कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटकको पर्खाइमा डमरु दह

वीरेन्द्र केसी

(अर्घाखाँची) — यहाँको शीतगंगा नगरपालिका–३, ठाडाको अग्लो डाँडोमा डमरु दह छ । ५२ रोपनी क्षेत्रफलमा फैलिएको यो दह ६ फिट गहिरो छ । दहमा बाह्रै महिना पानीको सतह एकै किसिमको राख्न १ सय ३० मिटर तलबाट लिफ्ट प्रविधिमार्फत खोलाको पानी तानिएको छ । कहिल्यै पानीको सतह नघट्ने दहमा केही वर्षयता गर्मीको समयमा पानी सुक्न थालेको छ ।

पर्यटकको पर्खाइमा डमरु दह

प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र शीतगंगा नगरपालिकाको १५ लाख रुपैयाँ लगानीमा लिफ्ट योजना सम्पन्न भएको हो ।


डमरु दह पर्यटकीय गन्तव्य हो । बाह्रै महिना पानी रहन्छ । पर्यटकलाई आकर्षण गर्न पानी तानिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । ‘पानी तानियो, अब दहको बीचमा पिलर उठाएर अग्लो शिवको मूर्ति बनाउने भएर दहमा पानी खाली गरेका हौं,’ उनले भने, ‘मूर्तिको दर्शन गर्न त्यहाँसम्म पुग्ने पुल बन्छ । त्यसपछि पानी छोड्छौं ।’ अब दहमा पानीको सतह एकै किसिमको रहने उनले बताए ।


वर्षामा सडक र गाउँबाट झरेको भेल सीधै दहमा पस्छ । त्यसले पानी धमिलो र दह पुरिँदै गएको स्थानीयले बताए । दह प्रवेशद्वारअगाडि ठूला फिल्ड बनाउन र पर्यटक बस्नका लागि भवन र पार्क बनाउन नगरबाट २५ लाख र प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट २५ लाख बजेटले काम सुरु भएको छ । ‘डमरु दह शीतगंगाको सम्पत्ति हो, पर्यटकीय गन्तव्य बनाउन पर्यटकीय संरचना बनाउन लागेका छौं,’ नगर प्रमुख अधिकारीले भने, ‘अब व्यवस्थित गर्छौं, दहमा ढल र भेल तर्काएर वर्षामा पानी सङ्लो पार्ने, चारैतिर तारबार गरेर फूल रोप्ने र पर्यटकलाई लोभ्याउने गरी चिटिक्क पार्छौं ।’ प्राचीनकालमा भगवान् शिव नर्तनाञ्चल पर्वतमा ध्यान गर्न जाने क्रममा पाइला टेकेको स्थानमा डमरु आकारको पाइला बनेको र भगवान् राम वनबास जाँदा वाण हानेर पानी निस्केपछि ताल बनेको किंवदन्ती छ । ऐतिहासिक ताललाई संरक्षण गरेर पर्यटकीय संरचना बनाए धेरै पर्यटक भित्रिने ताल संरक्षण समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।


तराईबाट डेढ घण्टा गाडी यात्राबाटै दहमा पुग्न सकिन्छ । चारैतिर हरियाली मनोरम दृश्य छन् । गर्मी छल्न तराईबाट यहाँ पर्यटक आउने गर्छन् । दहको वरिपरि हरियाली रुख छन् । ‘केही तनाव भयो भने दहको छेवैमा आएर बसेपछि फ्रेस भइन्छ,’ शीतगंगा–३ का वडाध्यक्ष हेमनाथ भुसालले भने, ‘सरर हावा चल्छ । वास्तवमै आनन्दित ठाउँ छ ।’ दुई वर्षभित्रमा सबै संरचना बनाएर पर्यटक भित्र्याउन व्यापक प्रचार गरिने उनले बताए । ‘दहमा डुंगा चल्ने, दहको बीचमा मन्दिर, चारैतिर बगैंचा, बस्ने, खेल्ने र रमाउने ठाउँ तयार हुन्छ,’ वडाध्यक्ष भुसालले भने, ‘यहाँ आउने पर्यटकका लागि बस्न, खान र मनोरञ्जनका लागि होमस्टे बनाउँदै छौं । गाउँलेलाई पर्यटनबाटै स्वरोजगार बनाउने लक्ष्य छ ।’


तालको बीचमा कमलका फूल रहेको र केही वर्षअघि माछा पाल्ने ठेकेदारले मोटर लगाएर पानी सुकाउँदा फूल हराएको स्थानीय उमानन्द अधिकारीले बताए । ‘प्राकृतिक सम्पत्ति छ । अब आकर्षण गर्ने संरचना जरुरी छ, बल्ल पर्यटक अडिन्छन्,’ उनले भने, ‘जिल्लाको दक्षिणी क्षेत्रको केन्द्र भए पनि बेवास्ताका कारण ताल हालसम्म बेवारिसे बनेको हो ।’

प्रकाशित : माघ २८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?