घरबाहिर निस्कनै कठिन

हरि गौतम

(रुकुम पूर्व) — निरन्तर वर्षा र हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । जिल्लाका अधिकांश बस्ती हिउँले सेताम्य छन् । सोमबार साँझदेखि वर्षा र हिमपात भइरहेको छ । त्यसले सर्वसाधारणको दैनिकी असहज बनेको हो । निरन्तर पानी परेपछि हिउँ पग्लिन पाएको छैन, थपिँदै छ । यसले मानिससँगै वस्तुभाउ पनि प्रभावित भएका छन् ।

घरबाहिर निस्कनै कठिन

‘यसपटक लामो वर्षा र हिमपात भयो,’ पुथाउत्तरगंगा गाउँपालिका–२ का बलमान कामीले भने, ‘हामी घरबाहिर निस्कन सकेका छैनौं, बस्तुभाउ गोठमै छन् ।’ विगतका वर्षभन्दा फरक तरिकाले वर्षा र हिमपात भएकाले समस्या भएको उनले बताए । पहिले एक दिन र एक रातमात्रै पानी वा हिउँ पर्थ्यो । यसपटक एकसाथ निरन्तर वर्षा र हिमपात भएका कारण जनजीवन कष्टपूर्ण भइरहेको छ । घाम लाग्न नपाएपछि हिउँ चुलिँदै गएको र पानी जमेको पुथाउत्तरगंगा–५ स्थित स्वास्थ्य चौकीका इन्चार्ज शान्तबहादुर बोहराले बताए । ‘अत्यधिक चिसो छ,’ उनले भने, ‘पाइपमा समेत पानी जमेर समस्या भइरहेको छ ।’ चिसोमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन, हिउँमा नखेल्न, न्याना लुगा लाउन र तातो तथा झोलिलो पदार्थ खान अनुरोध गरिएको उनले बताए ।


जिल्लाका तीन पालिकाका ३१ वडामध्ये अधिकांशमा हिउँ परेको छ । तीन दिनदेखि बस्तुभाउ गोठभित्रै थुनिएका छन् । जंगलमा रहेका भेडीगोठाला चिसोका कारण समस्यामा छन् । गोठालाले भेडालाई ओडार र गोठभित्र राखेर आगो तापी दिन काटिरहेको सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले बताए । ‘गोठबाहिर बाक्लो हिउँ छ । निस्कनै सकिंदैन,’ उनले भने, ‘निरन्तर वर्षा र हिमपातका कारण भेडा चर्न पनि पाएका छैनन्, डाले घाँस काटेर दिन पनि सकिएको छैन ।’

प्रकाशित : पुस २५, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?