कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिम्मतवाली हिमा

ठाकुरसिंह थारु

बर्दिया — औपचारिक कार्यक्रममा सधैंजसो कालो कोटमा देखिन्छिन् । उनको कार्यकक्ष अगाडिको टेबुलमाथि उपाध्यक्ष लेखिएको नेमप्लेट छ । यहाँसम्मको यात्रा तय गर्न उनका लागि कम्ती चुनौती झेल्नु परेन । तर, निरन्तरको संघर्ष, त्याग र हिम्मतले हिमाकुमारी थरुनी गेरुवा गाउँपालिकाको उपाध्यक्ष बनेकी हुन् । 

हिम्मतवाली हिमा

यहाँसम्मको यात्रा तय गर्दा धेरै खुसी गुमाएकी छन् । अनेकथरी कुराको पछाडि लागेर श्रीमान्ले दोस्रो विवाह गरे । समुदायले चरित्रमाथि प्रश्न उठाउँदा मन नपोल्ने कुरै भएन । तर पनि, सधैं आफ्नो लक्ष्यमा अडिग रहिन् । यही संघर्षले उनलाई उपाध्यक्ष बन्ने अवसर दियो । ‘जति नै दुःख र पीडा भए पनि कहिल्यै रोइनँ । जति कुरा काटे पनि पछाडि फर्केर हेरिनँ,’ उनले भनिन्, ‘घरबाट कुनै सहयोग भएन । श्रीमान्ले पनि छोड्नु भो । पीडैपीडामा संघर्ष गर्दा आज यो अवस्थामा पुगेकी छु ।’


श्रीमान्बाट सहयोग नपाएकी उनलाई माइती पक्षको सहयोग छ । उनका बुबा योगेश चौधरी ०५६ सालको निर्वाचनमा गोला गाविसको उपाध्यक्ष निर्वाचित भएका थिए । माइती छँदै घरमा कांग्रेसका ठूला नेताको जमघट हुन्थ्यो । बैठक हुँदा कुरा सुन्थिन् । बुबाले राजनीति गर्नु पर्छ भनेर सुझाव दिन्थे । तर, विवाहपछि पारिवारिक बन्धनमा बाँधिइन् । जग्गा–जमिन थिएन । काममा जोतिनु पर्थ्यो । भेला–बैठकमा जान रोक लगाइयो । रातबिरात घर पुग्दा गाली खानु र कुटपिट हुनु सामान्य बन्यो । तर, उनले हरेस खाइनन् । सामाजिक सेवामा निरन्तर लागिरहिन् ।


१० कक्षा पास गरेकी उनी महिला स्वयंसेविका बनेपछि राजनीतिक यात्रा गर्न केही सहज भयो । उनी निरन्तर २२ वर्षसम्म स्वयंसेविका भएर काम गरिन् । ‘यसरी स्वयंसेवीका रूपमा काम गर्दा योसँग गइस् । त्योसँग हिंडिस् भन्ने कुरा गाउँमा हुन्थ्यो । घरबाटै सहयोग नपाएपछि अरुले त भन्ने नै भए,’ उनले विगत खोलिन्, ‘म त्यस्ता नचाहिने कुराको पछाडि लागेको भए आज यो अवस्थामा पुग्ने थिइनँ ।’ १६ वर्षअघि श्रीमान्ले छोड्दा दुई नाबालक छोरा थिए । उनीहरूको पालनपोषणका लागि निकै संघर्ष गर्नुपर्‍यो । त्यसलगत्तै कांग्रेसको राजनीति गरेको आरोपमा सशस्त्र द्वन्द्वमा होमिएको माओवादीको निसानामा परिन् । दुई छोरा लिएर सदरमुकाम गुलरिया गइन् । त्यहीँ डेरा लिएर छोरा पढाउन थालिन् । मुक्त कमैया परिवारबाट सिलाइकटाइ तालिम पाएकी उनले त्यही पेसा रोजिन् ।


भूमि सुधार कार्यालयले कमैया महिलाका लागि सिलाइकटाइ तालिम चलाएपछि प्रशिक्षक बनिन् । ‘अहिले एउटा छोरा नेपाली सेनामा भर्ना भएको छ । अर्को कामका लागि विदेश आउजाउ गर्छ,’ उनले भनिन्, ‘मैले गरेको संघर्षबारे भनेर साध्य छैन । तर, लक्ष्यसम्म पुग्न पाएकामा खुसी छु ।’


०६४ सालमा उनी गाउँ फर्किन् । त्यसयता निरन्तर स्थानीयका घरदैलोमा पुगिरहेकी छन् । हाल उनी कांग्रेसको महासमिति सदस्य पनि हुन् । ‘भविष्यमा गाउँपालिका अध्यक्ष भएर काम गर्ने इच्छा छ,’ उनले भनिन्, ‘पार्टी र जनता जनार्दनले विश्वास गरे पक्कै त्यो पद पनि टाढा छैन ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?