नदी किनारमा भक्तजन

‘मेलामा सुन्तला, सुपो, डोको, माटाका भाँडा, तरूल, सखरखण्डको किनबेच राम्रै भएको छ’
माधव अर्याल

(पाल्पा) — कालीगण्डकी नदीको महिमा प्रचारप्रसार गर्ने उद्देश्यले बृहत् कालीगण्डकी महोत्सव शुक्रबार गरिएको छ । कालीगण्डकीको महिमा गाउने भजन प्रतियोगिता, लोककलाकारले कालीगण्डकीको महिमा विषयमा गीत गाए । रम्भा गाउँपालिकाले उत्तरवाहिनी क्षेत्र असेर्दीमा राखेको महोत्सवमा पाल्पा र स्याङजाबाट स्थानीयको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कालीगण्डकीको महिमा गाउने, यसको प्रचार गर्ने उद्देश्यले महोत्सव राखिएको हो । 

कालीगण्डकी सबै भन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो । नदीबाट सबैभन्दा ठूलो जलविद्युत उत्पादन केन्द्र सञ्चालित छ । नदीले ठूलो मात्रामा कालो रङ्गको माटो बगाएर ल्याउने भएकाले यसलाई कालीगण्डकी नामाकरण गरिएको हुन सक्ने जानकारको भनाई छ । हिन्दू धर्मका विष्णु भगवानको साक्षात् रूप मानिने शालिग्राम पाइने एकमात्र स्थानका रूपमा रहेको अध्यक्ष भण्डारीले बताए । मुक्तिनाथ र देवघाटजस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिक मात्र नभई पर्यटकीय महत्वसमेत रहेको उनले बताए ।


‘कागबेनीमा मुक्तिनाथ मन्दिरमा उत्पत्ति हुने काग खोला र मुस्ताङ खोला मिसिन्छन्,’ उनले भने, ‘त्यसपछि उक्त नदीलाई काली गण्डकी नदी भनिन्छ । यसको महत्व सबै क्षेत्रमा प्रचारप्रसार पनि भएको छ ।’ कालीगण्डकी नदीको अस्तित्व बचाउन पर्ने अवस्था आएकाले रम्भा गाउँपालिकाले महोत्सव आयोजना गरेको हुँगीका वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको यस क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका छन् ।


‘नदीको महत्व बचाउन बृहत् कालीगण्डकी महोत्सव गरेका हौं,’ उनले भने, ‘कालीगण्डकी संरक्षण गर्ने, शालिग्रामको धार्मिक महत्व उजागर गराउने र धार्मिक संस्कृति संरक्षण गर्न खोजिएको छ ।’ राष्ट्रिय भजन प्रतियोगितामा पनि सोही अनुसारको महत्वको प्रचार गरिएको छ । कालीगण्डकीको महत्व र अस्तित्व बचाइ राख्न महोत्सवले सहयोग पुग्ने स्थानीयले बताए । महोत्सव गर्न गाउँपालिकाले दुई लाख बजेट विनियोजन गरेको छ । महोत्सवमा कालीगण्डकी नदी प्रभावित क्षेत्रका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।


नदी किनारमा एकादशी मेला भर्नेको भीड

हरिबोधनी एकादशीको अवसरमा कालीगण्डकी किनारमा शुक्रबार बिहानैदेखि नुहाउने र मेला भर्नेको घुइचो लाग्यो । भक्तजनहरू नदी किनारमा नुहाउने, पुजा गर्ने गरेका थिए । पाल्पा र स्याङ्जाको सिमाना कालीगण्डकी नदी किनारका विभिन्न स्थानमा मेला लाग्ने गर्छ । काली नदीको तटमा नुहाउन, तोरण तार्न हज्जारौ भक्तजन टाढा टाढाबाट समेत आएका थिए ।


पाल्पाको रिडी, रानीघाट, राम्दी, आंधीघाट, केलादी, खोरियाघाट, हुंगीघाट लगाएतका स्थानमा मेला लागेको थियो । महिला तथा पुरुषहरू व्रत गर्ने र नदीमा नुहायो भने मनले चिताएको पुग्ने विश्वासमा नदीको तटमा भक्तजनको भिड लाग्नेगर्छ । मेलामा घरेलु सामाग्रीको किनमेल पनि अत्यधिक रहेको छ ।


सुन्तला, सुपो, डोको, माटोको भाडा, तरुल, सखरखण्ड लगायतको किनमेल अधिक थियो । मेला भर्न पाल्पा लगायत स्याङ्जा, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी, तनहुं लगायतका स्थानबाट आएका थिए । विशेषगरि राम्दीमा सवारी साधनको सुविधाले गर्दा बढी भीड लागेको मेला भर्न पुगेकी विमला रायमाझीले बताइन् । रानीमहलको रानीघाट क्षेत्रमा समेत श्रद्धालु स्नान गर्न र रानीमहल अवलोकन गर्न पुगेका थिए । पाल्पा, गुल्मी र स्याङ्जाको सिमाना रिडी रुरुक्षेत्रमा समेत स्थान गर्नेको भीड लागेको थियो ।


