कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीमहल क्षेत्रमा जथाभावी भौतिक संरचना 

माधव अर्याल

(पाल्पा) — रानीमहल क्षेत्रमा पछिल्लो समय जथाभावी भौतिक संरचना निर्माण भएका छन् । यहाँको जग्गा अतिक्रमण भएको समाचार बाहिरिएपछि पनि संरचना बनाउने र व्यवसाय गर्ने बढेका छन् । यसको रेखदेख गर्ने स्थानीय तह मौन छन् ।

रानीमहल क्षेत्रमा जथाभावी भौतिक संरचना 

जथाभावी संरचना बनाएर होटल, रिसोर्ट खुल्ने क्रम रोकिएको छैन । जनप्रतिनिधिले समेत जथाभावी निर्माण गर्न स्वीकृति दिएको स्थानीयको आरोप छ । पुरातत्त्व विभागले तानसेन नगरपालिकालाई अघिल्लो वर्ष रानीमहल हस्तान्तरण गरेपछि यससँग सम्बन्धित जग्गाका विषयमा खोजी हुन थालेको हो । कालीगण्डकी किनारमा रहेको यस महलका विषयमा राष्ट्रिय सतर्कता केन्द्रले समेत चासो दिएको छ ।


यहाँ जग्गा अतिक्रमणमा परेको उजुरीका आधारमा छानबिन सुरु भएको हो । तर, पछिल्लो समयमा जथाभावी संरचना निर्माणका काम भइरहेका छन् । ‘यसवरपरको जग्गाको तिरो बुझाउन आएपछि परिसरको जग्गा खोजी गर्दै जाँदा व्यक्तिका नाममा दर्ता भइसकेको पाइएको हो,’ तानसेन–१३ का वडाध्यक्ष टुकप्रसाद भटराईले भने । रानीमहलसम्म पुग्ने अहिलेको मोटरबाटो नै व्यक्तिका नाममा छ । तानसेनतर्फबाट जाँदा बगैंचातर्फबाट जान सकिन्छ । तर, तल्लो भेगबाट महलमा जान मिल्ने जग्गा नै छैन । यहाँ पहिला खोला बग्थ्यो । अहिले भने ०३२ अघिका नापी, नक्सा, लालपुर्जा ल्याएर व्यक्तिका नाममा भएको भेटिएको छ । यहाँ लालपुर्जाका आधारमा धमाधम भौतिक संरचना निर्माण हुन थालेका छन् । कतिपयले नयाँ लालपुर्जा देखाउने गरेका छन् । बगनासकाली र तानसेन नगरपालिकाको सिमानामा बराङ्दी खोला बग्थ्यो । त्यसैका आधारमा ०३२ मा नापी भएको हो । अहिले विशेष नापीमा पनि महलको जगसम्म नै बगनासकाली नापी भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनका अनुसार पुरातत्व विभागका साथै नगरपालिकासँगको समन्वयमा यसलाई आवश्यक जग्गाका विषयमा छलफल हुनेछ ।


तानसेन नगरपालिका–१३ का दुई जनप्रतिनिधिको विवादले टहरा निर्माणको काम भने रोकिएको छ । तर, खोला किनारको जग्गा मेरो हो भन्दै भौतिक संरचना बनिरहँदा जनप्रतिनिधि भने मौन छन् । स्थानीय तहको निर्वाचनपछि यस विषयमा चासो दिनुपर्ने जनप्रतिनिधिले नै हो । तर, यसमा खासै चासो दिएको नपाइएको यहाँका बासिन्दा ७६ वर्षीय तारासिंह थापाले बताए । ‘कसैलाई मतलब छैन,’ उनले भने, ‘जसले जे गरे पनि भएको छ ।’ थापाले ०३२ तिरबाट नै नदी किनारमा टहरा बनाएर झोलुङ्गे पुलको रेखदेख गर्दै आएका थिए ।


