भारतीय वनमा नजान आग्रह

बर्दिया — स्थानीय प्रशासनले सीमावर्ती बासिन्दालाई समन्वयविना घाँसदाउराका लागि भारतीय जंगलमा प्रवेश नगर्न आग्रह गरेको छ । घाँसदाउरा लिन र पशुचौपाया चराउन जाँदा यहाँका सर्वसाधारण हराउने र दुर्व्यवहार खेप्नपर्ने भन्दै प्रशासनले यस्तो आग्रह गरेको हो । मधुवन नगरपालिकासँग जोडिएको भारतीय जंगलमा गत मंगलबार बाख्रा चराउन गएका चार जना हराएका थिए ।

भारतीय वनमा नजान आग्रह

प्रहरीका अनुसार हराएका मधुवन–७ की सुमित्रा सिंह, खन्तरी बस्नेत, धीरज कर्ण र तेजकुमारी केसीलाई सीमाभन्दा ६ किलोमिटर टाढाबाट उद्धार गरिएको थियो ।


तर, स्थानीयले प्रशासनको आग्रह अटेर गर्दै आएका छन् । उनीहरू मनोमानी रूपमा भारतीय वनमा जाने गरेका छन् । वस्तुभाउ चराउन र घाँसदाउराका लागि जाँदा दुर्व्यवहार खेप्नुका साथै भारतीय वन रक्षकबाट पक्राउ पर्ने जोखिम छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भारतीय भूमिमा प्रवेश गर्दा उतैको कानुन लाग्ने भएकाले समन्वय गरेर मात्रै सीमापारि जान आग्रह गरेको बताए । ‘छिमेकी हौं तर मनोमानी गर्न पाइँदैन । कानुन लाग्छ,’ उनले भने, ‘त्यसैले समन्वय र सुरक्षा अवस्था विचार गरेर मात्र भारतीय जंगलमा प्रवेश गर्न आग्रह गरेका छौं ।’


पूर्व शान्तिपुरदेखि पश्चिम राजापुरसम्म जिल्लाको ८० किमि सीमा भारतसित जोडिएको छ । सीमा क्षेत्रपारि जंगल छ भने वारि बस्ती । सीमाका स्थानीय भारतीय जंगलमा निर्भर छन् । गाईवस्तु चराउन र घाँसदाउरा लिन दैनिक वन जाने गरेका हुन् । त्यसबापत भारतीय वनरक्षकलाई खाद्यान्न बुझाउने गरेका छन् । एउटा घरबाट वार्षिक २० किलो धान र चामल दिन्छन् । प्रत्येक सिजनमा धान बुझाएपछि घाँसदाउराको बाटो खुल्छ । कतिपयले घाँसदाउरा खोज्न जाँदा एक/दुई किलो चामल र तरकारी उपहार लैजाने गरेका छन् । खाद्यान्न पाएपछि सहजै दाउरा दिन्छन् । दाउरा पाउने लोभमा स्थानीयले भारतीय जंगलमा श्रमदान समेत गर्दै आएका छन् । वन क्षेत्रका सडक पटान र सरसफाइका लागि श्रमदान गराइन्छ ।


बढैयाताल गाउँपालिका, गुलरिया, मधुवन र राजापुर नगरपालिका सीमासँग जोडिएका छन् । मधुवन–३ का वडाध्यक्ष नारायण मल्लले घाँसदाउराका लागि स्थानीय भारतीय जंगल जाने गरेको बताए । ‘यसरी जानु स्थानीयको बाध्यता हो,’ उनले भने, ‘बस्ती विस्तार र बढ्दो जनसंख्याले सीमावारिको जंगल सकिएको छ, जसका कारण स्थानीयलाई घाँसदाउरा र चरिचरनका लागि सीमापारि जानु परेको छ ।’ भारतीय सुरक्षाकर्मीसँग स्थानीयको विवाद हुने गरेको छ । भारतले सीमाको जंगल जोगाएर राखेको छ । ठाउँठाउँमा वनरक्षक खटाइएका छन् । त्यसैले सीमापारिको जंगल दिन प्रतिदिन घना बन्दै गएको छ । नेपालतर्फको जंगल भने खेतबारीमा परिणत भइसकेका छन् ।


प्रकाशित : पुस २६, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?