उपयोगविहीन स्वास्थ्य बिमा

जिल्लामा डाक्टरसहितको स्वास्थ्य संस्था नभएकाले बिमा गरेबापतको सेवा पाउन सकेका छैनन् । सुविधा नपाएपछि नवीकरण गर्ने घटे ।
हरि गौतम

(रुकुम पूर्व) — पुथाउत्तरगंगा गाउँपालिका–१३ का हुकुमबहादुर बुढा मगरले ३ हजार ३ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराएका थिए । पाँच जना सदस्यको २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेमा सात सदस्यीय परिवारको स्वास्थ्य बिमा गराउँदा उनको बढी  रकम खर्च भएको हो । 

अहिलेसम्म उनले बिमाबापत कुनै सुविधा पाएका छैनन्, न त उनको परिवारका कुनै सदस्यले नै त्यसको लाभ लिन सकेका छन् । बिरामी नभएर वा अन्य कारणले भन्दा पनि जिल्लामा डाक्टरसहितको स्वास्थ्य संस्था नभएकाले उनले स्वास्थ्य बिमा गरेबापतको सेवा पाउन नसकेका हुन् ।

भूमे गाउँपालिका–७ की राममाया रोका मगरले यस वर्षको सुरुमै गर्नुपर्ने स्वास्थ्य बिमा नवीकरण गरिनन् । स्वास्थ्य बिमा गरेबापत कुनै पनि सेवा लिन नपाएपछि उनले गत वैशाखमै गर्नुपर्ने नवीकरण नगरेकी हुन् ।
हुकुम र राममाया त उदाहरणमात्रै हुन् । सस्तो शुल्कमा उपचार सेवा पाइने भनेर जिल्लामा स्वास्थ्य बिमा गरेका साढे चार हजारभन्दा बढी सर्वसाधारणले यसबाट लाभ लिन नसकेपछि अहिले निराश छन् । जिल्लाका कुनै पनि स्थानीय तहमा स्वास्थ्य केन्द्र छैनन् । त्यसैले स्वास्थ्य बिमितले सेवा पाउन नसकेका हुन् ।

स्वास्थ्य बिमा गरेकाहरूले सेवा पाउनका लागि स्वास्थ्य बिमा कम्पनीसँग सम्झौता गरेको स्वास्थ्य संस्था हुनुपर्छ । तर, त्यसको अभावमा सर्वसाधारणका लागि स्वास्थ्य बिमा उपयोगी बन्न सकेको छैन । डाक्टरसहितको स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य बिमा कम्पनीसँग सम्झौता गर्न पाउँछ । तर, जिल्लामा तत्कालीन समयमा पुथाउत्तरगंगा गाउँपालिका–१२, कोलमा मात्रै डाक्टरसहितको स्वास्थ्य केन्द्र थियो । दरबन्दी भए पनि नियमित डाक्टर नबस्ने तथा फार्मेसीसमेत नभएपछि स्वास्थ्य बिमा कम्पनीले उक्त केन्द्रसँग समयमै सम्झौता गर्न सकेन । जिल्लाका अन्य दुई स्थानीय तहमा डाक्टर नै नभएपछि स्वास्थ्य बिमा गर्दा समस्या भयो ।

स्वास्थ्य बिमा कम्पनीका जिल्ला संयोजक भरतबहादुर खड्काले उपचार नपाउने भएपछि बिमा गर्नेहरू पनि घटेको बताए । ‘प्रथम सेवा विन्दु नै नभएपछि समस्या भएको हो,’ उनले भने, ‘त्यसको व्यवस्थापनमा पहल भइरहेको छ ।’ स्वास्थ्य संस्था नै नभएपछि स्वास्थ्य बिमितले सेवा लिन समस्या भएको उनले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कात्तिक ४ मा फार्मेसी सञ्चालन गरियो । तर, हालसम्म स्वास्थ्य बिमितको उपचार सुरु भएको छैन । पुथाउत्तरगंगा गाउँपालिकाको तीन लाख रुपैयाँ सहयोगमा फार्मेसी सञ्चालनमा ल्याइए पनि त्यसले स्वास्थ्य बिमितका लागि खासै काम गर्न सकेको छैन । केही महिनाअघि मात्रै सञ्चालनमा आएको जिल्ला अस्पतालमा पनि स्वास्थ्य बिमितको उपचार गर्ने सम्झौता छैन । सम्झौता नै नभएपछि स्वास्थ्य बिमा गरेकाहरूले अन्य सरह नै उपचार गरिरहेका छन् । यसले गर्दा सर्वसाधारणलाई स्वास्थ्य बिमा उपयोगविहिन भइरहेको छ । ‘५० हजार रुपैयाँसम्मको उपचार नि:शुल्क हुन्छ भनेर बिमा गरियो,’ हुकुमबहादुरले भने, ‘अहिलेसम्म सबै परिवारको उपचार खर्च डेढ लाखभन्दा बढी भयो, बिमाबाट एक रुपैयाँको पनि औषधि पाइएन ।’ उनले आवश्यक पूर्वाधारबिना नै बिमा लागू गरिएकाले समस्या भएको बताए ।

