कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समुदायकै पहलमा होमस्टे

तालको प्रवर्द्धन, पर्यटकको सुविधा र टिमुरे क्षेत्रकै विकासका लागि होमस्टे सुरु गरिएको हो
घनश्याम गौतम

(गुल्मी) — पर्यटकीय स्थल एवं प्राकृतिक ताल रहेको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको रेमीमा स्थानीयकै अगुवाइमा होमस्टे (घरबास) सुरु भएको छ । मगर समुदायको बाहुल्य रहेको रेमीमा झन्डै ७० घर–परिवारको बसोबास छ । 

समुदायकै पहलमा होमस्टे

गाउँदेखि नजिकै रहेको तालको प्रवर्द्धन, पर्यटकको सुविधा र टिमुरे क्षेत्रकै विकासका लागि होमस्टे सुरु गरिएको हो । त्यसका लागि स्थानीयले प्रतिपरिवार ५० हजार रुपैयाँ र चन्द्रकोट गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । गाउँका पाँच घरमा अहिले टिमुरे सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । शान्तिपुरबाट सात किलोमिटरको दूरीमा डाँडाको टुप्पोमा प्राकृतिक मनोरम ताल छ । नजिकै झन्डै दुई किलोमिटर समथर डाँडा छ । त्यहाँबाट बिहानको सूर्योदय र सूर्यास्त एवं अस्ताउँदो सूर्यको किरणले देखाउने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण हिमालको मनोरम दृश्य सजिलै देख्न सकिन्छ । अहिले स्थानीयकै पहलमा तालमा डुंगा सञ्चालन गरिएको छ । टिमुरे तालमा दैनिक आउने पर्यटक बढ्दै गएकाले गाउँमा होमस्टे सुरु गरिएको संयोजक लक्ष्मी रानाले बताइन् । ‘टिमुरे ताल र डाँडामा जान खोज्नेका लागि बास दिन थालेका हौं,’ उनले भनिन्, ‘हामीलाई होमस्टेको पूर्ण ज्ञान नभए पनि गर्दै सिक्दै सुरु गरेका छौं ।’ होमस्टेका लागि आवश्यक पर्ने सबै पूर्वाधार र आउने पाहुनालाई गर्नुपर्ने व्यवहारका बारेमा धेरै जानकारी नभएको उनले बताइन् ।


होमस्टे सञ्चालन गरिएको स्थानबाट टिमुरे तालसम्म ३ किलोमिटरको दूरी छ । पैदलै हिंडेर पनि सवा घण्टामा पुग्न सकिन्छ । समुन्द्री सतहबाट १ हजार ७ सय ५० मिटर उचाइमा छ । झन्डै चार रोपनी क्षेत्रफलमा फैलिएको २ देखि ३ मिटर गहिरो प्राकृतिक तालमा वर्षैभरि पानी रहन्छ । नांगो डाँडाको टुप्पोमा वर्षैभरि रहने पानी नै यहाँको सौन्दर्य भएको र त्यसको संरक्षण गर्नुपर्ने प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । उनले तालको प्रवर्द्धन र संरक्षण गर्नुपर्ने बताए । ‘होमस्टेले ताल हेर्न आउने सबै पर्यटकलाई बास बस्ने गरी व्यवस्थापन गर्नु जरुरी छ,’ उनले भने, ‘कहिलेकाहीं आफूसँगै भएको राम्रो कुरा चिन्न नसक्दा सिंगो समुदाय पछाडि पर्ने गरेको छ ।’ त्यस्ता कुरा समुदायमा छलफल गरेर पर्यटक आकर्षण गर्नमा भरपूर उपयोग गर्न उनले सुझाव दिए ।


सञ्चालक लीलबहादुर पुनले पर्यटकका लागि सामान्य घरमा बास, स्थानीय परिकारको स्वाद र मगरको पुरानो संस्कृति झ्याउरे र सालै जो गीतसहितको सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरी व्यवस्थापन गरिएको बताए । ‘हामीकहाँ आउने पाहुनाले मकै, कोदोको रोटी, उवा, फापरका परिकार, ढिंडोलगायत परिकारका भिन्दाभिन्दै स्वाद चाख्न पाउने छन्,’ उनले भने, ‘सबै अर्ग्यानिक र स्थानीय परिकार दिने प्रयासमा छौं ।’ अहिले पाँच घरमा मात्र व्यवस्थापन गरिएकाले एकपटकमा २५ जनालाई बास दिन सकिने उनले बताए ।


टिमुरेमा प्राकृतिक ताल र त्यसको वरपर फैलिएको पाटन क्षेत्रले धेरैलाई आकर्षण गर्ने गरेको छ । ठूलो क्षेत्रफलमा फैलिएको साना र झुप्प/झुप्पका रुख छन् । टिमुरेबाहेक चन्द्रकोट गाउँपालिकाभित्र पुग्ने आन्तरिक र बाह्य पर्यटकले अर्जेवा झरना, धार्मिक स्थल दिब्रुङ र ऐतिहासिक स्थल चन्द्रकोटसहितका ठाउँको अवलोकन एवं भ्रमण गर्न सक्ने छन् । गाउँपालिकाले सबै स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिरहेको अध्यक्ष द्रोणबहादुर खत्रीले बताए । चारैतिरबाट उपत्यकाले घेरिएर बनेको समथर फाँट शान्तिपुर र त्यससँगै उठेका प्रत्येक डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको उनले बताए । ‘फाँटमा हुग्दी, भुग्दीलगायत सफा खोलाको आकर्षण छ,’ उनले भने, ‘वरिपरिका डाँडामा पुग्दा प्राकृतिक, धार्मिक र ऐतिहासिक सबै क्षेत्रको एकैपटक आनन्द लिन सकिन्छ ।’ गाउँपालिकाभित्रका सबै पर्यटकीय क्षेत्रको विकास गर्न र पर्यटक आकर्षित गर्ने गरी होमस्टेलाई सहयोग गरिएको उनले बताए ।


शान्तिपुरको पूर्वी क्षेत्रको डाँडामा रहेको चन्द्रकोट बाइसे र चौबीसे राजाले राज्य गरेको स्थान हो । जहाँ अहिले पनि बाइसे राजा बस्ने गरेको सत्तल, उनीहरूले प्रयोग गरेका हतियार, तोप लगायत सामग्री सुरक्षित छन् । गुल्मी र बाग्लुङको सिमानामा रहेको चन्द्रकोट आफैंमा दुवै जिल्लाका धेरै मनोरम गाउँ र दृश्यावलोकनका लागि आकर्षक छ । त्यस्तै उत्तरतर्फको अर्को डाँडा दिब्रुङ स्वामी परमानन्द सरस्वतीले तपस्या गरेर सिद्धि प्राप्त गरेकाले धार्मिक रूपमा महत्त्वपूर्ण छ । दिब्रुङ यस क्षेत्रकै धार्मिक आस्थाको केन्द्र हो । प्रदेश सरकारले त्यस्ता धार्मिक स्थल र ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने गरी बजेट विनियोजन गरेको मन्त्री बरालले बताए ।

प्रकाशित : मंसिर १२, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?