कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाडी चलाउन र मर्मत गर्न सिक्दै विद्यार्थी

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका छात्र सुनील ढुंगानालाई नयाँ विषय पढ्दा अनौठो लागेको थियो । बगनासकालीबाट पढ्न आएका उनले केही महिनापछि भने हातमा औजार बोकेर गाडी मर्मत गर्न सक्ने हुनेछन् । यसै विद्यालयमा अध्ययन गर्ने नवलपरासीका मीनकुमार चौधरी पनि अहिले सैद्धान्तिक कक्षा लिइरहेका छन् ।

गाडी चलाउन र मर्मत गर्न सिक्दै विद्यार्थी

उनले पनि अब केही महिनामै सवारी साधन बनाउन, चलाउन सिक्ने सपना देखेका छन् । ढुंगाना र चौधरी मात्र होइन, यहाँ अध्ययन गरिरहेका २२ छात्र अहिले अटोमोबाइलको सैद्धान्तिक कक्षा लिइरहेका छन् । एक महिनापछि मर्मतको काम गर्नेछन् । ‘हामीलाई अहिले सबै विषय नयाँजस्तै भएको छ,’ विद्यार्थी ढुंगानाले भने, ‘अहिले सबै विषय रुचिकर नै लागेको छ ।’


प्रशिक्षक प्रमोद कार्कीले पहिलो चरणमा सैद्धान्तिक पाठ कक्षाकोठामा सिकाइरहेको बताए । यसको विभिन्न विधि पढाइरहेको उनले सुनाए । एक महिनापछि प्रयोगात्मक शिक्षा दिने तयारी छ । जिल्लामै पहिलोपटक यहाँ प्राविधिक शिक्षा सुरु भएको हो । यसअघि प्रदेश ५ का दुई विद्यालयमा यो विषयको पढाइ सुरु भएको छ ।


तिलोत्तमा तेस्रो विद्यालय हो । तालिम पूरा गरेर दक्ष भएका विद्यार्थीका लागि रोजगारको समस्या नहुने प्रशिक्षक कार्कीले बताए । अटोमोबाइल विषयअन्तर्गत विद्यार्थीलाई सानाठूला सवारी साधन मर्मत गर्ने, चलाउन सक्ने बनाएर पठाइने विद्यालयले जनाएको छ ।

तिनाउ गाउँपालिकाले समेत भौतिक पूर्वाधारलगायत विभिन्न विषयका लागि बजेट सहयोग गरेको छ । उसले व्यवस्थापन क्षेत्रमा समेत सहयोग गरेको छ । विद्यालयका प्रधानाध्यापक झवीन्द्र ज्ञवालीका अनुसार गाउँपालिका र स्थानीय अभिभावकको चाहनाअनुसार प्राविधिक शिक्षा चलाइएको हो ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को १८ महिना लामो अटोमोबाइल कक्षा यहाँ पढाएको छ । एसईई उत्तीर्ण विद्यार्थीलाई यस अवधिमा दक्ष बनाएर स्वरोजगार बनाउने उद्देश्य विद्यालय र गाउँपालिकाको छ । विद्यालयका प्रधानाध्यापक ज्ञवालीले अटोमोबाइल प्राविधिक शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्नु प्रमुख उद्देश्य रहेको बताए । ‘हाम्रो उद्देश्य विद्यार्थीलाई आत्मनिर्भर गराउने नै हो,’ उनले भने, ‘यसबाट यस क्षेत्रमै रोजगार पनि उपलब्ध हुनेछ ।’ नौ किलोमिटर मात्र टाढाको रूपन्देहीको बुटवलमा प्रशस्त मोटर ग्यारेज छन् ।


प्रदेशका विभिन्न स्थानका साथै काठमाडौं, पोखरालगायत मुलुकका धेरै स्थानमा जाने सवारी साधन चल्छन् । यस क्षेत्रमा रहेका चुनढुंगा खानी उद्योगमा पनि हजार बढी टिपर चल्छन् । बेरोजगार शिक्षित युवालाई स्वदेश र विदेशमा सहज ढंगले स्वरोजगार बनाउन जिल्लामै पहिलोपटक अटोमोबाइल प्राविधिक शिक्षा विद्यालयमा दिइएको वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले बताए ।


उनका अनुसार अन्य विषयभन्दा यो विषय नयाँ र स्वरोजगार बन्न सक्ने देखिएको छ । ‘यसमा गाउँपालिका र वडाले सहयोग गरेका छन्,’ उनले भने, ‘सरकार, दातृ संस्थालगायतबाट प्राविधिक सहयोगको आशा गरेका छौं ।’ नजिकको तिनाउ–२, दोभान माविमा कृषिसम्बन्धी पढाइ हुन्छ । पालिकाका ६ वडाका अन्य माविमा भने अहिलेसम्म प्राविधिक शिक्षा चलेको छैन ।


यहाँ छिमेकी बगनासकाली, रैनादेवी गाउँपालिकाका विद्यार्थीले अध्ययन गरिरहेका छन् । नवलपरासी, अर्घाखाँचीबाट समेत विद्यार्थी आएका छन् । तिनाउ गाउँपालिका क्षेत्र अटोमोबाइलको ‘हव’का रूपमा विकास भएको छ । त्यसैले यस विद्यालयमा अटोमोबाइलका कक्षा सञ्चालन सुरु गरेका हुन् । ‘प्राविधिक शिक्षालाई स्थायित्व दिन दुःखको विषय रहेछ,’ वडाध्यक्ष पाण्डेयले भने, ‘त्यसका लागि खर्च निकै ठूलो भएको अनुभव भएको छ ।’


तिनाउ गाउँपालिकाकै उत्कृष्ट विद्यालय बनेको तिलोत्तमामा अटोमोबाइल विषय पढन एसईईमा ‘ई’ ग्रेड ल्याउनेले पनि पाएका छन् । यो विषय पढ्नका लागि भर्ना शुल्क ५ हजार लाग्छ । १८ महिने कोर्षका लागि कुल ६५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस विषयमा ७५ प्रतिशत प्रयोगात्मक कक्षा हुने भएकाले खर्चिलो छ ।


प्रकाशित : मंसिर २४, २०७६ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?