कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौमुरे बहुउद्देश्यीय फरियोजना : अध्ययनमै पाँच वर्ष

सरकारले तीन वर्षअघि २० करोड रपैयाा विनियोजन गरेपछि नेपालका दुई र एक स्पेनी कम्पनीले अध्ययन गरिरहेका छन्

(प्यूठान) — सरुमारानी गाउँपालिका–१, बांगेसाल क्षेत्रका बासिन्दाले नौमुरे बहुउद्देश्यीय परियोजना निर्माण भएपछि सुक्खा क्षेत्रमा सिंचाइको आशा पालेको वर्षौं भयो । सरकारपिच्छे प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यसबारे चर्चा हुन्छ । प्रत्येक वर्ष बजेट भाषणमा नौमुरे योजना पर्छ । त्यसले स्थानीय हौसिन्छन् । तर, २७ वर्षदेखि यसको चर्चामात्रै भइरहेको छ ।

नौमुरे बहुउद्देश्यीय फरियोजना : अध्ययनमै पाँच वर्ष

कामले गति लिएको छैन । सरकारले तीन वर्षपहिले २० करोड रुपैयाँ विनियोजन गरेपछि यसको सम्भाव्यता अध्ययन भइरहेको छ ।

नौमुरे आयोजना बन्छ भन्दाभन्दै वर्षौं बितेको सरुमारानी–१, झिलिबाङका हेमबहादुर पल्लीले बताए । केन्द्रबाट प्यूठान आउने सबै पार्टीका नेताले निर्वाचनमा नौमुरे बनाउँछौं भनेर भोट माग्ने गरेको उनले सुनाए ।


नेताले चुनाव जितेपछि नौमुरेलाई बिर्सने गरेको उनको गुनासो छ । प्यूठानको बांगेसाल, हंसपुर, बरौला र अर्घाखाँचीका जाबुने, जलुके, जुकेना लगायत क्षेत्रका स्थानीयले निर्माणमा भएको ढिलाइका कारण नौमुरे परियोजना बन्दैन कि भनेर चिन्ता गर्न थालेको पूर्वसांसद धनबहादुर रायमाझीले बताए । नौमुरे परियोजना २७ वर्षदेखि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भइरहेको उनले बताए । संसद्मा धेरैपटक कुरा उठाएपछि यसको अध्ययनका लागि बजेट विनियोजन भएको रायमाझीको दाबी छ ।


नेपालका दुई र स्पेनको एक कम्पनीमार्फत नौमुरेको ‘फिजिबिलिटी’ अध्ययन भइरहेको नेपाल विद्युत् विकास विभागले जनाएको छ । कम्पनीलाई अध्ययन सकेर प्रतिवेदन बुझाउन अझै दुई वर्ष लाग्ने नौमुरे हेर्ने विभागका डिभिजनल इन्जिनियर राजकुमार श्रेष्ठले बताए । चुरेको वनमा काम गर्नुपर्ने भएकाले काममा ढिलाइ भइरहेको उनले बताए । ‘कम्पनीहरूले तीन ठाउँमा डिप गरेर हेरिसकेका छन्,’ उनले भने, ‘रुख काटेर गर्नुपर्ने काम वन मन्त्रालयबाट रोकिएकाले ढिलाइ भइरहेको छ ।’


पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गएका बेला नौमुरे उपहारस्वरुप भारतले बनाइदिने आश्वासन दिएको थियो । त्यसपछि नौमुरे योजना बन्ने भन्दै स्थानीय हौसिएका थिए । विद्युत् विकास विभागमा नौमुरे बहुउदेश्यीय परियोजनाको प्रारम्भिक प्रतिवेदन पेस भएपछि फिजिबिलिटीको काम अगाडि बढेको थियो । प्रारम्भिक प्रतिवेदन अनुसार नौमुरे आयोजना निकै सस्तो र बहुउपयोगी परियोजना रुपमा हेरिएको छ ।


