कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

किताबै नदेखी परीक्षा

मधु शाही

बाँके — विद्यार्थीले वर्षभरि किताब पढेर परीक्षा दिन्छन् । बाँकेस्थित जयन्तु बाल सुधार गृहका बालबालिकाले भने किताबको मुखै नदेखी परीक्षा दिएका छन् । सरकारले हरेक नागरिकलाई शिक्षासम्बन्धी हक प्रत्याभूत गरेको छ ।

अझ राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक सुनिश्चित गरिएको छ । बाल सृधार गृहमा किताब–कापी उपलब्ध नहुँदा यहाँका बालबालिका सुनेकै भरमा परीक्षा दिन वाध्य भएका हुन् ।


उनीहरूसँग न किताब छ, न कापी । एक जना शिक्षकले मुखले सुनाएको भरमा परीक्षा दिने गरेका छन् । केही साताअघि मात्रै यही बाल सुधार गृहबाट तीन जना बालकले कक्षा ९ को अर्धवार्षिक परीक्षा दिए । उनीहरूले पाठ्यक्रमको अध्ययनबिना परीक्षा दिएको बताए । पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएपछि दोस्रो दिनमात्रै एक थान किताब शिक्षकले उपलब्ध गराएको काठमाडौं घर भएका १५ वर्षे एक बालकले सुनाए ।


कोहलपुर घर भएका अर्का बालक गत जेठमा बाल सुधार गृहमा आएका थिए । यहाँ आउनुअघि कक्षा ८ मा पढ्दै थिए । गृहमा दिनभरि बस्नुभन्दा स्कुल पढ्न उनलाई रुचि जाग्यो । तर, किताब नै उपलब्ध नभएपछि पढाइलाई निरन्तरता दिन कठिन भएको उनले बताए ।


रुकुम घर भएका एक बालक कक्षा ६ मा पढ्दा पढ्दै बाल सुधार गृहमा आए । दुई महिनादेखि उनी यहीं छन् । दिनभरि खाली बस्नुभन्दा स्कुल पढ्ने उनको चाहना बढ्यो । कक्षाकोठामा शिक्षकले जहिल्यै नाम लेख्नमात्रै सिकाउने गरेको उनले गुनासो गरे । ‘पाठ्यक्रमअनुसारको पढाइ छैन । ५, ६, ७ र ८ कक्षाका विद्यार्थीलाई एकै ठाउँ राखिएको छ,’ उनले भने, ‘एक जना शिक्षकले सबै विषय पढाउँछन् ।’


अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका मानवअधिकारवादी संघसंस्थाले बाल सुधार गृहको अनुगमन गरेर यहाँका बालबालिका शिक्षा, स्वास्थ्य, खोनपानीजस्ता मौलिक अधिकारबाट वञ्चित भएको दाबी गरेका छन् । इन्सेकका प्रदेश ५ का संयोजक भोला महतले बालसुधार गृह व्यवस्थित गराउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापनपत्र बुझाएको बताए । ‘शिक्षा, स्वास्थ्यजस्तो मौलिक हकबाट यहाँका बालबालिका वञ्चित छन्,’ उनले भने, ‘सुधार गृह कारागार होइन, बालबालिकाको मौलिक अधिकार जसरी पनि सुरक्षित गर्नुपर्छ ।’


डुडुवा गाउँपालिका–६ मा रहेको यस बाल सुधार गृहमा ७५ जनाको क्षमता छ । ११ देखि २२ वर्ष उमेर समूहका १ सय २६ बालक कोचिएर बस्न बाध्य छन् । जबरजस्ती करणी, लागूऔषध, अवैध हतियार, मानव बेचविखनलगायत अभियोग लागेर बालकहरू सुधार गृहमा आएका हुन् । ‘बेड नपुगेर भुइँमा कार्पेट ओछ्याएर सुताउनु परेको छ,’ सुधार गृहकी प्रमुख विमला काउचाले भनिन्, ‘क्षमताभन्दा बढी बालकलाई व्यवस्थापनको पनि उत्तिकै चुनौती छ ।’


डेढ वर्षदेखि सञ्चालनमा आएको गृहमा एउटा विद्यालय भवन छ । चार कोठे भवनमा झ्याल छैनन् । सरकारले अहिलेसम्म शिक्षक दरबन्दीको व्यवस्था गरेको छैन । विद्यालय व्यवस्थित नहुँदा यहाँका बालक पढाइ–लेखाइबाटै वञ्चित हुनु परेको छ ।


मानवअधिकार, बालअधिकार र सरोकारवालाले बाल सुधार गृह व्यवस्थित गर्न पटक–पटक जिल्ला प्रशासन कार्यालयसमक्ष अनुरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख कुमारबहादुर खड्काले अहिले दरबन्दीबिना नै एक जना शिक्षकलाई पढाउन पठाएको बताए । ‘जिल्ला शिक्षा समन्वय समितिलाई शिक्षक दरबन्दी व्यवस्था गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘अब छिट्टै विद्यालय सञ्चालनमा आउने आश्वासन मिलेको छ ।’

प्रकाशित : पुस १४, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?