हिंसाबाट बचाउन सीप र रोजगारी- प्रदेश ५ - कान्तिपुर समाचार

हिंसाबाट बचाउन सीप र रोजगारी

दुर्गालाल केसी

दाङ — महिलालाई हिंसाबाट बचाउन घरेलु हिंसापीडित महिला नै अग्रसर बनेका छन् । विभिन्न सीपमूलक तालिम सञ्चालन गरेर आत्मनिर्भर बनाउन जुटेका हुन् । सीप सिकेपछि उद्यम सञ्चालन गर्न सघाइरहेका छन् । उद्यमी बनाउन उनीहरूले घोराहीमा लैंगिक हिंसा पुनःस्थापना केन्द्र खोलेका छन् । त्यसमार्फत तालिम सञ्चालन गरिरहेका छन् । तालिमका सहभागीले केन्द्रले सञ्चालन गरेको होजियारी तथा तयारी कपडा उद्योगमा रोजगारी पाइरहेका छन् । 

लैंगिक हिंसा पुनःस्थापना केन्द्रमा तालिम लिएकामध्ये १३ जनाले अहिले उद्योगमा काम गरिरहेका छन् । उनीहरू बालबालिकाका सर्ट, पाइन्ट, स्विटर, मोजा, टोपीका साथै महिलाका लागि ट्राउजर, कुर्ता–सुरुवाल, सेनेटरी प्याड लगायतका सामग्री तयार गर्छन् । उक्त सामान जिल्लाका विभिन्न विद्यालयका साथै काठमाडौंसम्म जाने गरेको उद्योग सञ्चालक तथा प्रशिक्षक दीपा बस्नेतले बताइन् । सीप नहुँदा हिंसा सहनु परेकाले आत्मनिर्भर बनाउन उद्यमी अभियान चलाएको उनले बताइन् । ‘आय आर्जनका लागि सीप नहुँदा धेरैले घरेलु हिंसा सहेर बसेका छन् । परिवारले खान दिएन भने भोकै बस्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘हातमा सीप भएपछि जता गएर पनि जीविका चलाउन सकिन्छ । जोखिमबाट बचाउन यस्तो काम थालेका छौं ।’


उद्योग सञ्चालक सबै हिंसापीडित महिला हुन् । घोराही–१४ मा दुईवटा कोठा भाडामा लिएर उद्योग सञ्चालन गरिरहेको अर्की प्रशिक्षक बालिका जीसीले बताइन् । ‘महिलालाई ६ महिनासम्म होजियारी र सिलाइकटाइ तालिम दिन्छौं । त्यसपछि काम दिन्छौं,’ उनले भनिन्, ‘यसले सीपसँगै आत्मबल बढेको छ । खर्च धान्न सक्ने भएका छन् ।’ एकपटकमा २० जनाले तालिम लिने गरेका छन् । तालिम लिनेको संख्या धेरै छ । मेसिन कम भएकाले सबैलाई एकसाथ तालिम दिन नसकिएको अर्की उद्योग सञ्चालक तथा प्रशिक्षक डीला चौधरीले बताइन् । ‘तालिम लिन चाहनेहरू धेरै भएका छन् । हामीले आर्थिक अवस्था कमजोर भएका र हिंसाको जोखिम भएकालाई पहिलो प्राथमिकता दिएका छौं,’ उनले भनिन् ।


छुट्टै घर बनाएर नियमित महिला स्वरोजगार तालिम केन्द्र सञ्चालन गर्ने योजनामा रहेको हिंसापीडित महिलाहरूको संस्था सक्षम महिला सामुदायिक संस्थाकी अध्यक्ष रचना सुवेदीले बताइन् । तालिम र घर निर्माणमा महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । यसबाट महिलालाई दिगो रूपमा नियमित स्वरोजगार हुने र घरभाडाको समस्या पनि हट्ने संस्थाकी उद्यम विकास कार्यक्रम संयोजक कल्पना न्यौपानेले बताइन् ।


घोराही–१३, बाँसबोटकी २८ वर्षीया सीमा चौधरीले ६ महिनाको होजियारी तालिम लिइन् । ‘पहिले केही समय कुखुरा पनि पालेँ तर त्यति फाइदा हुन सकेन,’ उनले भनिन्, ‘अहिले दिनदिनै नगद हुने काम छ । जति धेरै कपडा सिलाउन सक्यो, त्यति धेरै फाइदा हुन्छ ।’ श्रीमान् रोजगारीका सिलसिलामा मलेसियामा छन् । उनले आफ्नो खर्च आफैं धानेकी छन् ।