नौमुरेमा १ सय ६० मिटर उचाइको बाँध बाँधेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । साबिकको प्यूठानको हंसपुर र अर्घाखाँचीको जलुकेमा पर्ने परियोजनाले प्यूठानको चकचकेसम्मको क्षेत्रलाई जलाशययुक्त बनाउने योजना छ । परियोजनाबाट छिमेकी जिल्ला कपिलवस्तु क्षेत्रको ४० हजार हेक्टर क्षेत्रफलको सुक्खा जमिन र प्यूठानको बांगेसाल क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको थियो । स्थानीयका अनुसार ०४४ देखि ०४६ सम्म प्राविधिक टोलीले हेलिकप्टरबाट नौमुरेमा परियोजनाको प्रारम्भिक सर्वे गरेको थियो । ०४९ सालदेखि विधिवत् रुपमा यसको काम सुरु भएको हो । प्यूठानबाट बग्ने झिमरुक र रोल्पा हुँदै आएको माडी नदीको संगमस्थल ऐरावतीबाट दुई किलोमिटर तल नौमुरे परियोजना स्थल पर्छ ।


दुवैतर्फ कडा चट्टान र साँघुरो गल्छी भएकाले बाँध बाँध्न सजिलो छ । सन् २००७ मा परियोजनाबाट विद्युत् उत्पादनका लागि ३२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको थियो । सुक्खायाममा समेत २ सय ४५ मेगावाट विद्युत् निकाल्न्न सकिने अध्ययन टोलीले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । रोल्पाबाट बग्दै आउने माडी नदी र प्युठानबाट आउने झिमरुक नदीको पानी मिसिएर बनेको राप्तीको पानीबाट नौमुरे परियोजना निर्माण गर्ने भनिएको हो ।


माडीपछि अन्योल


जलाशययुक्त बहुउद्देश्यीय ‘नौमुरे’ जलविद्युत् परियोजना बन्नेमा फेरि अन्योल भएको छ । उक्त परियोजनाको प्रारम्भिक प्रतिवेदनपछि फिजिबिलिटी अध्ययनको काम भइरहेको छ । माडी नदीमा अर्को परियोजना निर्माण गर्न थालिएकाले नौमुरे अन्योलमा परेको हो । माडी जलाशययुक्त जलविद्युत् आयोजनाको रोल्पामा सम्पर्क कार्यालय स्थापना गरी विस्तृत प्रतिवेदन (डीपीआर) तयार गर्न थालिएको छ । माडीको पानीलाई डाइभर्सन गरी दाङ लगेर सिंचाइ गर्न योजनासमेत अगाडि सारिएपछि नौमुरे अन्योलमा परेको हो । १ सय ५६ मेगावाट क्षमताको माडी आयोजना बनाउने भन्दै गत साता ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले रोल्पाको माडीचौरमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।


माडी आयोजना चीनको पावर चाइना र नेपाल सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लगानीमा निर्माण हुने भनिएको छ । जलाशय बनाएर माडीमै खसाले नौमुरेलाई राम्रो हुने तर डाइभर्सन गरी पानी दाङ लैजाँदा नौमुरे अन्योलमा पर्ने विद्युत् विकास विभागका डिभिजनल इन्जिनियर राजकुमार श्रेष्ठले बताए । नौमुरे परियोजना पहिल्यैदेखि अध्ययन भइरहेकाले यसलाई नबिगार्ने गरी माडी आयोजना बनाउन विद्युत् विकास विभागबाट ऊर्जा मन्त्रालयलाई सुझाव दिइएको श्रेष्ठले बताए ।


हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीयल)का कार्यकारी अधिकृत छविराज पोखरेलले माडी जलाशययुक्त आयोजनाले नौमुरेलाई कुनै असर नपर्ने दाबी गरे । ‘ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग र सिंचाइ मन्त्रालयको अध्ययनपछि नौमुरे एवं माडी दुवै आयोजना सम्भव भएकाले अगाडि बढाउन थालिएको हो,’ उनले भने ।

प्रकाशित : माघ १३, २०७६ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?