कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महबाटै लाख कमाइ

रुकुम पूर्व — सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले मंसिर महिनामा मात्रै २ लाख ८६ हजार रुपैयाँ कमाए । सोही ठाउँका कमलाल खड्काको मंसिर महिनाको कमाइ २ लाख ३१ हजार रह्यो । त्यसै गरी मोतीराम खड्काले १ लाख १० हजार रुपैयाँ घर भित्र्याए ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । यस वडाका हरेक घरले यस सिजनमा मह बेचेरै मनग्ये आम्दानी गरेका छन् । उनीहरूले थोरैमा १० हजारदेखि बढीमा ३ लाख रुपैयाँसम्म कमाइ गरेका छन् । कात्तिके महबाट उनीहरूले उक्त आम्दानी गरेका हुन् । व्यावसायिक मौरी पालेका किसानका साथै घरमा केही घार मौरी राखेका पोखराबासीले यस वर्ष राम्रो आम्दानी गरिरहेका छन् । विशेष गरी पोखरा गाउँका हरेक घरमा मौरी पालिएको छ ।


महबाट आम्दानी हुने भएपछि पछिल्लो समय व्यावसायिक मौरीपालक किसान बढेका छन् । घरमा सोखका रूपमा मौरी पाल्नेको संख्या पनि बढ्दै गएको छ । परम्परादेखि मौरी पालिने उक्त क्षेत्रमा पछिल्लो समय व्यावसायिकताका साथै आधुनिक तरिकाले मौरी पाल्ने बढेका हुन् । ‘हामी यहाँ १०/११ जना व्यावसायिक मौरी पालक कृषक छौं,’ ओमप्रकाशले भने, ‘तर, मौरीबाट आम्दानी नगर्ने कोही छैनौं ।’ पछिल्लो दस वर्षयता यहाँ मौरी पाल्नेहरू बढेको उनले बताए । बजारको समस्या नहुने, पाल्न खासै मिहिनेत गर्नु नपर्ने भएपछि मौरी पालनप्रति आकर्षण बढेको उनले बताए ।


अघिल्लो वर्षभन्दा यस वर्ष २ सय रुपैयाँ महँगोमा मह बिक्री भइरहेको छ । अघिल्लो वर्ष प्रतिधार्नी दुई हजार रुपैयाँमा बिक्री भएको मह यस वर्ष २ हजार २ सय रुपैयाँ प्रतिधार्नी बिक्री भएको हो ।


ओमप्रकाशले १ सय ३०, कमलालले १ सय ५ र मोतीरामले ५० धार्नी मह बिक्री गरिसकेका छन् । ‘अझ केही घारमै छ, केही निकालेर पनि राखेका छौं,’ कमलालले भने, ‘यस वर्ष मूल्य पनि बढेकाले आम्दानी पनि बढेको हो ।’ पछिल्लो समय मौरी पालनमा युवा आकर्षण बढेको उनले बताए । घरमै बसेर सजिलै आम्दानी हुने भएपछि व्यावसायिक मौरी पालक किसान बढेको उनले सुनाए । पोखराका किसाने एक घारदेखि १ सय ४० घारसम्म मौरी पालेका छन् ।


महको मुख्य सिजन भनेको असोजको दोस्रो सातादेखि मंसिर मसान्तसम्म र फागुनको दोस्रो सातादेखि फागुन अन्तिसम्ममा हुने मह किसानहरू बताउँछन् । सबैभन्दा राम्रो कात्तिके सिजनको मह मानिन्छ । यस बेला धेरै मह पर्ने र बिक्री पनि धेरै हुने गर्छ । मह बिक्रीका लागि बजार पुर्‍याउनु परेको छैन । ग्राहक आफैं मह खोज्दै घरमै आइपुग्छन् ।


प्रकाशित : मंसिर २६, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?