उनीहरूले कपडाको संख्याअनुसार पारिश्रमिक पाउँछन् । एउटा ट्राउजर सिलाएको ३० रुपैयाँ पाउँछन् । दिनमा १२ देखि १५ वटासम्म सिलाउँछन् । अन्य कपडाको पनि मिहिनेतअनुसार फरक–फरक दर तोकिएको छ । धेरै सिलाउन सक्नेले धेरै कमाउन सक्ने प्रशिक्षक भीमकुमारी थापाले बताइन् ।

प्रकाशित : माघ १५, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

तंग्रिँदै रुपन्देहीकै जेठो विद्यालय

व्यवस्थापन समिति, शिक्षक, भूपू विद्यार्थी र जनप्रतिनिधिको पहलमा शैक्षिक गुणस्तर सुध्रिएको छ । कुनै बेला गाभिने अवस्थामा पुगेको विद्यालयमा विद्यार्थी थपिएका छन् । 
अमृता अनमोल

बुटवल — बन्द हुने अवस्थामा पुगेको रूपन्देहीकै जेठो विद्यालय विस्तारै लयमा फर्केको छ । विद्यार्थी संख्या बढ्दै छ । शैक्षिक गुणस्तर सुधारिन थालेको छ । दुई वर्षअघि बुटवल उपमहानगरले यसलाई नजिकैको विद्यालयमा गाभ्ने योजना बनाएको थियो । त्यसले इतिहास मेटिने चिन्ता छायो । बल्ल विद्यालय व्यवस्थापन समिति, शिक्षक, भूपू विद्यार्थी र वडाका जनप्रतिनिधि मिलेर सुधार योजना बनाए । शैक्षिक र व्यवस्थापकीय क्रियाकलाप हुन थालेपछि पढाउने वातावरण बन्दै गयो । 

अहिले विद्यार्थी नियमित आउन थालेका छन् भने शिक्षक कक्षाकोठा र सिकाइमा व्यस्त हुन थालेका छन् । ‘शिक्षकबाटै सुधार अभियान चलाएका छौं,’ प्रधानाध्यापक अकरामुल्लाह खाँले भने, ‘हरेक शिक्षकले पाठयोजना बनाएर पूर्वतयारी र छलफलपछि मात्रै कक्षामा जानुहुन्छ ।’ विद्यालयमा घोकाएर पढाउने विधि फेरिएको उनले बताए । सिकाएर र अभ्यास गरेर बुझाउने अभ्यास थालिएको छ । ‘यसले कक्षागत उपलब्धि र विद्यार्थीको अन्तरनिहित प्रतिभा बाहिर ल्याउन पनि सहयोग भएको छ,’ प्रधानाध्यापक खाँले भने, ‘निकै कमजोर विद्यार्थीलाई अतिरिक्त समय व्यवस्थापन पनि भएको छ ।’

वि.सं. ००८ मंसिरमा विद्यालय स्थापना भएको थियो । आदर्श विद्यामन्दिरका नामबाट सुरु भएको विद्यालय पछि बुटवल मावि बनेको थियो । विद्यालयमा अहिले बालविकास केन्द्रदेखि कक्षा १० सम्म पढाइ हुन्छ । दुई वर्षदेखि बालविकास केन्द्रका बालबालिकालाई निःशुल्क खाजा खुवाउन थालिएको छ । विद्यार्थीको सुविधाका लागि बालबालिकालाई अटो रिक्साबाट ल्याउने/पुर्‍याउने गरिन्छ । यसले विद्यार्थी संख्या बढ्दै गएको व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर शाक्यले बताए । ‘खाजा र सवारी साना कक्षामा विद्यार्थी आकर्षण गर्ने यन्त्र रहेछन्,’ उनले भने, ‘विद्यालय आएका विद्यार्थी टिकाउने र बिकाउने जिम्मा शिक्षकले लिनुपर्ने करार गरेका छौं ।’ विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकलाई र प्रधानाध्यापकले शिक्षकलाई गुणस्तर सुधार्न करार गराएको उनले बताए ।

