कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हात्तीले पल्टायो सीमा स्तम्भ

(बर्दिया) — राजापुरसँग जोडिएको नेपाल–भारत सीमामा रहेको सीमा स्तम्भ हात्तीले पल्टाइदिएको छ । नेपाल–भारत छुट्याउने राजापुर नगरपालिका ७, दीपनगरस्थित घना जंगल क्षेत्रको सीमा स्तम्भ नम्बर ९७ लाई हात्तीले लात्तीले हानेर पल्टाइदिएको हो । 

हात्तीले पल्टायो सीमा स्तम्भ

अनुगमनका क्रममा राजापुर ९, शंकरपुरको ९३ नम्बर सीमा स्तम्भ पनि भत्केको अवस्थामा भेटिएको छ । स्तम्भको माथिल्लो भाग चोइटिएको छ ।


सशस्त्र प्रहरी उपरीक्षक यादव विकले सीमा स्तम्भ हात्तीले भत्काएको अनुगमनका क्रममा देखिएको बताए । भारतबाट आउने हात्ती राजापुर क्षेत्रमा बर्सेनि ठूलो संख्यामा प्रवेश गर्छन् । हात्तीले अन्नबाली खानुका साथै स्थानीयको कच्ची घरसमेत भत्काउने गरेको राजापुर ४ का वडाध्यक्ष रमण रेग्मीले बताए ।


८ वर्षअघि साबिक ढोढरी गाविसको धनौरामा रहेको ८४ नम्बर सीमा स्तम्भ पनि हात्तीले भत्काएको थियो । भारतीय जंगलबाट भित्रिएका हात्ती निकै बलिया र आक्रामक हुने भएका कारण सहजै सीमा स्तम्भ भत्काउने गरेको प्रहरी उपरीक्षक विकले जनाए । बर्दियासँग जोडिएको करिब ८७ किमि नेपाल–भारत सीमाको ९० प्रतिशत भू–भाग घना जंगल भएका कारण वन्यजन्तु त्यही बाटो भएर अन्नबाली खान सीमावर्ती राजापुर, मधुवनलगायत गाउँमा पुग्छन् ।


सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा छुट्याउने २ सय ४५ मध्ये मुख्यसहित ९४ सीमा स्तम्भ खोजी गर्दा नभेटिएको बताएको छ । पछिल्लोपटकको अनुगमनमा त्यति संख्यामा फेला नपरेको सशस्त्र प्रहरी बल बर्दियाले जनाएको हो ।


सीमा स्तम्भ कहिले हराए भन्ने यकिन तथ्यांक सशस्त्र प्रहरी बलसँग छैन । उपरीक्षक विकले एक दशकयता ३२ सीमा स्तम्भ खोलाले बगाएको बताए । ‘ठूला र साना गरी ७३ सीमा स्तम्भ मर्मत गर्नुपर्ने र ४६ पुनर्निर्माण गर्नुपर्ने छन्,’ उनले भने, ‘केही सीमा स्तम्भ खोलाले बगाएको छ ।’

प्रकाशित : मंसिर ५, २०७६ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?