विद्यालय र शिक्षक मिलानमा समस्या

कान्तिपुर संवाददाता

रोल्पा — नगरभित्रको शैक्षिक अवस्था सुधार्न रोल्पा नगरपालिकाको शिक्षा समितिले विद्यालय गाभ्ने, विषयगत शिक्षकको दरबन्दी मिलान गर्ने र विद्यार्थीको संख्याअनुसार शिक्षकको दरबन्दी कायम गर्ने प्रक्रिया अघि सारेको छ । तर, कार्यकर्ताकै दबाबले जनप्रतिनिधिले त्यो नीति कार्यान्वयनमा चासो देखाएनन् । त्यसले शिक्षाकै गुणस्तर घट्दै गएको छ । 

नगर शिक्षा समितिअनुसार सुरुमा विद्यालय गाभ्न र शिक्षकको दरबन्दी मिलान गर्न सबै तथ्यांक संकलन गरिएको थियो । समितिमार्फत जनप्रतिनिधिको बैठकमा छलफल चलाउँदा भने प्रस्तावले प्राथमिकता पाएन । विद्यालय गाभ्न र शिक्षक सरुवा नगर्न शिक्षक र पार्टीका कार्यकर्ताले दबाब दिएपछि प्रस्तावै रोकिएको हो ।

नगरभित्रको शैक्षिक अवस्था सुधार गर्न अहिलेको तरिका र अवस्थालाई बदल्नैपर्ने अवस्था रहेको नगर शिक्षा अधिकारी महेन्द्र पराजुलीले बताए । ‘सबै तयारी गरिएको थियो,’ उनले भने, ‘तर, जनप्रतिनिधि र माथिल्लो तहका नेताबीच मतैक्य निर्माण हुन सकेको छैन ।’ अहिलेकै अवस्थाले शैक्षिक अवस्थामा सुधार नआउने उनले बताए । स्थानीय तह गठन गर्दा सदरमुकाम लिबाङसँग दुर्गम एवं भित्री गाउँलाई समेत गाभेर नगर बनाइएकाले दुर्गमको शैक्षिक अवस्था निकै कमजोर छ । ती गाउँमा कतै शिक्षक दरबन्दी अभाव छ भने कतै विद्यालयको भौतिक अवस्था जीर्ण छ ।

रोल्पा नगरमा सामुदायिक र निजी गरी ७३ विद्यालय छन् । धेरैको अवस्था उस्तै छ । सामुदायिक विद्यालयको अवस्था सुधार गर्न नगरले सुरुवाती अवस्थादेखि नै शैक्षिक योजना बनाउन थालिएको नगर प्रमुख पूर्ण केसीले बताए । स्थानीय सरोकारवालासँग छलफल गरी शैक्षिक नीति निर्माण गर्ने र कार्यान्वयन गरिने उनले सुनाए । नगरमा ६५ बाल विकास केन्द्र, ५ सामुदायिक सिकाइ केन्द्र र कक्षा १२ सम्म पढाइ हुने ३ संस्था छन् । ५९ बालविकास केन्द्र विद्यालय हाताभित्रै छन् । नगरभित्र करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् । नगरभित्र १ सय ६८ शिक्षक कार्यरत छन् । शिक्षकको दरबन्दी संख्या १ सय २ मात्रै छ । अपुग दरबन्दीमा निजी, राहत र सट्टा पदमा शिक्षक नियुक्त गरिएको छ । शिक्षकलाई तलब र विद्यार्थीलाई पुस्तक खर्च गरी राज्यले प्रतिविद्यार्थी करिब १५ हजार रुपैयाँ खर्च गर्ने गरेको छ ।

पश्चिमी रोल्पाको त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिले शैक्षिक सुधार गर्ने उद्देश्यले विद्यालय गाभ्ने र शिक्षक दरबन्दी मिलान गर्न प्रस्ताव अघि सारे । तर, विरोधका कारण योजना अघि बढेन । गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले शिक्षा समितिमार्फत प्रस्तावित योजना कार्यान्वयन गर्न केही समस्या देखिएको स्विकारे । ‘जनप्रतिनिधिका हैसियतमा कतिपय योजना जबरजस्त कार्यान्वयन गर्न चुनौती देखिएको छ,’ उनले भने, ‘तैपनि, जनस्तरमा छलफल चलाई कार्यान्वयन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।’ उनका अनुसार थोरै विद्यार्थी भएका र भौतिक अवस्था नाजुक भएका विद्यालय गाभ्ने योजना अघि सारिएकामा छलफल चलाउँदा सहमति जुट्न सकेको छैन ।

अध्यक्ष वलीले जनप्रतिनिधिलाई भन्दा शिक्षा मन्त्रालय वा विभागलाई शिक्षकको दरबन्दी मिलान र विद्यालय गाभ्ने अधिकार दिनुपर्ने बताए । ‘जनप्रतिनिधिलाई यस्तो निर्णय गर्न समस्या हुनेरहेछ । नीति निर्माणमा सजिलो भए पनि कार्यान्वयन गर्न समस्या हुने देखिएको छ,’ उनले भने, ‘त्रिवेणीमा सबै तहका गरी करिब ५० विद्यालय छन् ।’ जनप्रतिनिधिले विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने चाहना राखे पनि कार्यकर्ता र आफूनिकट शिक्षकले विरोध गर्ने गरेकाले आफैंले अघि सारेका योजना कार्यान्वयन गर्न सकेका छैनन् । प्राय: जनप्रतिनिधिले निर्वाचित भएदेखि नै शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्ने घोषणा र प्रतिबद्धता गरेका थिए ।