विद्यालय सुधार योजनामा हरेक विद्यार्थीको छुट्टै प्रोफाइल तयार गरिएको छ । त्यसमा उसका सबलता र दुर्बलताको अभिलेखीकरण गरिन्छ । हरेक विद्यार्थीलाई गृहकार्यका लागि डायरी दिइन्छ । त्यसलाई कक्षा शिक्षकले चेकजाँच गर्छन् । बिनासूचना तीन दिन अनुपस्थित हुने विद्यार्थीका अभिभावकलाई सूचना दिने र अभिभावकसँग छलफल गरेर नियमित विद्यालय नआउने कारण सोधिन्छ । ‘विद्यालय सुधार्न विद्यार्थी, शिक्षक र अभिभावक तीन पक्ष नै लाग्नुपर्ने रहेछ,’ अध्यक्ष शाक्यले भने, ‘त्यही कारण सुधारका नयाँ अभ्यास थालेका हौं ।’

यस वर्ष विद्यालयबाट ३७ जना विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । एसईई नतिजा सुधार्न निःशुल्क खाना, खाजा र भोजन कार्यक्रम लागू भएको छ । विद्यार्थीहरू बिहान ६ बजे विद्यालय आउँछन् । साँझ ६ बजेसम्म विद्यालयमै बसेर लेखपढ गर्छन् । उनीहरूका लागि बिहान र दिउँसो खाजा तथा खाना विद्यालयले निःशुल्क खुवाउने गरेको छ ।

खाजाको व्यवस्था बुटवल उपमहानगरपालिका–१ का जनप्रतिनिधिले गरिदिएका हुन् । ‘जसरी पनि शैक्षिक उपलब्धि बढाउनुपर्छ भन्नेमा लागेका छौं,’ वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले भने, ‘त्यसैले जनप्रतिनिधिले व्यक्तिगत रूपमा उठाउने, भूपू विद्यार्थी र सहयोगी भावना भएकासँग सहयोग माग्ने गरेर विद्यार्थीका लागि खाना र खाजा जुटाएर पढाइमा व्यस्त बनाएका हौं ।’ विद्यालयमै खाजा र खाना पाउने भएपछि विद्यार्थीहरू ढुक्क भएर शैक्षिक अभ्यासमा लाग्न पाएका छन् । ‘दिउँसो मात्रै पढ्दा अभ्यास गर्ने र रिभिजन गर्ने समय हुँदैनथ्यो,’ विद्यार्थी सविता नेपालीले भनिन्, ‘विद्यालयमै खानासहितको पढ्ने अवसर पाएपछि निकै सजिलो भएको छ ।’ शिक्षक र साथी दुवैसँग छलफल गरी अभ्यास गर्न पाएको उनले बताइन् ।

विद्यालयमा ३ सय ३५ विद्यार्थी छन् । सबैजसो विद्यार्थी विपन्न परिवारका छन् । आफ्ना छोराछोरीले पढे/नपढेको अभिभावकले हेर्दैनन् । नियमित विद्यालय आए/नआएको चासो राख्दैनन् । विद्यार्थीलाई आवश्यक पर्दा कापी र कलम किनिदिन पनि सक्दैनन् । यही कारण धेरैदिनसम्म कक्षाकार्य र गृहकार्य लेख्न नपाउने विद्यार्थी पनि धेरै छन् । यस्तो समस्या सबैजसो कक्षामा छ । पछिल्लो समय तिनका लागि भूपू विद्यार्थी र शिक्षक मिलेर शैक्षिक सामग्रीको जोहो गरेका छन् ।

शिक्षक यज्ञलाल सापकोटाले यसले उनीहरूको सिकाइ र पढाइप्रतिको लगाव बढ्दै गएको बताए । ‘घरपरिवारबाट नपाएको ससानो खुसी पनि विद्यालयबाट दिने प्रयास गरेका छौं,’ उनले भने, ‘जस्तो कि जन्मदिनमा शुभकामना लिने/दिने, विद्यालयले नै मंगलबार र शुक्रबार टिसर्टको व्यवस्था गरिदिने । चाडवाडमा शुभकामना आदानप्रदान गर्ने गरेका छौं ।’ यसले विद्यार्थीले विद्यालयलाई आफ्नो सम्झिने र नियमित विद्यालय आउने गरेको उनले बताए । ‘स्कुलले कापी–कलम दिँदा पनि घरमै छोडेर आउँछन्,’ शिक्षक भगवती भण्डारीले भनिन्, ‘त्यस्ता विद्यार्थीका शैक्षिक सामग्री अहिले स्कुलमै राखिदिएर अभ्यास गराउने गरेका छौं ।’

प्रकाशित : माघ १५, २०७६ १०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×