कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जगदीशपुरमा थपिए चरा

गत वर्षको तुलनामा ५ हजार ८ सय २७ जलपक्षी बढी भेटिए
मनोज पौडेल

(कपिलवस्तु) — यहाँस्थित जगदीशपुर तालमा गत वर्षको तुलनामा जलपंक्षीको संख्या बढेको पाइएको छ । केही दिनअघि गरिएको गणनामा गत वर्षको तुलनामा सन् २०२० मा ५ हजार ८ सय २७ पंक्षी बढी पाइएका हुन् । विश्व सीमसारमा सूचीकृत तालमा यस वर्ष २० हजार ८ सय ७ चरा गणना गरिएको छ । गत वर्ष १४ हजार ९ सय ८० पंक्षी फेला परेका थिए ।

जगदीशपुरमा थपिए चरा

मध्य हिउँदमा पानी र सीमसारमा पाइने चराको अवस्था पत्ता लगाएर संरक्षणमा सहयोग पुर्‍याउन गणना गरिएको हो । वेटल्यान्ड इन्टरनेसनलको संयोजन र हिमाली प्रकृतिको समन्वयमा चरा गणना भएको हो । ‘नेपालमा एकैसाथ करिब ६० ठाउँमा गणना हुन्छ,’ वरिष्ठ चराविद् हेमसागर बरालले भने, ‘त्यसमध्ये जगदीशपुरमा सबैभन्दा बढी पाइएका हुन् ।’


मुलुकभर ५० देखि ५५ हजार चरा गणना हुँदै आएका छन् । यस तालमा एकै प्रजातिका मरुल ५ हजार १ सय ५० भेटिएका छन् । सिलसिले हाँस १ हजार ८ सय ६० र बिजुला गैरी १ हजार ७ सय ५१ गणना गरिएको छ । सुनजुरे हाँस १ हजार २ सय १९ भेटिए । खडखडे १ हजार ७ सय ४० र सिन्दुरे हाँस ८ सय २६ फेला परेका छन् ।


सुइरोपुछ्रे, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, नादुन, बगाले सिमकुखुरा, जलेवा, सुइरोठुडे, मालक र हरियो टाउके हाँस लगायत गणना गरिएको छ । विश्वमै दुर्लभ मानिएको श्वेतआँखीभौं यस तालमा २२ वटा फेला परेका छन् । गत वर्षभन्दा १२ प्रजातिका चरा कम गणना गरिएको थियो । गत वर्ष ५३ प्रजातिका चरा गणना गरिएकामा यस वर्ष ४१ प्रजातिका मात्र गणना गरियो । नेचर गाइड धीरज चौधरीको नेतृत्वमा गणना गरिएको हो । क्षेत्र–क्षेत्र छुट्याएर चरा गणना गरिएको थियो । उत्तर–पूर्वी छेउबाट सुरु गरिएको गणना दक्षिण–पश्चिम पुगेर सकिएको थियो । ट्राइपोर्टमा दूरबिन राखेर चरा गणना गरिएको हो । ‘एउटै फ्लगमा तीन हजार चरा गणना हुनु निकै राम्रो वासस्थान भएको मानिन्छ,’ चौधरीले भने, ‘यस्तो संरक्षण क्षेत्र जोगाई राख्नुपर्छ ।’


विश्वमै दुर्लभ मानिएका चार प्रजातिका चरा यहाँ भेटिएका छन् । सारस, भुँडीफोर गरुड, श्वेतआँखीभौं र कैलो टाउके हाँस सयभन्दा बढी रेकर्ड गरिएको छ । ताल सरसफाइका लागि गत वर्ष पानी सुकाइँदा धेरै चरा बसाइँ सरेर अन्यत्र गएको वरिष्ठ चराविद् बरालले बताए । यस वर्ष पानी धेरै पर्दा सुडसुडिया प्रजातिका चरा नदेखिएको उनले बताए । ‘जलवायु परिवर्तन र आहारविहारले अन्यत्र समस्या भए पनि यहाँ चरा बढ्नु सुखद हो,’ चराविद् सोम जीसीले भने, ‘तालको संरक्षण गर्न सकेमा यो मुलुकमै चरा अवलोकनको राम्रो गन्तव्य बन्न सक्छ ।’

प्रकाशित : माघ ७, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?