डाँडामा कृषि पर्यटन केन्द्र

खेतीयोग्य जमिन बाँझो राखेर तराई, सहरमा बसाइ सर्ने र वैदेशिक रोजगारीमा जाने युवा भुसालको परिश्रमप्रति आकर्षित 
वीरेन्द्र केसी

अर्घाखाँची — वन्यजन्तुको वासस्थान थियो । मरेका घरपालुवा (सिनो) फाल्ने डम्पिङ साइट बनाइएकाले दुर्गन्ध फैलिन्थ्यो । अहिले त्यही स्थान कृषि पर्यटनको केन्द्र बनेको छ । छत्रदेव गाउँपालिका–३ बज्याङस्थित हिमालयन बल्कोट कृषि तथा पशु फार्ममा आकर्षण बढेको छ ।

ZenTravel

७० रोपनीमा फैलिएको फार्ममा अण्डा र मासुका लागि ३० हजार कुखुरा पालिएका छन् । २५ वटा भैसी छन् । दैनिक त्यहाँ दूध सन्धिखर्क पुर्‍याइन्छ । २० रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेती गरिएको छ । ५ वटा टनेल भित्र गोलभेडा लटरम्म फलेका छन् । कम्पोष्ट मल उद्योग छ । यतिबेला बारीमा बेथेको साग, काउली, आलु, सिमी उत्पादन गरिएका छन् ।

Meroghar

करिब १० किमी टाढाबाट पानी ल्याएर टयांकीमा संकलन गरिएको छ । त्यसबाट सिचाइँ गर्छन् । भाडामा लिएको ८० मध्ये दस रोपनीमा घाँस उत्पादन गरिएको छ । मुलाको गुन्द्रक तयार गर्दैछन् । ‘काठमाडौंलगायत सहरका ठुला होटलमा गुन्द्रुकको माग छ,’ फार्म सञ्चालक विष्णुप्रसाद भुसालले भने, ‘अब गुन्द्रुक उद्योग खोल्छु ।

जाडो छल्न धेरैले गुन्द्रक (सिन्की) रुचाउँछन् । सिन्की बनाएर बिक्री गर्न यसपाली मुला उत्पादन गरें, माग धेरै भएमा अझै धेरै मूला खेती गर्ने तयारी छ ।’ उनी हिमालयन बोडिङ स्कुलका सञ्चालक, हिमालयन सहकारीका अध्यक्ष हुन् । तरकारी जोन कार्यक्रमका जिल्ला सचिव भुसालले तीन सय बोट कफी खेती गरेका छन् ।

‘बन्जर डाँडो बारी बनाएँ,’ उनले भने, ‘एक वर्ष मिहेनत गरेर मलिलो बनाएँ, धेरै दुःख गरेपछि अहिले उत्पादन राम्रो भयो ।’ कुखुरा, तरकारी, कफी र दूधबाट वर्षमा ४० लाख रुपैयाँको कारोबार भइरहेको उनले बताए । ५ वर्ष दुःख गरेपछि फार्मको रुपमा विकास गर्न उनी सफल भए । चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

खेतीयोग्य जमिन बाँझो राखेर तराइ र सहरमा बसाइँ सर्ने एवं वैदेशिक रोजगारीमा जाने युवा समेत उनले परिुश्रमप्रति आकर्षित छन् । ‘कुखुराको मल, कम्पोष्ट र गडौंले मल राखेपछि बारी मलिलो हुँदोरहेछ,’ उनले भने, ‘त्यसमा गहुँतले त तेब्बर उत्पादन हुन्छ ।’ फार्मबाट उनको घर ८ किमी टाढा छ । पति पत्नी फार्ममै बस्छन् ।

विहान भैसी दुहुने, गोबर पन्छाउनेदेखि भैसीको स्याहारमा व्यस्त हुन्छन् । दिनभरिका लागि काम अर्‍हाएर उनी दिउँसो विद्यालय जान्छन् । पत्नि इन्दिरा स्टेशनरी पसल संचालन गर्छिन् ।साँझ फर्केर तरकारीमा काम गर्छन् । कुखुराको रेखदेख गर्छन् । एउटा टनेलबाट ६० हजार रुपैयाँ भन्दा बढीको गेलभेडा उत्पादन हुन्छ । हिमालयन बचत तथा ऋण सहकारी संस्था संचालन गरेका छन् । सहकारीबाट केही युवालाई कृषिमा लगाएका छन् ।

आठ जना वैदेशिक रोजगारीबाट फर्किएका युवाले कुखुरा फार्म, तरकारी उत्पादन र दूध बिक्रीको लागि गाइभैसी पालेका छन् । ‘कृषिमा हात हाल्नुको कारण आम्दानी गर्नु हो,’ उनले भने, ‘खेतीयोग्य जमिन बाँझै छाड्ने र बस्ती छाडेर जानेक्रम बढ्दो भएपछि मैले पाखोबारीबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको हुँ ।’

