कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्पत्ति जति सेवामा

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका–१५ का ध्रुवकुमार श्रेष्ठले बुबाआमाको सम्झनामा समाजसेवा गर्ने योजना बनाए । घोराहीका प्रतिष्ठित व्यवसायी श्रेष्ठले कमाएको रकम व्यक्तिगत प्रयोजनमा मात्रै खर्च गर्न चाहेनन् । विभिन्न धार्मिक क्षेत्रमा पाटी, पौवा, धर्मशाला र मन्दिर बनाए । राप्तीकै चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र प्यूठानको स्वर्गद्वारी आश्रममा उनले पाँच वर्षअघि ८० लाख रुपैयाँ खर्चेर सयभन्दा बढी मानिस बस्न सक्ने धर्मशाला बनाइदिए । 

सम्पत्ति जति सेवामा

घोराही–५ धारपानीस्थित पाण्डवेश्वर मन्दिरमा तीन वर्षअघि ७५ लाख रुपैयाँको लगानीमा धर्मशाला बनाए । भान्साघरको अभाव भएपछि त्यो पनि निर्माण गरे । घोराहीको पुरानो गणेश मन्दिरलाई ६५ लाख रुपैयाँ खर्च गरेर पुनर्निर्माण गरे । घोराही–१४ झिंगौरास्थित स्वर्गद्वारी आश्रममा २५ लाख रुपैयाँको लगानीमा सन्त, महन्तहरू बस्ने तीनकोठे आवास गृह बनाइदिए । यी सबै काम गर्दा उनको २ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ‘मैले खासै हिसाबकिताब गरेको छैन । बुबाआमाको सम्झनामा केही काम गरौं भनेर लागेको हो,’ श्रेष्ठले भने, ‘बनाएका धर्मशाला र मन्दिरबाट धेरैले सेवा पाइरहेका छन् ।’ समाजसेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलिरहेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका–१२ रझेनाका ७८ वर्षीय नारायणप्रसाद गौतमलाई कुरा बुझ्ने भएदेखि नै वृद्धवृद्धाका लागि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । उनले पनि बुबाका नाममा शीतलपुरमा धर्मशाला बनाए । त्यतिले पनि चित्त बुझेन, बुबाआमाकै नाम रहने गरी वृद्धाश्रम निर्माण गर्न दुई बिघा जग्गा दान गरे । अहिले उक्त जग्गाको मूल्य चार करोड रुपैयाँभन्दा बढी पर्छ । दान गरेको जग्गामा वृद्धाश्रम बनेको छ । असहाय वृद्धवृद्धालाई राखेर स्याहार गर्न थालिएको छ । ‘बाआमाले जीवनभर दुःखकष्ट गरेर सन्तान हुर्काउँछन् । भविष्य बनाइदिन्छन् तर बुढेसकालमा स्याहार गर्ने कोही हुँदैन,’ उनले भने, ‘मैले समाजमा यस्ता धेरै घटना देखेपछि वृद्धवृद्धाको संरक्षण हुनुपर्छ भनेर जग्गा दान गरेको हुँ ।’


पर्याप्त जग्गाजमिन भएका गौतम परिवारको जग्गा सशस्त्र द्वन्द्वकालमा माओवादीले कब्जा गरी लामो समयसम्म फिर्ता भएको थिएन । शान्ति प्रक्रिया सुरु भइसकेपछि अरूको सबै कब्जा जग्गा फिर्ता हुँदा पनि गौतमको भएको थिएन । लामो प्रयासपछि मात्र उनले जग्गा उपभोग गर्न पाएका थिए । मृत्युपछि केही पनि लिएर नजाने भएकाले जीवित छँदै समाजका लागि सम्झनलायक काम गरेको श्रीमती शान्तिले बताइन् । ६९ वर्षीया शान्तिले भनिन्, ‘भएको केही सम्पत्ति सामाजिक काममा लगाउँदा मनलाई सन्तोष मिल्छ, अरूको भलाइ हुन्छ ।’


गौतम परिवारले दान गरेको जग्गाले वृद्धाश्रम सञ्चालन गर्न सहज भएको वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीले बताए । उनका अनुसार उक्त जग्गामा ३० लाख रुपैयाँ खर्च गरेर भवन निर्माण गरी वृद्धवृद्धालाई संरक्षण दिइएको छ ।


घोराहीकी सामाजिक अभियन्ता विमला योगीले घरेलु हिंसापीडित महिलाको सामूहिक घरबासका लागि जग्गा दान गरिन् । घोराही उपमहानगरपालिका–१३ दुधे सोतामा उनले दिएको चार कट्ठा जग्गामा घर निर्माण गरी पीडित महिलाले जीविकोपार्जनका विभिन्न

पेशा गरिरहेका छन् । उनीहरूको आश्रय स्थल नै त्यही भएको छ । कुखुरा, बाख्रापालन, तरकारी खेती र ऊनका कपडा बुन्ने सीप उनीहरूको जीवन निर्वाहको माध्यम बनेको छ । घरेलु हिंसापीडित महिलाको संरक्षणमा सहजता होस् भनेर जग्गा प्रदान गरेको जग्गादाता योगीले बताइन् ।


पीडित महिलाले त्यसलाई लैंगिक हिंसा पुनःस्थापना केन्द्र भनेर नामकरण गरेका छन् । ‘पीडित महिलालाई संरक्षण गर्ने र आर्थिक रूपमा स्वावलम्बी बनाउने उद्देश्यले जग्गा दिएको हुँ,’ उनले भनिन्, ‘पीडित महिला अलपत्र नपरून् र केही आय आर्जनका काम गरेर जीविका चलाउन सकून् भन्ने मेरो चाहना हो ।’


उक्त केन्द्रमा चार बच्चासहितका महिला र दुई बालिका बस्छन् । उनीहरूले होजियारी उद्योग र तयारी कपडा उद्योग सञ्चालन गरी १६ जनालाई स्वरोजगार बनाएका छन् । उनीहरूले एक वर्षमा सय जनालाई रोजगार दिने लक्ष्यका साथ काम गरिरहेको योगीले बताइन् । उक्त जग्गा ६० लाख मूल्य बराबरको छ । यसैगरी योगीले बराहक्षेत्र मावि सेवार वनगाउँलाई दुई कक्षाकोठा निर्माणका लागि १२ लाख नगद दान गरेकी छन् ।


योगीले दिएको जग्गामा विभिन्न कारणले हिंसामा परेका महिला आश्रय लिन आएको उक्त घरमा बस्दै आएकी तुलसीपुरकी दीपा बस्नेतले बताइन् । ‘यो घरमा कुनै पनि पीडित महिला जतिबेला पनि आउन सक्छन् । यहाँ आएपछि आफ्नो चाहना अनुसारका काम गरेर जीवन बचाउन सकिन्छ,’ उनले भनिन्, ‘यो पीडितहरूकै घर हो । कोही नभएका बेला आफूजस्तै दिदीबहिनीहरूसँग दुःख भुलाउँदै बस्ने ठाउँ भएको छ ।’

प्रकाशित : पुस २१, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?