेन ।


दुई/चार वर्षमै फाँटको माथिल्लो भाग अव्यवस्थित घर/घडेरीका कारण कंक्रिट बन्दै गएको छ । विस्तार हुँदै गएको बाग्दुला, बिजुवार, जुम्री बजारका नालीको फोहोर सोझै झिमरुक नदीमा मिसिएको छ । त्यसले नदी फोहोर हुँदै गएको छ । झिमरुक नदीमा माछा पाइन छाडेका छन् । खप्रेङखोला क्षेत्रका किसानले व्यावसायिक तरकारी खेती गर्न छोडेका छन् । जिल्लालाई चाहिने तरकारी दाङको भालुबाङ, लमही, क्षेत्रबाट भित्रिन्छ । व्यावसायिक तरकारी खेती गर्नलाई फाँटमा पानीको कहिल्यै समस्या हुँदैन । तर, माल पाएर पनि चाल नपाएजस्तो भएको छ ।


स्थानीय सरकारले पनि फाँटबाट फाइदा लिने योजना बनाउन सकेका छैनन् । फाँटको बीचमा बाँझो खेत बढ्दो छ । जिल्लाको पहिचानसँग जोडिएको झिमरुक फाँट अहिले मासिंदै गएकामा अगुवा चिन्तामात्र व्यक्त गर्छन् । तर, पहलकदमी लिंदैनन् । प्यूठान नगरपालिकाको प्रमुख प्रशासनिक केन्द्रको भवन पनि फाँटमै निर्माण भएको छ । त्यसले फाँट मासेर घर बनाउने क्रम झन् बढाएको छ ।


फाँटमा भइरहेको अव्यवस्थित बस्ती विकासले फाँटैभरि व्यावसायिक तरकारी खेती गर्ने योजना कार्यान्वयन गर्न समस्या परेको प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘खेत एउटाको र खेती गर्ने किसान अरू भएकाले फाँटमा व्यावसायिक उत्पादनमा समस्या छ,’ उनले भने, ‘व्यवस्थित कार्ययोजना बनाउन पनि सकिएको छैन ।’ जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडा दिने नीति प्रदेश सरकारको छ । तर, झिमरुक फाँटमा त्यस्तो खेती गर्ने किसान कोही नभेटिएको उनले बताए ।


झिमरुक फाँट जिल्लाकै अन्न भण्डार हो । प्यूठान नगरपालिका–८, गेजबाङबाट खैरासम्मै ठूल्ठूला फाँट छन् । फाँटलाई सिंचाइ गर्न पुर्खाले नै राज, क्वाडे, तेर्से, रानी कुला निर्माण गरेका छन् । दाङको भालुवाङबाट पहाडैपहाडको बाटो भएर प्यूठान आउने जो कोहीको पनि पहिलो नजर झिमरुक फाँटमा पर्छ । कलकलाउँदै बग्ने झिमरुक नदी र यसको दायाँ/बायाँ बनेको फाँट देख्दा प्यूठान आउने आगन्तुक लोभिन्छन् । तर, फाँटबाट प्यूठानीले धेरै फाइदा लिन सकेका छैनन् । ‘फाँटमा तरकारी र अन्न खेती गर्न पानीको समस्या कहिल्यै हुँदैन,’ प्यूठान नगरपालिका–४ का किसान गिरबहादुर कार्कीले भने, ‘तर, किसान खेतीमा भन्दा जग्गा बेचेर मोटो रकम हात पार्नमै तल्लीन छन् ।’

प्रकाशित : फाल्गुन ११, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?