कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट फर्केर सफल उद्यम

सागर, जया, गोविन्द, अमृत, दुर्गा, भुवन, अशोकलगायतले विदेशमा सिकेको सीप र ज्ञान आफ्नै गाउँठाउँमा प्रयोग गरिरहेका छन् 
सन्जु पौडेल

रूपन्देही — रूपन्देहीबाट काम र अध्ययनका सिलसिलामा बिदेसिएका युवाले मुलुक फर्केर सीपको सदुपयोग गरिरहेका छन् । विभिन्न क्षेत्रमा लगानी गरेका उनीहरूलाई विदेशको सीप बरदान बनेको छ । आफूले थालेको पेसामा उनीहरू स्थापित हुने क्रममा छन् । विदेश पुगेर सीप र ज्ञान सिकी स्वदेश फर्किएर काममा रमाइरहेका मध्येकै एक हुन्, पाल्पाको तानसेन नगरपालिका–१४ का २९ वर्षीय सागर पौड्याल ।

विदेशबाट फर्केर सफल उद्यम

१८ वर्षको उमेरमा उनी साइप्रस पुगेका थिए । उनी १२ कक्षा उत्तीर्ण गरेपछि विदेशिएका थिए । ‘पढ्ने र घुम्ने उमेरमा बिरानो मुलुकमा पुगें,’ उनले भने, ‘सबै कुरा नयाँ मात्र ।’ अध्ययनका लागि आवेदन दिएको कलेजमा पढ्न धेरै शुल्क लाग्थ्यो । उनको भिसा अवधि र काम गर्ने समय कम थियो । ‘शुल्क जुटाउन धौधौ भो,’ उनले भने, ‘समय बिताउनै गाह्रो भो ।’


उनले होटल व्यवस्थापन पढ्न आवेदन दिएका थिए । पाँचवर्षे साइप्रस बसाइमा धन कमाएनन् । अध्ययनले उनलाई होटल व्यवस्थापन सिकायो । ‘अहिले त्यही सीप प्रयोग गरेर सन्तुष्टि आर्जन गर्नुको बेग्लै मजा छ,’ उनले भने, ‘अहिले त बिजनेस म्यान भइयो ।’ सन् २०१४ मा बुटवलमा क्याफे (रेस्टुराँ) सञ्चालन गर्नुअघि एक वर्ष कन्सल्टेन्सीमा काम गरे । उनकै काउन्सिलिङबाट धेरै युवा विदेश गए । ‘एकपटक विदेश जानैपर्छ भन्नेले अनुभव गर्ने मौका पाओस् भन्ने लाग्थ्यो,’ उनले भने, ‘तर, नेपालमा जति आनन्द त अन्त गएर मिल्दैन ।’


अध्ययनका लागि गएका उनले साइप्रसमा रेस्टुराँमा काम पाए । भाँडा माझ्ने कामबाट सुरुवात गरे । त्यसपछि भान्सामा पकाउन थाले । सिक्दै गएपछि एक्जुक्युटिभ सेफसम्म बनेको उनले बताए । त्यहाँ १८ घण्टासम्म उभिएर काम गर्नुपर्दा खुट्टा सुन्निएर दुख्थे । ‘त्यस्तो बेला कुनामा बसेर रुनुबाहेक विकल्प थिएन,’ विगत सम्झेर भावुक बने, ‘अन्तिम समयमा मुलुक फर्किने निर्णयले खुसी दियो ।’ उनी कार्यरत रेस्टुराँ सात सय जनासम्म अट्ने क्षमता थियो ।


त्यहीँ इटालियन र मेक्सिकन खाना बनाउन माहिर बने । स्नातक पूरा गरेपछि स्वदेश फर्किएका उनी अहिले बुटवलमा रमाइरहेका छन् ।


प्रेमले तान्यो


साइप्रसमा कामदारको भिसामा गएका सागरले त्यहीं मायालु भेट्टाए । प्रेममा परेकाले मुलुक फर्किन सहज भयो । ‘पढेर कमाएर आउँछ भन्ने आश परिवारको थियो,’ उनले भने, ‘समाजले पनि कमाए/नकमाएको मूल्यांकन गर्थ्यो ।’ उनको परिवार घरबाट खर्च पठाउनु नपरेकोमा सन्तुष्ट थियो । चितवनकी जया बरालको प्रेममा सागर डुब्न पुगे । जया सन् २००९ मा साइप्रस पुगेकी थिइन् । नर्सिङ अध्ययन गर्दागर्दै होटल व्यवस्थापनतिर मोडिइन् ।


