कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ को 'नाम' र 'राजधानी' हिउँदे अधिवेशनमै टुंगो लगाउने तयारी

सन्जु पौडेल

रुपन्देही — माघ ५ गतेबाट सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनले प्रदेशको नाम र राजधानी टुंगो लगाउने सत्तरुढ दलका नेताले दाबी गरेका छन् । नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले आगामी हिउँदे अधिवेशनले राजधानी र प्रदेशको नाम तय गर्ने दाबी गरे । 

प्रदेश ५ को 'नाम' र 'राजधानी' हिउँदे अधिवेशनमै टुंगो लगाउने तयारी

‘सरकारले प्रदेशको नामाकरण र केन्द्र निर्धारणका लागि गठन गरेको विशेष समितिले प्रतिवेदन बुझाएको छ,’ उनले भने, ‘सोही अधिवेशनबाट प्रतिवेदन अनुरुप नै स्थायी केन्द्र तोकिने छ ।’ उक्त समितिले १२ जिल्लामा पुगेर स्थानीय तह, राजनीतिक दल, संघसंस्था, बुद्धिजिवी र नागरिकबाट संकलन गरेको निष्कर्षका आधारमा छलफल गरेर टुंगो लगाइने उनले बताए । ‘प्रतिवेदन सार्वजनिक भएपछि राम्रा र नराम्रा पक्षको विषयमा अध्ययन गरेर सबै जनतालाई अपनत्व महसुस गर्ने कुरालाई ध्यान दिइने छ,’ रिपोर्टस क्लब प्रदेशले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यसै विषयमा छलफल गर्न माघ ४ गते नेकपाको संसदीय दलको बैठक आयोजना गरिएको छ । ’


सुझाव संकलन समितिकी सदस्य तथा कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रतिवेदन बुझाइसकेको अवस्थमा छिट्टै राजधानी र नामको टुंगो लाग्ने बताइन् । यहाँका १२ जिल्ला बाहेक छिमेकी राष्ट्र भारतको हरियाणा प्रदेशको समेत अध्ययन भ्रमण गरेर समितिले प्रतिवेदन तयार गरेको उनले बताइन ।


‘स्थायी संरचना भत्काउने गरी राजधानी तोकिँदैन,’ उनले भनिन, ‘प्रदेशका लागि आवश्यक संरचना निर्माण भइसकेको स्थान नबिग्रने गरी राजधानी तोक्न फेरि पनि मेरो सुझाव छ ।’ राजधानी तोक्ने विषय दलभन्दा माथिको भएकाले सोही अनुरुप समितीका सदस्यले तथ्यांक संकलन गरी प्रतिवेदन बुझाएको उनले जनाइन् ।


समितिको प्रतिवेदनमा विश्वास नगरी पुनःअर्को समिति गठन गरेर पठाएकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसरी समय लम्ब्याउन नहुने बताइन् । कांग्रेस प्रदेशको आर्थिक बचततर्फ केन्द्रीत रहेकाले भएको संरचना नोक्सान गरी अन्यत्र राजधानी बनाउने विषयमा नरहेको उनले बताइन् ।


समाजवादी पार्टीका सचेतक सन्तोष पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनी नै प्रदेशको नाम हुने बताए । लुम्बिनी नाम राख्न अन्य प्रदेश पनि लालायित हुने अवस्थामा आफ्नै प्रदेश त्यसबाट चुक्न नहुने बताए । ‘अस्थायी राजधानी नै स्थायी राजधानीका लागि उपयुक्त छ,’ उनले भने, ‘यसको निर्णय कुनै पार्टीले नभई प्रदेश सभामा निर्वाचित सदस्यले गर्नेछन् ।’ सहज ढंगले तोक्न सकिने केन्द्र र प्रदेशको नाममा विवाद र अन्य दलगत छलफल आवश्यक नरहेको उनले जिकिर गरे ।


जनताले विश्वास गरेर पठाएकाले राजधानीको विषय टुंगो लगाउनेतर्फ पाइला अल्झिरहन नहुने बताए । भौतिक पूर्वाधार र अथाह आर्थिक विकासको सम्भावना बोकेको रुपन्देही नै राजधानी हुने उनले दोहोर्याए । राजधानीको विषय स्थानको आलोपाले गर्ने सवाल नभएकाले स्थायी सदरमुकाम तोक्न प्रदेशसभाले ढिलाई गर्न नहुने उनले बताए ।

प्रकाशित : पुस २९, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?