कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलमिलापमा घाइते पूर्वलडाकु र सुरक्षाकर्मी : ‘अब छैन दुस्मनी’

‘लडाइँका कुरा भुलेर आपसमा मेलमिलाप गर्नुपर्छ, समाजमा मिलेर बस्नुपर्छ र अब विगतका तिक्तता पनि बिर्सनुपर्छ’
दुर्गालाल केसी

(दाङ) — तुलसीपुर उपमहानगरपालिका ११, जसपुरका कुलबहादुर वली दुवै कान सुन्दैनन् । मानसिक रूपमा विक्षिप्त छन् । श्रीमती सुन्दरीको भरमा यताउति हिंड्छन् । जीवन निर्वाहका लागि नेपाल प्रहरीमा जागिरे भएका वली ०५४ पुस १४ मा जाजरकोटको सकला प्रहरी चौकीमा कार्यरत हुँदा तत्कालीन विद्रोही माओवादीले थापेको एम्बुसमा परी सख्त घाइते भए । बमको धक्काले कानका जाली फुटे । त्यसपछि उनी सदाका लागि बोल्न र सुन्न नसक्ने भए ।

मेलमिलापमा घाइते पूर्वलडाकु र सुरक्षाकर्मी : ‘अब छैन दुस्मनी’

देशको सुरक्षाका लागि भन्दै ज्यानको बाजी थापेर दुर्गम क्षेत्रमा खटिएका थिए । माओवादी लडाकुको आक्रमणमा परेपछि उनको जीवनले अर्कै मोड लियो । बन्दुक बोकेर लडाइँमा होमिनसक्ने वली अहिले केही काम गर्न नसक्ने भएका छन् । उनी अरुको भाषा बुझ्दैनन्, आफ्नो भाषा बुझाउन पनि सक्दैनन् । ‘सानैदेखि बोल्न नसक्ने भएको भए सांकेतिक भाषा बोल्न सिक्नु हुन्थ्यो होला । ठूलो उमेरमा भएपछि भाषा बुझ्न र बुझाउन समस्या भएको छ,’ श्रीमती सुन्दरीले भनिन्, ‘धेरै कुरा लेखेर बुझ्ने, बुझाउने गर्छौं । घरको मूल मान्छेको हालत यस्तो भएपछि हाम्रो बेहाल भएको छ ।’


उनी अझै पनि औषधि गरिरहेका छन् । दुई छोराको पालनपोषणको चिन्ता छ । जीवनको यो गति भएपछि उनलाई माओवादी लडाकुदेखि साह्रै रिस उठ्छ । अहिले पनि आक्रोश र पीडा छ । ‘एकातिर अशक्त भएको पीडा र अर्कोतिर घरपरिवारको पालनपोषणको चिन्ता । जीवनमा तनाव बढ्दै गयो,’ श्रीमतीको सहायता लिँदै उनले भने, ‘माओवादी लडाकुहरू नजिक पुग्दा पनि मलाई आक्रोश आउँथ्यो । दुस्मनजस्तो लाग्थ्यो ।’ उक्त घटनापछि उनले ५ वर्षमै जागिर छाड्नुपर्‍यो ।


समय बदलिंदै गयो । देशमा शान्तिप्रक्रिया सुरु भयो । पूर्वमाओवादी लडाकुहरूसँग भेट भयो । उनीहरू पनि घाइते, अपांग भएको भेटिए । दुवैका समस्या उस्तै उस्तै लाग्यो । अनि, अहिले आपसमा दु:खसुख बाँड्ने र चित्त बुझाउने बाटो भएको छ । ‘माओवादी लडाकुहरू दुस्मन मात्रै लाग्थे । उनीहरूले पनि मैले जस्तै दु:ख पाएको देखें । सबैका पीडा उस्तै भएपछि अहिले सम्हालिन सजिलो भएको छ,’ उनले भने, ‘अब लडाइँका कुरा भुलेर आपसमा मेलमिलाप गर्नुपर्छ । समाजमा मिलेर बस्नुपर्छ ।’


तुलसीपुर १८, दूधराशका सीपी शर्माले माओवादी लडाकु भएर धेरै लडाइँ लडे । ०६१ चैत २५ मा रुकुमको खारास्थित सैनिक व्यारेक आक्रमण गर्ने क्रममा उनलाई बमले ठूलो धक्का दियो । उनको मेरुदण्ड नै नचल्ने भयो । उनलाई पनि सरकारी सुरक्षाकर्मी दुस्मनजस्तै लाग्थे । कहिल्यै पनि सौहार्द तरिकाले कुराकानी हुन सकेन । अहिले पनि उनी निरन्तर उपचारमा छन् । वैशाखी टेकेर बल्लबल्ल हिंड्न सक्छन् । ‘छोराछोरीको लालनपालन, शिक्षा, स्वास्थ्यको समस्या छ । युद्ध लडेर देशमा परिवर्तन ल्याइयो,’ उनले भने, ‘सरकारी सेनासँग लामो दुस्मनी मोलियो । अहिले दुवै पक्षका धेरै सेनाको अवस्था नाजुक छ ।’


दुवै पक्षको बलिदानीले देशमा परिवर्तन सम्भव भएको उनको बुझाइ छ । अब पुरानो दुस्मनी सम्झेर फाइदा नभएको उनले बताए । ‘अब समाजमा दुवै पक्ष आपसमा मिलेर बस्नुपर्छ । विगतका तिक्तता बिर्सनुपर्छ । सबैले उस्तै समस्या भोगेको देखेपछि मन बुझाउन सजिलो भएको छ,’ उनले भने, ‘अब देशमा शान्ति भएको अनुभूति गर्ने बेला भएको छ । हाम्रा कारणले ठूलो राजनीतिक परिवर्तन भएको छ । हामीलाई यसैमा गर्व हुन्छ ।’


सशस्त्र द्वन्द्वपछि शान्तिप्रक्रियाका क्रममा १९ हजार ६ सय २ लडाकु प्रमाणीकरणमा परेका थिए । त्यसमध्ये १ हजार ४ सय २२ लडाकु सेनामा समायोजन भएका थिए भने अन्य अवकाश रोजेर घर फर्केका थिए । अवकाश रोज्नेमा अधिकांश घाइते, अपांग लडाकु थिए । अनमिनको प्रमाणीकरणका क्रममा ४ हजार ८ जना अयोग्य भएका थिए । अनमिनको अभिलेखअनुसार औपचारिक बहिगर्मन कार्यक्रमका क्रममा देशभरका सातवटै शिबिरबाट २ हजार ३ सय ९४ जना मात्रै बिदाइ भएका थिए । अन्य धेरैले बिदाइ हुनुअघि नै शिविर छोडिसकेका थिए ।


प्रकाशित : कार्तिक ३०, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?