कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छोरा नजन्मेपछि सम्बन्धविच्छेद

वीरेन्द्र केसी

(अर्घाखाँची) — पाणिनि गाउँपालिका–८ की ५३ वर्षीया कमला अर्यालको अनुहार चाउरी परेको छ । बाबुआमा बितिसके । भाइबुहारीको परिवार अमेरिकामा छ । माइतीमा उनी एक्लै बस्छिन् । सानै उमेरमा ढिकुरा गाउँमा विवाह भयो । 

छोरा नजन्मेपछि सम्बन्धविच्छेद

दुई वर्षमै पति बेपत्ता भए । त्यसपछि ३६ वर्षमा भूमिकास्थान नगरपालिका–७ कबलीपोखराका ८२ वर्षीय ईश्वरीप्रसाद खनालले उनलाई कान्छी श्रीमतीका रूपमा भित्र्याए । दुई वर्षसम्म सँगै बसे । मायाप्रेम राम्रै भयो । छोराछोरी नजन्मिएपछि श्रीमान्सँग उनको सम्बन्ध बिग्रियो । खाना खान नदिने, गाली गर्ने, पिट्ने गरेपछि उनी माइती आएर बसिन् । भेटघाट, फोन केही भएन । सम्बन्धमा सुधार नभएपछि मंगलबार अर्घाखाँची जिल्ला अदालतबाट उनीहरूले सम्बन्धविच्छेद गरेका छन् । त्यसबापत कमलालाई ईश्वरीले डेढ लाख रुपैयाँ दिए । ईश्वरीकी पहिली पत्नी बिरामी भएर थला परेपछि कमलासँग बिहे गरेका थिए ।


छोराछोरी नजन्मिएको र पहिली श्रीमतीलाई निको भएर काम गर्न थालेपछि दोस्रीलाई पन्छाए । ‘मलाई वास्ता नगरेपछि म माइती आएर बसेकी छु, मेरो पहिलो श्रीमान् बेपत्ता भएपछि धेरै दु:ख पाएँ, दोस्रो विवाह गरेर सुख पाउँछु भनेको त्यो पनि भएन,’ कमलाले भनिन्, ‘माइती घरमा आमाबाबु बितिसके । अब एक्लै जीवन बिताउँछु ।’ अमेरिका बस्ने परिवारका आफन्तले केही खर्च पठाइदिने र घरमा बाख्रा पालेर आएको आम्दानीले खर्च चलाउने गरेको उनले बताइन् ।


बुटवलमा उनका तीन दिदीबहिनी छन् । कहिलेकाहीं त्यही गएर पारिवारिक प्यास मेटाउँछिन् । ‘बाआमा र भाइबुहारीको माया पाएँ,’ उनले भनिन्, ‘श्रीमान्को मायाको अनुभव नै गर्न पाइएन ।’ पतिले दिने माया आफूले कहिल्यै महसुस गर्न नसकेको उनले गुनासो पोखिन् । बुढेसकालमा श्रीमान्ले माया दिने आशामा यौवन बिताए पनि अहिले आएर सम्बन्धविच्छेद हुँदा उनी दु:खी छिन् । ‘कुनै दिन माया फर्किन्छ भन्ने मेरो मनमा थियो,’ उनले भनिन्, ‘त्यही भएरै अर्को विवाह गरिनँ, अहिले सहारा चाहिने बेलामा एक्लिनुपर्‍यो ।’ सन्तान नजन्मिएकै कारण अपहेलित भएको उनले सुनाइन् ।


ईश्वरीप्रसादलाई छोराको रहर थियो । दुवै श्रीमतीबाट जन्मिएनन् । पहिली श्रीमतीकी छोरीको विवाह भएर नातिनातिना जन्मिसकेका छन् । उनको पहिली पत्नीसँग मायाप्रेम राम्रै छ । उनी भारतीय सेनाका अवकाश प्राप्त हुन् । पेन्सनले बुढाबुढीलाई खर्च धानेको छ । जवानीमा कुरा नमिलेपछि माइती गएर बसेकी श्रीमतीसँग सम्बन्धविच्छेद गरेरै बस्नु राम्रो भएकाले छुट्टिएको उनले बताए । ‘मैले बोलाउँदा पनि उनी आउन खोजिनन्,’ उनले भने, ‘त्यसैले सम्बन्धविच्छेद गरेको हुँ ।’


प्रकाशित : मंसिर २१, २०७६ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?