कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ को नाम र राजधानी टुंग्याउन दबाब

सन्जु पौडेल

रुपन्देही — प्रदेश ३ ले आइतबार आफ्नो नाम र राजधानीको टुंगो लगाएपछि प्रदेश ५ पनि दबाबमा छ । दुईतिहाइ समर्थनसहित नाम वाग्मती र राजधानी हेटौंडा तोकिएपछि प्रदेश ५ मा पनि त्यसको असर देखिएको छ । 

प्रदेश ५ को नाम र राजधानी टुंग्याउन दबाब

एक साताअघिसम्म प्रदेश सरकारका मन्त्री र विभिन्न दलका नेताले प्रदेश ३ ले कायम गर्ने नजिरलाई आधार बनाएर प्रदेश ५ को नामकरण र राजधानी टुंग्याउने बताउँदै आएका थिए । यहाँका दल, नागरिक समाज, संघसंस्था र सर्वसाधारणले नाम र राजधानी टुंग्याउन दबाब दिइरहेका छन् ।


प्रदेश सरकारले गठन गरेको राजधानी र नामकरणका लागि सुझाव संकलन समितिले पनि एक महिनाअघि आफ्नो प्रतिवेदन ब्झुाइसकेको छ । समितिले सर्वसम्मतिबाट प्रदेशको नाम लुम्बिनी राख्न सुझाव दिएको छ । राजधानीका विषयमा विकल्पसहितको प्रतिवेदन बुझाएको हो । त्यसैले आगामी माघ ५ गतेबाट सुरु हुने हिउँदे अधिवेशनले प्रदेशको नाम र राजधानी टुंगो लगाउने अपेक्षा बढेको छ । राजधानी र नाम टुंगो नलाग्दा नागरिकले सरकारप्रति गुनासो गरिरहेका छन् । प्रदेशसभा सदस्यले छिट्टै टुंगो लाग्छ भन्ने जवाफ दिन्छन् । तर, उनीहरू ढुक्कसँग यथार्थ कुरा बताउन सकिरहेका छैनन् ।


नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमीश्वर ढकालले आगामी हिउँदे अधिवेशनले राजधानी र प्रदेशको नाम टुंग्याउने बताए । ‘सरकारले प्रदेशको नामकरण र केन्द्र निर्धारणका लागि गठन गरेको विशेष समितिले प्रतिवेदन बुझाएको छ,’ उनले भने, ‘सोही अधिवेशनबाट प्रतिवेदन अनुरुप नै स्थायी केन्द्र तोकिनेछ ।’ उक्त समितिले १२ जिल्लामा पुगेर स्थानीय तह, राजनीतिक दल, संघसंस्था, बुद्धिजीवी र नागरिकबाट संकलन गरेको निष्कर्षका आधारमा छलफल गरेर टुंगो लगाइने उनले बताए ।

‘प्रतिवेदन सार्वजनिक भएपछि राम्रा र नराम्रा पक्षको विषयमा अध्ययन गरेर सबै जनतालाई अपनत्व महसुस गर्ने कुरालाई ध्यान दिइनेछ,’ रिपोटर्स क्लबले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यसै विषयमा छलफल गर्न माघ ४ गते नेकपा संसदीय दलको बैठक आयोजना गरिएको छ ।’ यो वा त्यो कोणबाट यस विषयमा गम्भिर बहस भएकाले भावी सन्ततीले गाली नगर्ने गरी राजधानी तोक्न अग्रसर भएको उनले बताए ।

सुझाव संकलन समितिकी सदस्य तथा प्रदेश सभामा कांग्रेस सचेतक निर्मला क्षत्रीले प्रतिवेदन बुझाइसकेको अवस्थमा छिट्टै राजधानी र नामको टुंगो लाग्ने बताइन् । यहाँका १२ जिल्लाबाहेक छिमेकी राष्ट्र भारतको हरियाणा प्रदेशकोसमेत अध्ययन भ्रमण गरेर समितिले प्रतिवेदन तयार गरेको उनले बताइन् । ‘स्थायी संरचना भत्काउने गरी राजधानी तोकिँदैन,’ उनले भनिन्, ‘प्रदेशका लागि आवश्यक संरचना निर्माण भइसकेको स्थान नबिग्रने गरी राजधानी तोक्न फेरि पनि मेरो सुझाव छ ।’ राजधानी तोक्ने विषय दलभन्दा माथिको भएकाले सोहीअनुरुप समितिका सदस्यले तथ्यांक संकलन गरी प्रतिवेदन बुझाएको उनले जनाइन् । समितिको प्रतिवेदनमा विश्वास नगरी पुनः अर्को समिति गठन गरेर पठाएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसरी समय लम्ब्याउन नहुने बताइन् ।


कांग्रेस प्रदेशको आर्थिक बचततर्फ केन्द्रित रहेकाले भएको संरचना नोक्सान गरी अन्यत्र राजधानी बनाउने विषयमा नरहेको उनले बताइन् । समाजवादी पार्टीका सचेतक सन्तोष पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनी नै प्रदेशको नाम हुने बताए । लुम्बिनी नाम राख्न अन्य प्रदेश पनि लालायित हुने अवस्थामा आफ्नै प्रदेश त्यसबाट चुक्न नहुने उनले बताए । ‘अस्थायी राजधानी नै स्थायी राजधानीका लागि उपयुक्त छ,’ उनले भने, ‘यसको निर्णय कुनै पार्टीले नभई प्रदेश सभामा निर्वाचित सदस्यले गर्नेछन् ।’ सहज ढंगले तोक्न सकिने केन्द्र र प्रदेशको नाममा विवाद र अन्य दलगत छलफल आवश्यक नरहेको उनले जिकिर गरे ।

जनताले विश्वास गरेर पठाएकाले राजधानीको विषय टुंगो लगाउनेतर्फ अल्झिरहन नहुने उनले बताए । भौतिक पूर्वाधार र अथाह आर्थिक विकासको सम्भावना बोकेको रुपन्देही नै राजधानी हुने उनले दोहोर्‍याए । राजधानीको विषय स्थानको आलोपालो गर्ने सवाल नभएकाले स्थायी सदरमुकाम तोक्न प्रदेश सभाले ढिलाइ गर्न नहुने उनले बताए ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार स्थापना दिवस मनाउने बेलासम्म स्थायी राजधानी र प्रदेशको नाम टुङ्गो लाग्ने बताए । ‘अब प्रदेश ३ कै नजिक स्थापित हुनेछ,’ उनले भने, ‘यहाँ पनि त्यही नै हुन्छ ।’ हिउँदे अधिवेशनको शुरुमै प्रदेश सभामा समितिको प्रतिवेदन पेश हुने उनले बताए ।

प्रकाशित : माघ २, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?