कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूमि मिचाइविरुद्ध : विद्यार्थीद्वारा साङ्ले र्‍याली

कान्तिपुर संवाददाता

(रोल्पा) — भारतले नेपाली सीमा मिचेको विरोधमा रोल्पामा विद्यार्थीले र्‍याली निकालेका छन् । सदरमुकामस्थित बालकल्याण नमुना उच्च माविका दुई हजारभन्दा बढी विद्यार्थीले सदरमुकाम लिबाङमा आइतबार प्रदर्शन गरेका हुन् । 

भूमि मिचाइविरुद्ध : विद्यार्थीद्वारा साङ्ले र्‍याली

विद्यार्थीको उक्त र्‍याली स्थानीय साततालेदेखि टुँडिखेलसम्म एउटै लाइन बनेको थियो । राष्ट्रप्रति चिन्ता गरेकाले विद्यार्थीकै अनुरोधमा साङ्ले र्‍याली गरिएको प्राचार्य मधुसूदन पोखरेलले बताए । विद्यार्थीले भारतीय हस्तक्षेपको विरोधमा नाचगानसमेत गरेका थिए । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेक हाम्रै हो, भारतीय हस्तक्षेप बन्द गर्, नेपाल सरकारले तुरुन्तै कूटनीतिक वार्ता थालोस्, दलहरू सचेत होऊन्’ भन्ने नारा लगाउँदै विद्यार्थीको र्‍यालीप्रति स्थानीय युवा, अधिकारकर्मी, दलका कार्यकर्ताले ऐक्यबद्धता जनाएका थिए । विद्यार्थीले सरकारलाई कूटनीतिक रूपमा भारतसँग सीमा मिचिएकोबारे ध्यानाकर्षण गराउन र बोल्न पनि आग्रह गरे ।


नेपाली भूमि लिपुलेक र कालापानीसमेतलाई आफ्नो सीमाभित्र पारिएको राजनीतिक नक्सा केही दिनअघि भारतले सार्वजनिक गरेपछि नेपालभर त्यसको विरोध सुरु भएको छ । रोल्पामा यसअघि पनि विद्यार्थी, युवा, पेसाकर्मी र अधिकारकर्मीले विरोध गरेका छन् ।


धनकुटामा प्रदर्शन


(धनकुटा) । कालापानी, लिपुलेकलगायत नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएको विरोधमा धनकुटामा युवाहरूले सोमबार विरोध प्रदर्शन गरेका छन् ।


धनकुटा युथलगायत युवा समूहले प्रदर्शन गरेका हुन् । उनीहरूले कालो ब्यानर र राष्ट्रिय झन्डासहित विभिन्न नारा जुलुससहित धनकुटा बजार परिक्रमा गरेका थिए । यस्तै बजारको मुख्य भाग मदन चोकमा एक घण्टा धर्ना दिएका थिए ।


यसैगरी सामाजिक सञ्जालमा संगठित एमआरआरले समेत उक्त कार्यको विरोध जनाएको छ । लिपुलेक, कालापानी, लिम्पियाधुरालगायत हाम्रो हो, भारतीय अतिक्रमण बन्द गर, गो ब्याक इन्डिया जस्ता नारा लगाइएको थियो ।


विरोध प्रदर्शनलाई अझ सशक्त बनाइने एमआरआरका धनकुटा प्रतिनिधि सनुज उराउले बताए । भारतीय नक्सामा समेटिएको नेपाली भूभाग फिर्ता गराउन सरकारले सशक्त भूमिका खेल्नुपर्नेमा उनीहरूले जोड दिए ।


प्रकाशित : कार्तिक २६, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?