नक्सा खारेजीको माग : विद्यार्थी र युवाको प्रदर्शन

कान्तिपुर संवाददाता

पाल्पा — भारतले हालै जारी गरेको नयाँ नक्सा खारेजीको माग गर्दै जिल्लाका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन भएका छन् । सत्तारूढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियु, युवासंघका साथै राष्ट्रिय जनमोर्चानिकट विद्यार्थी संगठन, युवक संगठन, कांग्रेसनिकट नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन, मसाल जुलुस, नक्सा जलाउने, हस्ताक्षर अभियानलगायत क्रियाकलाप गर्दै आएका हुन् । 

राष्ट्रिय जनमोर्चानिकट अनेरास्ववियु छैटौंले बुधबार नक्सा खारेज हुनुपर्ने माग गर्दै तानसेनमा नक्सा जलाउने, मसाल जुलुस, पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय क्षेत्र सिल्खान टोलबाट सुरु भएको जुलुस लहरेपीपल हुँदै आन्दोलन चोकमा पुगेर मसाल जुलुससहित कोणसभामा परिणत भएको थियो । सभालाई राजमो जिल्ला अध्यक्ष विशाल दर्लामी, अखिल (छैटौं) का केन्द्रीय सदस्य पुरन पोख्रेल, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य कमल थापाले सम्बोधन गरेका थिए । उता, नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पसले पनि नेपाली भूभागमाथि भारतीय अतिक्रमणका विरुद्धमा विरोध र्‍याली तथा तानसेनमा प्रदर्शन गरेको छ ।

तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसबाट सुरु भएर आन्दोलन चोक हुँदै बसपार्कबाट पुन: क्याम्पसको गेटमा पुगेर कोणसभा गरिएको छ । सभालाई नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हरिबोल भट्टराई, नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति सुरेश बोहरा, त्रिभुवन बहुमुखी क्याम्पसका उपसभापति पुण्य सुवेदी, संघका त्रिभुवन बहुमुखी क्याम्पसका कार्यवाहक सभापति सुवास गैरेले सम्बोधन गरेका थिए ।

सत्तारूढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र युवा संघले आन्दोलन चोकमा हस्ताक्षर संकलन सुरु गरेका छन् । नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे, युवा संघका जिल्ला अध्यक्ष करुणा काफ्लेलगायत स्थानीय बासिन्दा, व्यवसायी, उद्योगी, व्यापारी सबैले भारतद्वारा जारी नयाँ नक्साको विरोधमा हस्ताक्षर गरेका छन् । उता पूर्वखोलास्थित उद्बुद्ध क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पनि विरोधसभा तथा प्रदर्शन गरेको छ ।

प्रकाशित : कार्तिक २९, २०७६ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ : स्वदेशी र विदेशी पाहुनाको लस्कर 

मनोज पौडेल

(लुम्बिनी) — श्रीलंकाली भिक्षु वतुगामाना अथाहाडासी थेरो लुम्बिनीमा त्रिपिटक वाचन गर्न पाएपछि खुसी देखिए । ‘जीवनकै महत्त्वपूर्ण क्षण बन्यो,’ उनले भने, ‘बुद्ध जन्मस्थलमा आएर त्रिपिटक वाचन गर्छु भनेर सोचेकै थिइनँ ।’ थाई भिक्षु फ्रा चरान सुथीले पनि त्रिपिटक वाचन गरेर पुण्य सञ्चय गर्न पाउँदा हर्षित भएको बताए । ‘भाग्यमानीले मात्र यस्तो अवसर पाउँछन्,’ उनले भने ।

देश/विदेशका भिक्षु/भिक्षुणी लामाको सहभागितामा बुद्ध जन्मस्थल लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (बौद्ध धर्मग्रन्थ पाठ) बिहीबारबाट सुरु भएको छ । यहाँको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भ्रातृत्वको सन्देश फैलाउन पाठ गरिएको हो । मायादेवी मन्दिर छेउमा सुरु भएको पाठ शनिबार सम्पन्न हुनेछ ।