दुई वर्षअघि नै जग्गाको खोजी गर्न नगरपालिकाले अमिनलाई नापजाँचका लागि जिम्मा दिएको थियो । स्रोतका अनुसार रानीमहल क्षेत्रका मालपोत–नापीका कर्मचारीको मिलेमतोमा यहाँको जग्गा व्यक्तिका नाममा कायम गरिएको हो । केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा परेको देखाएको छ । नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट भएको पाइएको छ ।


तानसेन नगरपालिकाका अमिन शिव पराजुलीका अनुसार साबिकको बौघागुम्बा–सिट नम्बर ०९९–०३२३ र कित्ता नम्बर ४६५ को केही भाग र ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल क्षेत्र छ । महलको जग्गा नापी कार्यालयमा ५ रोपनी १२ आना २ दाम कायम रहेको देखिएको छ । यसको उत्तर साबिक खानीगाउँको सिट नम्बर ०९९–०३२४ को कित्ता नम्बर १६० मा १५ रोपनी १० आना १ पैसा २ दाम र कित्ता नम्बर १६६ मा १३ रोपनी ९ आना २ दाम देखिएको तानसेन नगरपालिकाले जनाएको छ । यही जग्गा ०६० मंसिर १६ मा कित्ताकाट भई दुई कित्ता बनाएको उनले बताए । कित्ता नम्बर ६६० मा ५ रोपनी ३ दाम र कित्ता नम्बर ६६१ मा ८ रोपनी ९ आना १ पैसा १ दाम कायम भएको मालपोत कार्यालयले जनाएको छ ।


०६२ माघ १८ मा पाल्पा दरबारमा भएको आगलागीबाट मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएपछि यहाँको जग्गा व्यक्तिका नाममा दर्ता हुन थालेको हो । रानीमहल वरपरको कतिपय जग्गा नै गायब गरिएको सतर्कता केन्द्रले जनाएको छ । मालपोत, नापी, साबिकको गाविससमेतको मिलेमतोमा रानीमहलको जग्गा खुम्च्याइएको सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।


साबिक खानीगाउँ गाविसको ०६३ असार ४ को सिफारिसमा रानीमहल क्षेत्रको कित्ता नम्बर ६६० को ५ रोपनी ३ दाम जग्गा खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठका नाममा दर्ता भएको छ । कित्ता नम्बर ६६१ को ८ रोपनी ९ आना १ पैसा १ दाम चक्रपाणि पाण्डे, थमबहादुर थापा, दुर्गाबहादुर थापाका नाममा दर्ता गरिएको देखिएको तानसेन नगरपालिकाले छुट्याएको कित्तामा समेत उल्लेख छ । तर, यो जग्गाको हकमा हालसम्म श्रेस्ता कायम गर्न सम्बन्धित पक्ष आएका छैनन् । कित्ता नम्बर ४६७ को १२ रोपनी ९ आना २ दाम जग्गा भने बोघागुम्बा रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठका नाममा दर्ता गरिएको छ । महलको दक्षिणमा रहेको कित्ता नम्बर ४६४ को ३० रोपनी १० आना ३ पैसा जंगल र कित्ता नम्बर ४६६ को १७ रोपनी १३ आना १ पैसा फूलबारी भनी दुवै कित्ता जग्गा सरकारी/सार्वजनिक देखिएको नगरपालिकाले जनाएको छ ।


फूलबारी, रानीमहलसम्म पुग्ने सिँढी नजिकसम्म व्यक्तिको जग्गा भएको भेटिएको छ । महलको जगसम्म बगनासकाली गाउँपालिकाको जग्गा नापेको छ । डिजिटल नापीले पनि उक्त जग्गा नापी गरिसकेको छ । बौघागुम्हाका लीलाराज भट्टराईले रानीमहल दरबार परिसरमा झण्डै ३० रोपनी जग्गा रहेको बताए ।


पश्चिम नेपालका कमाण्डर तत्कालीन जनरल खड्गशमशेर राणाले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विस १९५४ मा रानीमहल बनाउन लगाएका हुन् ।

प्रकाशित : पुस २०, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?