त्यसपछि रेस्टुराँमा काम सिक्दै गइन् । बार टेन्डरको काम सिक्ने मौका पाइन् । त्यहीं सागरसँग चिनजान भएको थियो । मायाजालमा परेकी उनी पनि अस्ट्रेलिया जाने योजना बनाएर मुलुक फर्किइन् । यहाँ आएपछि बिहे भयो । लगत्तै साइप्रसमा उनीहरूले गरेको निर्णय परिवर्तन भयो । उनीहरूले फेरि विदेश गएर दुःख गर्नुभन्दा मुलुकमै केही गरेर देखाउने सोच बनाए ।


बुटवलमा लाइम एण्ड लेमन क्याफे सुरु गरे । सागर भान्सामा काम गर्थे । जया काउन्टर र ग्राहक सेवामा हाजिर हुन्थिन् । ‘विदेशको मिहिनेत सम्झिएर यहाँ काम गर्न थाल्यौं,’ जयाले भनिन्, ‘त्यसपछि सफलताले साथ दिन थाल्यो ।’ यसबाट लाभ मिलेपछि उनीहरूले लाइम एण्ड लेमन हस्पिटालिटी ग्रुप बनाएका छन् । सागर त्यसका प्रमुख कार्यकारी (सीईओ) हुन् ।


जया ग्रुपकी अध्यक्ष हुन् । ग्रुपअन्तर्गत लाइम एन्ड लेमन बुटवल र चितवन, रिफ्रेस क्याफे, गोलपार्कमा लेभिस लाउन्ज र मेघा इन्स्टिच्युसन अफ होटल एण्ड रेस्टुरेन्ट रहेका छन् । दुवै जनाको नेतृत्वले फैलिएका शाखा र अन्य क्याफे स्वास्थ्यकर खाजा र सुविधायुक्त वातावरणका लागि परिचित छन् ।


यो जोडीको मिहिनेत देखेर चितवनका गोविन्द देवकोटा यही ग्रुपमा जोडिएका छन् । उनी कर्पोरेट सेफ हुन् । उनी कुक र होटल व्यवस्थापन पढ्न साइप्रस गएका थिए । त्यहाँ डेढ वर्षसम्म भाँडा माझेर पैसा कमाए । मासिक ४० हजार रुपैयाँ पारिश्रमिक थियो । सुरुवातमा १५ घण्टासम्म काम गर्थे । मिहिनेत गर्दै गएपछि पाँच लाख रुपैयाँसम्म कमाउने सेफ बने । आठ वर्ष साइप्रसमा बिताएपछि बेलायत पुगे । त्यहाँ पनि सेफको काम गरेर राम्रो छाप छोडे ।


बेलायत गएपछि तल्लो स्तरबाट काम सुरु गरे । केही वर्षपछि साथीभाइको सहयोगले काममा जमे । पर्क फिटलेट नामक खाजा बनाउन माहिर उनी २०१५ मा लन्डनमा भएको सेफ प्रतियोगितामा ४४ जनामध्ये उत्कृष्ट पाँचमा परेका थिए । गत वर्ष स्वदेश फर्किए । साइप्रसमा छँदा सँगै काम गरेका गोविन्द र सागर परिचित थिए । अहिले लाइम एन्ड लेमन ग्रुपमै उनको पनि लगानी छ । उनी चार क्याफेकै भान्साको काममा निरीक्षण गर्छन् र खटिन्छन् । ‘चाहिएका बेला सीप भएका मानिस पाइँदैनन्,’ उनले भने ।


बार टेन्डिङ मिक्सोलोजिस्ट अमृत गुरुङ चितवनकै हुन् । काठमाडौंमा बसेर त्रिचन्द्र क्याम्पसमा स्नातक पढ्दापढ्दै उनी साइप्रस पुगेका थिए । विद्यार्थीका रूपमा गएका उनी त्यहाँ बारको काममा सिपालु भए । त्यहाँबाट फर्किएपछि काम गर्न दुबई गए । त्यहाँ उनी महिनाको डेढ लाख रुपैयाँसम्म कमाउँथे ।