बिहान ८ बजे शान्ति द्वीपबाट शोभायात्रा निकालिएको थियो । पवित्र गन्थ त्रिपिटकलाई सिंगारपटार गरेर सम्मानका साथ अतिथिले बोकेर शोभायात्रा गर्दै मायादेवी मन्दिर परिसरमा पुगेका थिए । उपसंघनायक बोधीसेन महास्थवीरले शिल प्रदान गरेर पाठको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शान्ति र समृद्धिको आधार त्रिपिटक रहेकाले सबैले अनुसरण गर्न आग्रह गरे । ‘यसले करुणा र मैत्रीभाव बढाउँछ,’ उनले भने, ‘यसैले प्रदेश समृद्धिको आधार बन्छ ।’

थाइल्यान्डका पूर्वमन्त्री कुनिङ सुदारथले विश्वका लागि नेपाल र नेपालीको गौरव बनेका भगवान् गौतम बुद्ध जन्मस्थलमा आएर त्रिपिटक पाठ गर्न पाउँदा खुसी लागेको बताइन् । अमेरिकी बौद्ध एसोसिएसन अध्यक्ष वाङ्वो डिक्सेले१५ वर्षअघि अमेरिकाबाट सुरु भएको त्रिपिटक पाठ अहिले बल्ल बुद्धकै जन्मस्थलमा गर्न पाएको बताइन् ।

पहिलो दिन बिहान नौ थेरवादी नेपाली भिक्षुले त्रिपिटक पाठ गरे । भोजनपछि नेपाली, श्रीलंका र लाओसका भिक्षुले एक/एक घण्टा पाठ गरे । पहिलो दिन सूत्रपिटकअन्तर्गत दिग निकायको पहिलो खण्डका ब्रह्म जातक र सामान्य फल सूत्र पाठ गरिएको थियो । बीचमा बौद्ध विद्वान्, संघनायक र रिम्पोछेबाट धर्मदेशना गरिएको थियो ।

शुक्रबार सुरुमा बिहान कम्बोडिया र कोरियाका भिक्षुले पाठ गर्नेछन् । त्यसपछि नेपालका महायानी सम्प्रदायले पाठ गर्छन् । अन्तिममा चीन, जापान, भियतनामका भिक्षुले पाठ गर्नेछन् । तेस्रो दिनमा थाई भन्तेको नेतृत्वमा पाठ सुरु हुनेछ । त्यसपछि म्यानमार, क्यानडा र कम्बोडियाका भिक्षुले पाठ गर्छन् । नेपाली भिक्षुणीले पाठ गर्नेछन् । ब्रजयानका ६० शाक्यले पनि पाठ गर्छन् । पाठ हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ सम्म हुनेछ ।
दोस्रो दिन अभिधम्म पिटक र तेस्रो दिन विनय पिटक पाठ हुनेछ ।

‘यसले शान्ति र आध्यात्मिक चिन्तन बढाउँछ,’ भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले भने, ‘आध्यात्मिक र शान्ति पर्यटनलाई बढावा दिन्छ ।’ प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष र संघीय सरकारको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्‍याउने उनले बताए । बुद्ध जन्मस्थलमा त्रिपिटक पाठ भएको यो दोस्रो पटक हो । यसले लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने आयोजकको विश्वास छ । त्रिपिटक पाठमा म्यानमार, भियतनाम, थाइल्यान्ड, श्रीलंका, मलेसिया, कम्बोडिया, अमेरिकालगायत २५ मुलुकका पाँच सय भिक्षु/भिक्षुणी, लामा गुरु र उपासका/उपासिका सहभागी छन् । पाँच सय नेपाली भिक्षु, भिक्षुणी पनि सहभागी छन् । २५ मुलुकका भिक्षु एकै ठाउँमा भेला भएर गरिएको पाठले लुम्बिनीबारे धेरै ठाउँमा जानकारी पुगेर बुद्ध दर्शनले अझ व्यापकता पाएको भिक्षु महास्थवीरले बताए ।

प्रकाशित : कार्तिक २९, २०७६ १२:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×