धेरैजसो विद्यालयमा कार्यरत शिक्षक छनोटमा सुरुवाती चरणमै राजनीतिक, शक्ति र पहुँचको प्रभाव पर्ने गरेको छ । जसका कारण गुणस्तरीय शिक्षा प्रवाहमा नकारात्मक असर परेको अभिभावकको बुझाइ छ । निजी र राहत दरबन्दीमा शिक्षक छनोट गर्दा पनि राजनीतिक प्रभाव पर्ने गरेको छ । सरकारले वार्षिक रूपमा माविलाई २ लाख, आधारभूतलाई डेढ लाख र प्राविलाई १ लाख रुपैयाँ दिने गरेको छ । विद्यालयहरूले उक्त बजेटबाट तलब दिनेगरी राहत शिक्षक नियुक्त गर्दै आएका छन् ।



प्रकाशित : कार्तिक २३, २०७६ ०९:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नदी किनारमा भक्तजन

‘मेलामा सुन्तला, सुपो, डोको, माटाका भाँडा, तरूल, सखरखण्डको किनबेच राम्रै भएको छ’
माधव अर्याल

(पाल्पा) — कालीगण्डकी नदीको महिमा प्रचारप्रसार गर्ने उद्देश्यले बृहत् कालीगण्डकी महोत्सव शुक्रबार गरिएको छ । कालीगण्डकीको महिमा गाउने भजन प्रतियोगिता, लोककलाकारले कालीगण्डकीको महिमा विषयमा गीत गाए । रम्भा गाउँपालिकाले उत्तरवाहिनी क्षेत्र असेर्दीमा राखेको महोत्सवमा पाल्पा र स्याङजाबाट स्थानीयको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कालीगण्डकीको महिमा गाउने, यसको प्रचार गर्ने उद्देश्यले महोत्सव राखिएको हो । 

कालीगण्डकी सबै भन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो । नदीबाट सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित छ । नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई कालीगण्डकी नामाकरण गरिएको हुन सक्ने जानकारको भनाई छ । हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको अध्यक्ष भण्डारीले बताए । मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्वसमेत रहेको उनले बताए ।

‘कागबेनीमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन्,’ उनले भने, ‘त्यसपछि उक्त नदीलाई काली गण्डकी नदी भनिन्छ । यसको महत्व सबै क्षेत्रमा प्रचारप्रसार पनि भएको छ ।’ कालीगण्डकी नदीको अस्तित्व बचाउन पर्ने अवस्था आएकाले रम्भा गाउँपालिकाले महोत्सव आयोजना गरेको हुँगीका वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको यस क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका छन् ।

‘नदीको महत्व बचाउन बृहत् कालीगण्डकी महोत्सव गरेका हौं,’ उनले भने, ‘कालीगण्डकी संरक्षण गर्ने, शालिग्रामको धार्मिक महत्व उजागर गराउने र धार्मिक संस्कृति संरक्षण गर्न खोजिएको छ ।’ राष्ट्रिय भजन प्रतियोगितामा पनि सोही अनुसारको महत्वको प्रचार गरिएको छ । कालीगण्डकीको महत्व र अस्तित्व बचाइ राख्न महोत्सवले सहयोग पुग्ने स्थानीयले बताए । महोत्सव गर्न गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । महोत्सवमा कालीगण्डकी नदी प्रभावित क्षेत्रका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

नदी किनारमा एकादशी मेला भर्नेको भीड
हरिबोधनी एकादशीको अवसरमा कालीगण्डकी किनारमा शुक्रबार बिहानैदेखि नुहाउने र मेला भर्नेको घुइचो लाग्यो । भक्तजनहरू नदी किनारमा नुहाउने, पुजा गर्ने गरेका थिए । पाल्पा र स्याङ्जाको सिमाना कालीगण्डकी नदी किनारका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । काली नदीको तटमा नुहाउन, तोरण तार्न हज्जारौ भक्तजन टाढा टाढाबाट समेत आएका थिए ।

पाल्पाको रिडी, रानीघाट, राम्दी, आंधीघाट, केलादी, खोरियाघाट, हुंगीघाट लगाएतका स्थानमा मेला लागेको थियो । महिला तथा पुरुषहरू व्रत गर्ने र नदीमा नुहायो भने मनले चिताएको पुग्ने विश्वासमा नदीको तटमा भक्तजनको भिड लाग्नेगर्छ । मेलामा घरेलु सामाग्रीको किनमेल पनि अत्यधिक रहेको छ ।

सुन्तला, सुपो, डोको, माटोको भाडा, तरुल, सखरखण्ड लगायतको किनमेल अधिक थियो । मेला भर्न पाल्पा लगायत स्याङ्जा, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, तनहुं लगायतका स्थानबाट आएका थिए । विशेषगरि राम्दीमा सवारी साधनको सुविधाले गर्दा बढी भीड लागेको मेला भर्न पुगेकी विमला रायमाझीले बताइन् । रानीमहलको रानीघाट क्षेत्रमा समेत श्रद्धालु स्नान गर्न र रानीमहल अवलोकन गर्न पुगेका थिए । पाल्पा, गुल्मी र स्याङ्जाको सिमाना रिडी रुरुक्षेत्रमा समेत स्थान गर्नेको भीड लागेको थियो ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT