कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्तलाले धानेको गाउँ

रुकुम पूर्व — रुकुम पूर्व सिस्ने गाउँपालिका ८, झिमखोला पाटाका राजु पुनमगर सुन्तलाको आम्दानीबाट आफ्नो घरपरिवार चलाइरहेका छन् । सबै खर्च कटाएर उनले एउटा सिजनमा कम्तिमा २ लाख रुपैयाँ भन्दाबढी आम्दानी गर्छन् । स्थानीय नरसिंह पुन सुन्तला उत्पादन गर्ने पूराना किसान हुन् । उनले ३० वर्ष अघि सुन्तला खेती सुरु गरेका थिए । अहिलेसम्म त्यसमा कमी आएको छैन ।

सुन्तलाले धानेको गाउँ

सिजनमा २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । यहीका गोपाल पुनको ठूलो सुन्तला बगैंचा छ । बाजे, बाबु हुँदै अहिलेसम्म सुन्तला खेती गरिरहेका छन् । मुख्य आम्दानीको स्रोत यही हो ।


उनीहरू मात्र होइन । त्यहाँका अरु बासिन्दा पनि सुन्तलाको विकल्प खोजिहाल्नुपर्ने अवस्थामा पुगेका छैनन् । झिमखोला र पाटाका २० परिवार पूर्ण रुपमा सुन्तलामै आश्रित छन् । यसमा पुराना व्यवसायी मात्रै छन् । उत्तर फर्किएको र ओसिलो क्षेत्र भएकाले यस क्षेत्रमा वर्षौदेखि सुन्तलाको उत्पादन राम्रो हुन्छ । बस्तीमा २५ देखि ३० बगैंचा छन् । सबै बगैचामा लटरसम्म सुन्तला फलेका छन् । अघिल्ला जस्तै यस वर्ष पनि सुन्तलाबाट राम्रो आम्दानी हुने अपेक्षामा किसान छन् । यस वर्ष सुन्तला बिक्री सुरु भइसकेको छ । किसानले डोकोमा बोकेर सडकसम्म सुन्तला पुर्‍याउँछन् । त्यसपछि मुसीकोट र रुकुमकोट बजार पुर्‍याइन्छ । मंसिरबाट टिप्न थालिएको सुन्तला पुस अन्तिमसम्म पनि टिप्ने गरिन्छ ।


‘राम्रो फल्यो भने एउटा रुखमा २० हजार रुपैयाँका सुन्तला फल्छन्,’ राजुले भने, ‘२० वटा राम्रा रुख भए एक सिजनमा २ लाख रुपैयाँ सजिलै कमाउन सकिन्छ ।’ उक्त गाउँमा केही नयाँ र अधिकांश बगैचा पुराना छन् । आफ्नै लगानीमा सिचाईको व्यवस्था गरेका छन् । माटो पनि उपयुक्त छ । सिचाई पर्याप्त भएपछि राम्रै फल्ने गरेको नरसिङले बताए । एक रुपैयाँको २ देखि ३ दाना सुन्तला विक्री हुने बेलादेखि सुन्तला खेती थालेका भद्रबीर पुनले हालसम्म पनि सुन्तला खेती गरिरहेका छन् । ७१ वर्षीय पुनले २०४० सालदेखि सुन्तला खेती थालेका थिए । हाल खुद्रा विक्री गर्दा प्रतिक्विन्टल १० हजार र थोक विक्री गर्दा प्रतिक्विन्टल ६ देखि ७ हजारमा सुन्तला बिक्री भइरहेको छ ।


सुन्तलालाई लक्षित गरी गाउँपालिकाले संकलन केन्द्र बनाए पनि उपयोग छैन । किसानले बगैचासँगै चिस्यान केन्द्र माग गरेका छन् । गाउँपालिकाले हरेक वर्ष सुन्तलाका बेर्ना वितरण गरेपनि बजार प्रवर्द्धनमा खासै ध्यान पुर्‍याउन नसकेको स्थानीय कविराम पुनले बताए । वडा ८ का अध्यक्ष खर्कसिंह थापाले सुन्तलाको बजारीकरणका लागि आवश्यक पहल भइरहेको बताए ।

प्रकाशित : मंसिर २१, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?