जिल्लाभर ४ हजार ८ सय ३२ जनाले स्वास्थ्य बिमा गरेका छन् । सेवा नपाइएपछि कतिले दोस्रो वर्ष नवीकरण नै गरेनन् । जिल्ला अस्पतालमै स्वास्थ्य बिमाको सम्झौताका लागि पहल भइरहेको जिल्ला समन्वय समिति प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर ओलीले बताए । ‘सम्बन्धित कार्यालय र मन्त्रालयमा कुरा भइरहेको छ,’ उनले भने, ‘छिट्टै समस्या समाधान हुनेमा विश्वस्त छौं ।’

प्रकाशित : कार्तिक २६, २०७६ ११:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

फूल खेतीमा आमाहरू

आमा समूहले गाउँलाई फूलमा आत्मनिर्भर बनाउँदै वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्
कान्तिपुर संवाददाता

(कास्की) — गाउँलाई आत्मनिर्भर बनाउने र बजारमा पठाएर आम्दानी लिने सोचका साथ आमा समूहले फूल खेती गरेका थिए । मेहनतअनुसार फूल राम्रै फुल्यो । फूलले बजार मूल्य भने पाएन । 

मेहनत अनुसारको मूल्य नपाउँदा दु:ख लागेको मादी गाउँपालिका–२ ताङतिङकी पूर्णसुवा गुरुङ बताउँछिन् । ‘माला घरैदेखि बिक्री हुन्छ,’ ताङितङ होमस्टेकी सचिवसमेत रहेकी गुरुङ भन्छिन्, ‘उचित मूल्य नपाउँदा मर्कामा परियो ।’ आमा समूहलाई काम पनि हुने र फूलमा आत्मनिर्भर भएर केही बजार पठाउने उद्देश्यसहित २ वर्षअघि वडाबाट विनियोजन गरिएको महिला लक्षित वर्गतर्फको १ लाख रुपैयाँको लगानी गरि फूल खेती थालिएको थियो ।

आमा समूह अध्यक्ष पुष्टिमाया गुरुङले ३ रोपनी जग्गामा फूल खेती गरिएको बताइन् । ‘भनेजस्तो मूल्य पाइएन,’ उनले भनिन्, ‘यसपटक ४ लाख आम्दानी हुने अपेक्षा थियो । तर त्यसको आधामात्रै भयो ।’ गत वर्ष पनि २ लाख रुपैयाँमात्र आम्दानी भएको थियो । ‘फूल र माला बिक्री नहुने हैन तर, कम मूल्यमा दिनुपर्छ,’ गुरुङ भन्छिन्, ‘फूलको मूल्य सम्बन्धित निकायले तोकिदिए राम्रो हुने थियो ।’

गाउँमा सयपत्री फूल बाह्रैमास फुल्छ । यसले फूलको कहिल्यै अभाव हुँदैन । प्रतिगोटा माला ५० रुपैयाँभन्दा बढी नदिने अध्यक्ष गुरुङ सुनाउँछिन् । गुरुङका अनुसार समूहले अरूको जग्गा भाडामा लिएर फूल खेती गरेको हो । फूलमाला विभिन्न कार्यक्रम, विवाहका लागि बिक्री हुन्छ । वडाध्यक्ष एक्काजंग गुरुङ पनि सम्बन्धित निकायले मूल्य सुहाउँदो गराइदिए आमाहरू आत्मनिर्भर हुनेमा ढुक्क हुने सुनाए । अहिलेसम्म फूल पोखराका विभिन्न पार्टी प्यालेस र संघसंस्थाले लैजाने गरेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ ११:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×