कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दुःखीलाई बजारमा झनै दुःख’

सन्जु पौडेल

रुपन्देही — ‘आयो पानी नौ डाँडा काटेर, 
आउँछ आँसु कान्छी हृदय फाटेर ।’

‘दुःखीलाई बजारमा झनै दुःख’

सडकपेटीमा बसेर र्‍याइँर्‍याइँ सारंगी रेटिरहेका छन्, ७८ वर्षीय देवबहादुर गन्धर्व । वरिपरि जति दर्शक बढ्छन्, सारंगीको धुन उति नै चर्किंदै जान्छ । गीत सुनेर केहीले पैसा दिए, केही भने एकाग्र भएर सुनिरहे । ‘वृद्धभत्ता जम्मा गरेर आएको हुँ,’ तिलोत्तमा नगरपालिकाको व्यस्त मणिग्राम चोकमा सकी–नसकी भाका हालिरहेका उनले भने, ‘गीत गाएको पैसाले ओखती खर्च पुग्छ ।’


उनी गुल्मीको चन्द्रकोट गाउँपालिका शान्तिपुरबाट उपचार गर्न बुटवल झरेका रहेछन् । ‘चोकमा गाएर छोराको डेरामा फर्किन्छु । ऊ काममा जाने भएकाले मचाहिँ दिनभर गीत गाउँदै हिँड्छु,’ उनले भने । सारंगीका साथै उनी बाँसुरीमा पनि विरहका धुन भर्छन् । उनलाई खुट्टा दुख्ने, शरीर दुख्ने र सास फुल्ने समस्या छ । उपचार गराए पनि रिपोर्ट नआएकाले केही दिन यतै सारंगी बजाएर हिँड्ने योजना छ । ‘दुःखीलाई बजारमा झनै दुःख,’ उनले भने, ‘सकी–नसकी घाँटी फुलाएर गीत गाउँदा र जाडोमा सारंगी रेट्दा अप्ठेरो हुन्छ । माघको सिरेटोमा घाम लाग्दा त ठिकै मान्छु, होइन भने त हातखुट्टै काँप्छन् । बाँचुन्जेल कलाको संरक्षण गर्नुपर्छ भन्ने सोचेर बजाउने गरेको छु ।’ जसोतसो औषधि गरेर गाउँमै बस्ने उनको धोको छ ।

बाउबाजेकै बिँडो थाम्दै सारंगी रेट्‍न सुरु गरेका थिए उनले । गाउँ–गाउँ गाउँदै हिँडे । श्रीमतीसँगै गाउँदै/बजाउँदै हिँडेको उनलाई सम्झना छ । गाउँदागाउँदै बिरामी भएर २९ वर्षअघि श्रीमतीको निधन भयो । ‘बूढाबूढी भएर गाउँदा रमाइलो मान्थे,’ उनले सम्झिए, ‘चामल, दाल र पैसा दिने गर्थे ।’ चप्पल पड्काउँदै, बिहानदेखि साँझसम्म गाउँदै हिँड्दा घाँटी सुके पनि रमाइलो हुने गरेको उनको अनुभव छ । ‘एक सन्तान भएकाले पढाउन, हुर्काउन कठिन भएन,’ उनले भने, ‘कतिपय ठाउँमा टन्न खान दिए पैसा नै माग्दिनँ ।’ बाबु–आमाले नपढाए पनि गाउन सिकाइदिएकाले पेट पाल्न समस्या नभएको उनको भनाइ छ । ‘अब त बुढेसकाल लाग्यो । सीप भए पनि आँखा कमजोर भए,’ उनले पीडा पोखे ।


गाउँमै डोको बुनेर, मजदुरी गरेर गुजारा चलाइरहेका उनी बिरामी परेपछि उपचार गर्न बुटवल झरेका हुन् । ‘श्रीमती बितेपछि नौ वर्ष छोराबुहारीसँगै बसें,’ उनले सुनाए, ‘२० वर्षदेखि एक्लै छु ।’ घर छाडेपछि छोराबुहारीले खोजी नगरेको प्रति उनी चिन्तित छन् ।

गीतमै उनी भन्छन् :

‘सानो छँदा माया दिई हुर्काएको छोरो

ठूलो भयो टाढा गयो, पर्नु पीर परो ।’

प्रकाशित : माघ ८, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?