कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन जोखिमपूर्ण यात्रा

नाकामा कडाइ भएपछि पछिल्ला दिनमा दलालले महिला तथा बालिकालाई भारतीय अस्पतालको ‘कागज’ तयार गरी बिरामीको बहानामा नाका पार गराउँदै 
रूपा गहतराज

नेपालगन्ज — गत बिहीबार नेपालगन्ज नाका हुँदै कुवेत जान केहीले नागरिकता र राहदानीबिनै सीमा पार गरे । यसरी जानेमध्येकी एक दैलेखकी दुर्गा शाह थिइन् । उनले फोनमा गरेको कुराकानी सुनेपछि मानव बेचबिखनविरुद्ध काम गर्ने साना हातहरू नामक संस्थाका कर्मचारीले शंका गरे ।

सोधखोज गर्दै जाँदा मोबाइलमा नक्कली राहदानी र नागरिकता भेटियो । उनले तीन महिलालाई भारत लैजाँदै गरेको खुलासा भयो । प्रहरीले उनलाई पक्राउ गरी तीन महिलाको पनि उद्धार गर्‍यो ।


विपन्न समुदायका ती महिलालाई अहिले परिवारको जिम्मा लगाइएको छ । नगन्य मात्रामा यहाँ दलाल पक्राउ पर्दै आएका छन् । सबै नाकामा नेपाल प्रहरी, मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था र भारतीय सुरक्षाकर्मीले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालिकाको निगरानी गर्छन् । नेपाली तथा भारतीय अधिकारीले मानव बेचबिखनविरुद्ध काम गरेपनि त्यसका बावजुद महिला तथा बालिकाले जोखिमपूर्ण यात्रा गर्ने क्रम रोकिएको छैन ।


दलालले कुनै न कुनै उपाय निकालेर उनीहरूलाई नाका पार गराइरहेका छन् । नाकामा कडाइ भएपछि पछिल्ला दिनमा दलालले महिला तथा बालिकालाई भारतीय अस्पतालको ‘कागज’ तयार गरी बिरामीको बहानामा नाका पार गराइरहेको शक्ति समूहका तालिम संयोजक एवं कानुनी सल्लाहकार दिलीप कोइरालाले बताए । ‘वैदेशिक रोजगारमा जाने या भारतमै जोखिमपूर्ण काममा लगाउन दलालले बिरामीको बहाना बनाएर अस्पतालको कागज बनाएर नाका पार गराउने गरेको पाइएको छ,’ उनले भने, ‘चेकजाँचको पालो परेको कागज देखाउँदै नाका पार गराएको समेत पाइयो ।’


शक्ति समूहले आयोजना गरेको ‘इन्डो–नेपाल स्टेकहोल्डर्स मिटिङ’ मा कञ्चनजंघा उद्धार केन्द्र, दार्जिलिङका प्रभात पाठकले दलालले नयाँनयाँ शैली प्रयोग गरिरहेको सुनाए । दलालले परिवारकै सदस्य भनेर नेपाली चेलीलाई एउटै घरमा राख्ने र अनलाइनबाट ग्राहक बोलाएर यौन व्यवसाय चलाउने गरेको उनले सुनाए । ‘बाहिरबाट हेर्दा घरकै सदस्यजस्तो देखिन्छ । दलालले भने घर भाडामा लिएर उसलाई धन्दामा लगाएको हुन्छ,’ पाठकले भने, ‘हालै सिक्किमबाट एक जनाको उद्धार गर्दा यस्तो देखिएको हो ।’


उनका अनुसार अनलाइनबाट बुक भएर आउने मानिसले खानपिन गरेर त्यहीं रात बिताएर जाने गर्छन् । दुई वर्षजति एक ठाउँमा बिताएपछि दलालले घर परिवर्तन गर्दै आएका छन् । बेचबिखनमा परेकालाई उद्धार गर्न र नेपाल फिर्ता ल्याउन अत्यन्त कठिन हुने गरेको संघसंस्थाले बताए । सरकारी संयन्त्र नभएकाले समस्या भइरहेको छ । दलाललाई कारबाही गराउन त झन् चुनौती रहेको छ । पीडितले अन्तिममा बयान फेरिदिने भएकाले दलाल सजिलै उम्किने गरेको पाइन्छ । जिल्ला प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले ९५ प्रतिशत दलाल कारबाहीबाट उम्कने गरेको बताए । ‘सुरुमा पीडित आफैंले उजुरी दिन्छन् । प्रहरीले अनेक प्रयासपछि समातेर अदालतमा पुर्‍याउँछ । अन्तिममा पीडितले बयान फेरिदिन्छन्,’ डीएसपी सिंहले भने, जति कडाइका साथ मिसिल लगे पनि पीडित बलियो नहुँदा दलाल उम्किन्छन् ।’


जिल्ला प्रहरीमा चालु आर्थिक वर्षमा मानव बेचबिखनका पाँचवटा मुद्दा परेका छन् । पाँच जना पक्राउ परेका छन् । गत वर्ष २५ मुद्दा परेका थिए । त्यसमा ४३ जना पीडितमध्ये ३४ जनालाई पक्राउ गरिएको थियो । अघिल्लो वर्ष १८ मुद्दामा २८ जना पीडित थिए । डीएसपी सिंहका अनुसार पक्राउ परेका दलालहरू अधिकांश भरिया छन् ।


उद्धार गरिएकी नेपाली चेलीलाई नाकामा राख्ने ठाउँ नरहेको भारतीय संस्था देहातका जितेन्द्र चतुर्वेदीले बताए । ‘भारतीय प्रहरीले उद्धार गरेपछि नेपाली चेलीलाई कानुनी कारबाही प्रक्रिया चल्दासम्म राख्नुपर्ने हुन्छ । त्यस्तो सेल्टर भारतमा छैन,’ उनले भने, ‘सेल्टर नभएपछि उद्धार गरिएकालाई नेपाल प्रहरी र नेपालका संघसंस्थालाई जिम्मा दिने गरिएको छ । उनीहरूले मुद्दा चलाएको र दलाललाई कारबाही गरेको पाइँदैन ।’


दुई मुलुकमा उद्धार र पुनःस्थापनाका लागि नीतिगत व्यवस्था नहुँदा समस्या समाधानमा समस्या भइरहेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए । ‘सरकारी स्तरमा समझदारी भइदिएको भए समस्या न्यूनीकरण हुन्थ्यो,’ उनले भने, ‘संघसंस्थालाई पनि काम गर्न सहज हुन्थ्यो ।’ मानव बेचबिखन दुई देशको समस्या रहेकाले मिलेर काम गर्नुपर्ने हाम्रो सम्मान परियोजनाकी कमला पन्तले बताइन् ।

प्रकाशित : पुस ७, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?