कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहरीकरणसँगै जामको समस्या

प्रदेशको अस्थायी राजधानी बुटवल भएसागै पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारीसाधनको ओहोरदोहोर बढेको छ
सन्जु पौडेल

(रूपन्देही) — जिल्लाभर सहरीकरण तीव्र छ । बसाइँसराइ बढेको बढ्यै छ । प्रदेशको अस्थायी राजधानी बुटवलमा भएपछि यहाँ गाडीको संख्या ह्वात्तै बढेको हो । पूर्वपश्चिम र सिद्धार्थ राजमार्गको मिलनबिन्दु भएकाले दिनहुँ सयौं गाडी ओहोरदोहोर गर्छन् । तीव्र सहरीकरणसँगै अहिले ट्राफिक जाम बढेको छ । साँझ–बिहान बुटवल र भैरहवाका मुख्य चोकमा गाडी लाम लाग्छन् । मुख्य सडकको विकल्प नभएकाले जाम बढेको हो । 

सवारीसाधनको चाप बढेसँगै सडकमै रोकिनुपर्ने बाध्यता भएको सर्वसाधारण र सवारीचालकले बताए । स्थानीय लक्ष्मण शाही एक दशकदेखि बुटवल–बेलहिया खण्डमा बस चलाउँदै आएका छन् । पहिले साँघुरो सडक भए पनि कम जाम हुनेमा अब सकस भएको उनले बताए । बजार क्षेत्रमा दुई र तीन पांग्रे साधनको संख्या बढेको छ । सडक छाडा चौपायाको समस्या पनि हैरान पार्ने खालको छ । सवारी चाप वृद्धिसँगै सार्वजनिक यातायातका साधन थपिएका छन् ।


कामकाजी सार्वजनिक बसमा यात्रा गर्छन् । जामले गर्दा समयमा कार्यालय नपुग्ने समस्या छ । स्थानीय बैंकमा कार्यरत सपना केसीले भनिन्, ‘जामले धेरै दु:ख दिन थालेको छ ।’ यस्तो समस्या समाधान गर्न सडक विस्तार र बाइपासको प्रयोग राम्रो हुने उनले बताइन् । यहाँ सञ्चालन हुने बसलाई प्रत्येक स्टपमा तीन मिनेट रोक्न पाउने समयसीमा तोकिएको छ । जामले समस्या भइरहेको बसका सहचालक चिरन्जीवी रायमाझीले बताए ।


प्रयोगकर्ता र चालकले सडक लेन अनुशासन पालना गरेमा जामलगायत सबै समस्या टर्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रकाश शाहले बताए । विभिन्न क्षेत्रबाट सडक जनचेतनाका लागि कार्यक्रम आयोजना भइरहेका छन् । संघसंस्थाको उपस्थिति रहुन्जेल लेन नियम पालना गरेजस्तो देखिन्छ । अन्य समयमा समस्या बल्झिने गरेको उनले बताए । स्वतस्फुर्त पालना गर्न सके सबैलाई राम्रो हुने उनको भनाइ छ । ‘जबरजस्ती अनुशासन पालना गराएर नहुने रहेछ,’ उनले भने, ‘स्वस्फुर्त चेतना जाग्नु पर्छ ।’ कतिपय अवस्थामा आफूहरूले बुझाउने कोसिस गर्दासमेत व्यवहारमा उतार्न नसक्ने समस्या रहेको उनले बताए । ‘विद्यार्थी तहबाटै प्रशिक्षण र चेतना दिलाउन जरुरी छ,’ उनले भने, ‘आगामी दिनमा अझै चुनौती हुन सक्छ तर सबै सडक प्रयोगकर्ताले ट्राफिक नियम पालन गर्नुपर्छ ।’


सडकको क्षमता नबढ्ने तर दिनहुँ यातायातका साधन वृद्धि भएकाले जाम बढेको प्रदेश ५ ट्राफिक प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा मात्र साढे एक लाख सवारीका साधन प्रदेश ५ यातायात कार्यालयमा दर्ता भएका छन् । ‘प्रदेशको अस्थायी राजधानी पनि भएकाले समस्या देखिएको हो,’ उनले भने, ‘ट्राफिक प्रहरीलाई प्रविधियुक्त बनाउन नसकुन्जेल यो समस्या र चुनौती रहिरहनेछ ।’ उनका अनुसार प्रदेश ५ मा २ सय ६८ ट्राफिक प्रहरीको दरबन्दी छ । संख्या अपुग भएकाले नेपाल प्रहरीबाट काजमा ल्याएर काम लगाउनु परेको उनले बताए । ‘यस्तो अवस्थामा प्रविधि प्रयोग गर्न पाए जनशक्ति र नीति दुवैको कार्य सहज हुन्थ्यो,’ प्रहरी उपरीक्षक लुइँटेलले भने, ‘सडक जाम हुनुमा ट्राफिक प्रहरीको भूमिका हुँदैन । सडक कार्यालय, यातायात र सर्वसाधारणले नियम पालना गर्दा त्यो स्वत: हट्छ ।’


प्रकाशित : मंसिर २५, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?