कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिन बिराएर लोडसेडिङ

तुलाराम पाण्डे

(कालीकोट) — देशभर उज्यालो अभियान चलिरहेका बेला जिल्लावासी दिन बिराएर लोडसेडिङ खेप्न बाध्य छन् । अनियमित लोडसेडिङ यहाँको वर्षौं पुरानो समस्या हो ।

विद्युत्‌ गृहको नहर र मेसिनमा बेलाबेलामा खराबी आउँदा हप्तैपिच्छे विद्युत् अवरुद्ध हुने समस्याबाट स्थानीयबासी आजित छन् । सान्नीगाड साना जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् अपुग भएकाले एक दिन बिराएर लोडसेडिङ हुने गरेको हो । विद्युत् आयोजना आसपासका बस्तीमा एक दिन र कर्णालीवारि पर्ने सदरमुकाममा अर्को दिन विद्युत् सेवा प्रवाह भइरहेको छ । वितरण केन्द्र प्रमुख मेखराज जोशी ५ सय किलोवाट क्षमताको आयोजनाबाट अहिले मुस्किलले आधा मात्र विद्युत् उत्पादन हुँदा समस्या भएको बताउँछन् ।


‘माग बढी छ, आपूर्ति कम छ,’ उनले भने, ‘बेला–बेलामा मर्मत गर्नुपर्ने भएकाले सोचेजस्तो विद्युत्सेवा प्रवाह गर्न सकिएको छैन ।’


विद्युत् अभावमा सदरमुकाममा टेलिफोन लाइन पनि चल्दैनन् । मोबाइलको टावरले पनि काम नगर्ने समस्या रहेको स्थानीयको गुनासो छ । घाम नलागे स्थानीय रेडियो बन्द हुने समस्या रहेको रेडियो नयाँ कर्णालीका प्रवन्धक भरतराज विष्टले गुनासो गरे । विद्युत् नहुँदा इन्टरनेट नचल्ने समस्यासमेत लामो समयदेखि रहेको उनको भनाइ छ । हप्तैपिच्छे विद्युत् अवरुद्ध हुने समस्याले कर्मचारीलाई पनि सास्ती भइरहेको छ । २०५७ मा निर्माण सकिएको आयोजना सशस्त्र द्वन्द्वका कारण अवरुद्ध पारिएको थियो । आयोजनाले २०६५ जेठदेखि विद्युत् सेवा दिइरहेको छ । आयोजनाले मुम्रा, मेहेलमुडी, रकु, स्युना, सिप्खाना, रेंगिल, मान्म, ताडी, भर्ताको पोरिपाल्नीसम्म लाइन विस्तार गरेको छ । खाँडाचक्र, रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका २ हजार ६ हजार घरधुरीमा मिटर वितरण गरिएको आयोजनाले जनाएको छ । ‘पावर’ नपुग्दा ‘पिकआवर’ मा पालोपालो गरेर लोडसेडिङ गर्ने गरिएको केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । ‘नयाँ मेसिन जडान गरेमात्र लोडसेडिङको समस्या हल हुन्छ,’ उनले भने, ‘पुरानै मेसिनले माग धान्न मुस्किल छ ।’


विद्युत् अनियमितताले बालबालिको पढाइमा पनि बाधा पुगेको छ । ‘बत्ती नआएको दिन विद्यार्थीले होमवर्क गर्दैनन्,’ महादेव आधारभूत विद्यालयकी प्रधानाध्यापक नन्दाकुमारी शाहीले भनिन्, ‘कालीकोटको विजुली नाम मात्रको छ, काम परेको बेला आउँदैन ।’


महँगोमा सोलार

विद्युत् नहुँदा जिल्लाका केही व्यापारीले सोलार ब्याट्री र जेनेरेटर ल्याएर मोबाइल तथा ल्यापटप चार्जलाई व्यवसाय बनाएका छन् । उनीहरूले सोलार ब्याट्रीमार्फत मोबाइल, ल्यापटपलगायत साधन चार्ज गर्न चर्को रकम लिने गरेका छन् ।


नागरिकता फोटोकपी गरेबापत १० र एकप्रति कागजात प्रिन्ट गरेको २० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । बिजुली अभावमा मोबाइल अधिकांश समय ‘स्विच अफ’ गर्नुपर्ने बाध्यता रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कालीबहादुर विष्टले बताए । ‘पैसा तिरेर पनि गाउँमा मोबाइल चार्ज गर्ने ठाउँ छैन,’ उनले भने । २०७० मा मुम्रा पोतमारास्थित सान्नीगाड खोलामा आएको बाढीले साना जलविद्युत् केन्द्रको नहर बगाएको थियो । बाढीमा १२ जना बेपत्ता भएका थिए । त्यसयता पनि बेला–बेलामा विद्युत् नहर भत्किने र मेसिन बिग्रिने समस्या छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?