बार सुपरभाइजरमा नियुक्त भएपछि एक महिनाको बिदामा सन् २०१९ मा घर आए । त्यसपछि उनी लाइम एण्ड लेमन ग्रुपमै आबद्ध भए । दुबई पुगेर जागिरबाट राजिनामा दिए । नेपालमा पनि विदेशी ट्रेन्ड भित्रिएकाले र सँगै बसेका साथीसँग काम गर्न सहज हुने भएकाले सागरकै आग्रहमा उनले यहाँ लगानी गरेको बताए । बार टेन्डिङको काममा मात्र पोख्त छैनन्, राम्रो डिजेसमेत बनिसकेका छन् । उनले बार टेन्डरको तालिम दिने र सिकाउने पनि गर्छन् ।


‘युवा पुस्तामा बारसम्बन्धी ज्ञानको वृद्धि र सामाजिक परिवर्तनले क्याफे तथा रेस्टुराँमा लगानी गर्दा र अझ बढी स्वस्थकर खाना र स्वच्छ वातावरणमा ध्यान दिन सके नेपालमै लगानी र सन्तुष्ट बन्न सकिन्छ,’ उनले भने ।


कृषि र उद्योगमा युवा


कोरियामा पाँच वर्ष बसेर फर्किएका दुर्गा र भुवन भण्डारीको जोडीले तीन वर्षदेखि गाई पालन गरिरहेको छ । दुर्गा पशुपालन केन्द्रका नामबाट तिलोत्तमा नगरपालिका–१४ मा फार्म सञ्चालन गरेका छन् । उनीहरूले २५ लाख रुपैयाँको लगानीमा त्यहाँ १९ गाई पालेका छन् । जन्मभूमिमा सँगै बसेर श्रम गर्ने सोचले मुलुक फर्किएको उनीहरू बताउँछन् ।


अहिले उनीहरू दैनिक ७० लिटर दूध बिक्री गर्छन् । जोडीलाई प्रदेश सरकारले गत वर्ष ३० हजार रुपैयाँ अनुदान दिएको थियो । अब बिस्तारै बाच्छाबाच्छी हुर्काउने ट्रस्ट निर्माण गरेर अझ व्यावसायिक बन्ने लक्ष्य रहेको दुर्गाले बताइन् । ‘जो पनि हत्ते गरेर विदेश जान्छन्,’ उनले भनिन्, ‘यहीं कर्मचारी नपाइने समस्याले गाह्रो भएको छ ।’ भुवन र दुर्गा बिहानैदेखि गोठमा खटिन्छन् ।


तिलोत्तमा–१४ मा जन्मिएका अशोक थापाले एसएलसीपछि भैरहवास्थित बृहस्पतिमा १२ कक्षासम्म पढे । फुटबलका राम्रा खेलाडी थिए । लगाव पनि थियो । त्यसपछि राजधानीको आरसीटी क्लबमा आबद्ध भए । ए डिभिजन क्लबबाट चार वर्षसम्म खेल खेल्दा पनि उँभो लाग्ने देखेनन् । ‘त्यसपछि कोरिया गएँ ।


परिवारदेखि टाढा, श्रीमती र बालबच्चालाई सम्झिंदै काम गर्दा ज्यादै नरमाइलो लाग्ने,’ उनले भने, ‘यहाँ पैसा त त्यस्तै हो, परिवार र साथीभाइको साथ छ ।’ ६ वर्ष कोरिया बसेर फर्केपछि गाडी चलाउनेदेखि ठेक्कापट्टाको काम गर्दै उनले घरनजिकै न्याप्किन उद्योग सञ्चालन गरेका छन् । डेढ करोडको लगानीमा स्थापित उद्योगमा उनीसँगै तीन पार्टनर छन् ।


अन्य साथी पनि अस्ट्रेलिया, कतारबाट आएका हुन् । कोरियामा प्याकेजिङ उद्योगमा काम गरेका उनले त्यही सीपलाई लगानीमा बदलेका हुन् । अन्य तीन कर्मचारीसहित उनीहरू चारै जना निरन्तर उद्योगमा खटिएर काम गरिरहेका छन् । एक कठ्ठा जग्गामा फैलिएको उद्योगले सबै किसिमका न्याप्किन उत्पादन गर्छ । ‘नेपालीले लगानी गरे पनि मान्छे लगाउने र आफू साहू र ठालू बन्ने चलन छ्,’ उनले भने, ‘विदेशमा साहू पनि कर्मचारीसँगै खटिन्छन् ।’

प्रकाशित : मंसिर २९, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?