कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एउटै विद्यालयमा ४५ अक्षय कोष

अमृता अनमोल

बुटवल — गौतम रिजालले सानैमा बाबु गुमाए । पुर्ख्यौली घर ऋणमा डुब्यो । यही कारण पढाइ पूरा नगर्दै कतार हान्निए । कक्षा ५ मा पढ्दापढ्दै उनकी बहिनी सरिताले पनि संसार छोडिन् । गौतमलाई केही रकम बचाएर बुबा र बहिनीको सम्झनामा स्मृति कोष स्थापना गर्ने र त्यसले आफूजस्तै पढाइ पूरा गर्न नसक्ने अवस्थाका विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने सोच पलायो ।

भाइबैनी र आफूले पढेको बुटवलको कालिका मानवज्ञान माविमा गौतमले एक लाख रुपैयाँको ‘लोमाकान्त सरिता स्मृति अक्षय कोष’ खोले । उक्त रकमको ब्याजबाट विद्यालयले बर्सेनि कक्षा ९ र १० का दुई विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । ०६७ सालमा खोलेको अक्षय कोषबाट अहिलेसम्म १८ विद्यार्थी लाभान्वित भएका छन् ।


बुटवलका किरण र मञ्जु श्रेष्ठको ठूलो चाहना थियो– आफ्ना छोरालाई डाक्टर बनाउने । छोरा प्रज्ज्वल डाक्टर बने । तर, अल्पायुमै उनको निधन भयो । पुत्र शोकले सताइएका बाबुआमालाई छोराको स्मृतिमा केही गर्ने इच्छा जाग्यो । छोराले विद्यालय शिक्षा लिएको साबिकको कालिका माविले विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी अक्षय कोष खोल्न प्रस्ताव गर्‍यो । १ लाख २ हजार १ सय ११ रुपैयाँको ‘डा. प्रज्ज्वल श्रेष्ठ स्मृति अक्षय कोष’ खोलियो ।


यसको ब्याजबाट कक्षा ११ र १२ मा विज्ञान संकायअन्तर्गत जीवशास्त्र र भौतिकशास्त्रका एक/एक जना विद्यार्थी पुरस्कृत हुने गरेका छन् । ‘हामीले आफ्नो छोरा त गुमायौं । जेसुकै गरे पनि पाउन सक्दैनौं,’ किरणले भने, ‘आफ्नै छोराजस्ता जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्न पाउँदा छोराको सपना उनीहरूमै भूलेजस्तो लाग्छ ।’


बुटवलको कालिका माविमा जेहेन्दार र विपन्न विद्यार्थीको सहयोगका लागि खोलिएका यस्ता ४५ वटा कोष छन् । ५० हजारदेखि ११ लाख रुपैयाँसम्मका ती कोषमा ७६ लाख रुपैयाँ जम्मा छ । यसबाट आउने ब्याजबाट वार्षिक १ सय १५ विद्यार्थी लाभान्वित भइरहेका छन् । विद्यालयका शिक्षक युवराज कँडेलले अक्षय कोषकै कारण पढाइ छोड्ने अवस्थाका धेरै विद्यार्थीले पढाइ पूरा गर्न पाएको बताए । ‘विद्यालयका केही विद्यार्थी आफ्ना लागि कापी–कलम र पोसाकसमेत किन्न नसक्ने अवस्थाका छन्,’ उनले भने, ‘उनीहरूमध्येबाटै जेहेन्दारलाई छात्रवृत्ति दिएका छौं ।’


विपन्न विद्यार्थीको सहयोगका लागि भन्दै विद्यालयले ०६७ देखि अक्षय कोषको योजना ल्याएको हो । पूर्वगोर्खाली क्याप्टेनसमेत रहेका बुटवलका मनवीर गर्बुजा पुनको समाज सेवामा निकै रुचि थियो । जीवनभर संघसंस्था र व्यक्तिलाई सहयोग गरे । यिनै मनवीरको मृत्युपछि उनकी पत्नी माया गर्बुजाले आफ्नो नामसमेत जोडेर विद्यालयमा मनवीर माया गर्बुजा पुन अक्षय कोष खोलेकी छन् । १ लाख ५० हजार रुपैयाँको यस अक्षय कोषबाट अतिरिक्त क्रियाकलापमा प्रथम हुनेले पुरस्कार पाउँछन् । ‘किताबी ज्ञानले मात्रै विद्यार्थी जेहेन्दार बन्दैन । अतिरिक्त क्रियाकलापमा अघि हुनेले पनि राम्रो भविष्य बनाउन सक्छ,’ मायाले भनिन्, ‘त्यसैले अतिरिक्त क्रियाकलापमा पुरस्कृत गर्ने सोच आएको हो ।’


कालिका माविका भुपू अध्यक्ष शेरबहादुर गुरुङलाई समाजसेवा र साहित्यमा रुचि छ । यसैलाई उनले विद्यालयमा पोखेका छन् । जसअनुसार नौ वर्षअघि आफ्नै नामबाट २ लाख ११ हजार ३ सय ३ रुपैयाँको शेरबहादुर गुरुङ अक्षय कोष खोले । विद्यालयले प्रत्येक वर्ष जिल्लास्तरीय कविता प्रतियोगिता आयोजना गर्छ । यसको ब्याजबाट उत्कृष्ट विद्यार्थी पुरस्कृत हुने गरेका छन् । कक्षाकोठा भौतिक सामग्री मर्मतसम्भारका लागि सपना अक्षय कोष छ । व्यवसायी देवेन्द्र ध्वजूले एक लाख रकमको उक्त अक्षय कोष खोलेका हुन् ।


विद्यालयले विपन्न विद्यार्थीलाई आर्थिक सहयोग जुटाएर पढाइप्रति प्रोत्साहित गर्न अक्षय कोष अभियान थालेको जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले आफ्ना बुबाका नाममा अक्षय कोष खोलेका छन् । यसको ब्याजबाट शिक्षा समूह प्रथम हुने छात्रछात्रा र दीर्घसेवी शिक्षक पुरस्कृत हुने गरेका छन् । ‘शिक्षाबिनाको भविष्य अनिश्चित छ । आफ्नो थोरै सहयोगबाट पनि धेरै विद्यार्थी र केही शिक्षकलाई प्रोत्साहन मिल्दो रैछ,’ गलामीले भने, ‘यसैले आफू र आफूजस्ता सहयोगी हातलाई अक्षय कोषमा प्रेरित गरेको हुँ ।’ अक्षय कोष खोल्ने होडमा शिक्षकहरू पनि छन् ।


उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न भुपू शिक्षकहरूले १ लाख ३६ हजार रुपैयाँको अक्षय कोष खोलेका छन् । शिक्षक गिरीराज ज्ञवालीले पत्नीको नामसमेत थपेर ५० हजार १ सय ११ को गिरीराज–तुलसा अक्षय कोष खोलेका छन् । यसको ब्याजबाट प्रत्येक वर्ष उत्कृष्ट शिक्षक र दीर्घसेवी शिक्षक पुरस्कृत हुन्छन् । विसं २०१८ मा स्थापित यस विद्यालयमा दुई सेक्टरमा कक्षा १२ सम्म पढाइ हुन्छ । जसमा ६ हजार ५ सय ६७ विद्यार्थी अध्ययनरत छन् 

प्रकाशित : पुस १४, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?