प्रकाशित : मंसिर २३, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

सामूहिक केरा खेतीमा आकर्षण

कान्तिपुर संवाददाता

पाल्पा — निस्दी गाउँपालिका–७, ज्यामिरे, मलघरामकी पुनीसरा सारु यतिबेला खुसी छन् । खेर गएको जमिनमा तीन वर्षअघि लगाएको केरा खेतीले गएको सिजनमा पाँच लाख रुपैयाँ आम्दानी दिएको थियो । आउने सिजनमा आम्दानी बढ्ने उनको आशा छ । सामूहिक केरा खेतीबाट अहिले आम्दानी राम्रो भएको हो ।

सुरुको वर्षमा खासै आम्दानी होला जस्तो उनलाई लागेको थिएन । यस वर्ष भने उनी खुसी छिन् । ‘पहिला के होला र जस्तो लागेको थियो,’ उनले भनिन्, ‘अहिले भने मन खुसी भएको छ । अब राम्रो आम्दानी लिन थालेका छौं ।’ पहिलो वर्ष १४ हजार बिरुवाबाट दुई लाख रुपैयाँमात्रै आम्दानी भएको उनले सुनाइन् ।

झाडी, वनमाराले ढाकेको जमिनलाई उनीहरूले कबुलियती वन बनाएका छन् । सोही वनमा अहिले व्यावसायिक केरा खेती गरेका हुन् । ज्यामिरेमा अहिले १७ हेक्टरमा २५ हजार केराका बिरुवा लगाइएको छ । त्यत्ति नै संख्यामा थप बिरुवा लगाउने गाउँलेको तयारी छ । डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा उनीहरूले केरा खेती गरेका हुन् ।

केरा खेतीबाट आर्थिक हैसियत बिग्रेका समुदायको स्तरमा सुधार आएको कबुलियती वन समूहका अध्यक्ष रमन सारुले बताए ।
काम नलाग्ने जंगललाई उपयोग गरेर केरा खेती लगाइएको छ । ‘हामीले दुई समूह बनाएर जंगलको जग्गा कबुलियत गरेर लिएका छौं,’ उनले भने, ‘त्यसलाई फँडानी गरेर दुई वर्षदेखि केरा खेती गरेका छौं ।’ श्रमअनुसार केरा खेतीले सफलता पाएको छ ।

यसलाई अझ विस्तार गर्ने सोच बनाएको अध्यक्ष सारुले बताए । उनीहरूलाई बजारको पनि कुनै समस्या छैन । नजिकको सर्दी, दुम्किबास, पूर्वखोला, होङ्सी सिमेन्टका कर्मचारी ग्राहक हुन् ।तीन वर्षअघि कृषि ज्ञान केन्द्रले ६ हजार केराका बिरुवा सहयोग गरेको थियो । त्यसपछि भूःसंरक्षण कार्यालयले पनि आठ हजार बिरुवा दिएको छ । ‘सोही बिरुवाबाट निस्केका टुसालाई सारेर अहिले २५ हजार पुर्‍याइएको छ,’ उनले भने । यही जंगलमा अहिले वन केरा पनि हुर्केका छन् । केरा राम्रो हुर्केको देखेपछि व्यावसायिक केरा लगाउने योजना बनेको हो ।

मलघराममा अहिले टोकलक्दी र गडादी दुई समूह छन् । समूहमा २७ घरधूरी सदस्य छन् । गाडादी कबुलियती वन समूहका अध्यक्ष सारुले भने, ‘सुरुका दिनमा यस्तो डाँडा, झाडीमा केरा खेती सम्भव होला कि नहोला भन्नेलागेको थियो ।’ अहिले पहाडी जिल्लामै उदाहरणीय केरा खेती बनेको छ । जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले पनि बिरुवाका लागि सहयोग गरेको उनले बताए ।

डिभिजन वन कार्यालयले सोही जग्गाको व्यवस्थापन गरेर २७ हेक्टर जग्गा समूहलाई हस्तान्तरण गरेको हो । ४० वर्षका लागि दिएको जंगलबाट समूहमा राम्रो आम्दानी हुन थालेको कार्यालयका विकास अधिकृत यमलाल पोखरेलले बताए । डिभिजन वन कार्यालयले निरन्तर रूपमा प्राविधिक सहयोग गर्दै आएको छ ।

कबुलियती वनका सहजकर्ता रामचरण चौधरीले समूहलाई परिचालन गर्दा अहिले राम्रो आम्दानी भएको बताए । उनका अनुसार केरा खेतीबाट अर्को वर्ष एकै सिजनमा आठ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताए ।केरा खेती गर्ने स्थानसम्म पुग्न बाटोको दुःख छ । तर पनि स्थानीयले मिहिनेत गरेर लगाएका छन् । डिभिजन वन अधिकृत मोहनप्रसाद पौडेलले वन उपभोक्ता समूहलाई सही रूपमा पधध्रिचालन गर्दा अहिले पहाडी जिल्लामै नमुना केरा खेती बनेको बताए ।

प्रकाशित : मंसिर २३, २०७६ १२:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×