कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिल्लामै आँखा उपचार

कान्तिपुर संवाददाता

रुकुम पूर्व — मोतिविन्दुका कारण आँखाको समस्या भोग्दै आएका जिल्लाका २ सय ३७ जनाले नि:शुल्क शल्यक्रियासहितको उपचार सेवा जिल्लामै पाएका छन् ।

जिल्लामै आँखा उपचार

सिस्ने गाउँपालिका, आँखा उपचार केन्द्र रुकुम पूर्व, राप्ती आँखा अस्पताल तुलसीपुर दाङको आयोजनामा मोतिबिन्दुको नि:शुल्क उपचार र चेकजाँच भएको हो । जिल्लाभरका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट २ सय ८१ जनाले सेवा लिएको आँखा उपचार केन्द्रका प्रमुख सञ्जय पाठकले बताए । ‘४४ जनाको सर्जरी भयो, २ सय ३७ जनाले ओपीडीमा आँखाको चेकजाँच तथा उपचार गराए,’ उनले भने, ‘शिविरमा राप्ती आँखा अस्पतालका डा. सुरेश रसाइलीको टिमले सेवा प्रवाह गरेको थियो । अधिकांशका आँखामा मोतिविन्दुको लक्षण देखिएको तथा ध्यान दिएर आँखाको हेरचाह तथा सरसफाइ नपुर्‍याएकाले समस्या आएको पाइएको उनले बताए ।


केही महिनाअघि रुकुम पूर्वमा आँखा उपचार केन्द्र स्थापना भएको थियो । यसैको सहयोगमा आँखाको नि:शुल्क शिविर सम्पन्न गरेको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । ‘शिविरले जिल्लामा आँखा उपचार केन्द्र पनि छ भन्ने प्रचारका साथै शल्यक्रियाको सुविधा दिएको छ,’ उनले भनिन्, ‘आगामी दिनमा पनि यस्तै सेवा दिने योजना गाउँपालिकाले बनाएको छ ।’


प्रकाशित : कार्तिक २९, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?