प्रकाशित : कार्तिक २३, २०७६ ०९:५३

प्रतिक्रिया
पठाउनुहोस्

धानमा कालोपोके

माधव अर्याल

(पाल्पा) — जिल्लाका अधिकांश स्थानमा काट्ने बेलाको धानमा कालोपोके रोग देखा परेको छ । ढुसी जातको यस रोगले यस वर्ष धान उत्पादनमै असर पर्ने देखिएको छ । जिल्लाका अधिकांश एग्रोभेटले यूएस ३१२ जातको बीउ बिक्री गरेका थिए । त्यसमै अत्यधिक कालोपोके फैलिएको किसानको दाबी छ । माडी फाँट, दमार, भैसीकट्टा, झडेवा, रामपुर, पूर्वखोला, अगाहाखोला, अर्गली, बाँसटारीलगायतका स्थानमा कालोपोकेले सताएको हो । 

रोग फैलिँदा जिल्लामा २० प्रतिशत बढी धानबाली नष्ट भएको अनुमान किसानको छ । काट्ने अवस्थामा धानबाली रोगले नष्ट गरिदिएपछि किसान मर्कामा परेको माथागढी गाउँपालिका–३, कसेनी, सिकारकोटका खड्गबहादुर ठाडाले बताए । उनका अनुसार अधिकांश स्थानका खेतमा लगाएको धानबालीमा कालोपोके रोग लागेको छ । ‘रोगले भित्र्याउन तयार हुँदै गरेको धानबाली नष्ट गरेको छ,’ उनले भने, ‘अब कसरी यसलाई छुट्याउने हो भन्ने विपत्मा छौं ।’ उनले हाइब्रिड धानखेती रोगले सखापै पारेको बताए ।

यहाँ राम्रो फलेकाले उक्त जातको हाइब्रिड धानको बीउ अधिकांश किसानले लगाएका हुन् । उत्पादकत्व र क्षेत्रफलका हिसाबले धान खेतीमा बाला लागिसकेपछि पाक्ने बेलामा यो रोग देखा परेकाले किसान चिन्तित भएका हुन् ।

रोग लागेका बालाका सबै दाना कालो धूलोमा परिणत भएको छ । ‘सुरुमा कालोपोके एक प्रकारको झिल्लीले ढाकेको थियो,’ ठाडाले भने । कृषि प्राविधिकका अनुसार झिल्ली केही समयपछि फाटेको हो । त्यसको बिजाणु हावामा फैलिने प्राविधिकले बताए । रोगी बीउ नै रोगको प्रमुख स्रोत हो । संक्रमित बीउ खेतबारीमा छरेपछि बिरुवा उम्रे, बढ्दै जाँदा सुषुप्त अवस्थाका जीवाणुका मसिना रेशा सक्रिय भए । बाला लाग्ने समयमा बिजाणुहरू निस्केर पूरै बालामा अंगारको जस्तो कालो ढुसीका पोका देखिएको किसान ठाडाले बताए ।

वर्षभरि खान दु:ख गरेर लगाएको धानबाली भित्र्याउने बेला रोगले नष्ट गरेपछि के खाने भनेर समस्या परेको कसेनी दमारका पूर्णबहादुर गाहाले बताए । उनको खेतमा लगाएको धानमा ५० प्रतिशत बढी कालोपोके देखिएको छ । ‘पसाउने बेलामा पानी परेर हो कि भन्ने लागेको छ,’ उनले भने, ‘मल राख्न नपाएर हो कि भन्ने पनि लागेको छ ।’

बीउ बिजन बिक्री गर्ने बिक्रेता, कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि प्राविधिकले यस विषयमा अध्ययन गर्नु जरुरी रहेको गाहाले बताए । ‘हामीलाई कालोपोके रोगले बर्वादै बनायो,’ उनले भने, ‘वर्षभरि खाने धानमा कालोपोकेले सत्यानाशै पारेको छ ।’ अन्यत्र भन्दा दमार क्षेत्रमा कालोपोकेले बढी असर गरेको उनले सुनाए । माडीफाँट क्षेत्रमा अघिल्लो वर्ष कहींकतै उक्त जातको धानमा कालोपोके लागेको थियो । यस वर्ष भने अत्यधिक देखिएको छ । बढी उत्पादन हुने क्षेत्रमै हाइब्रिड धानमा कालोपोके रोग लागेको माडीफाँटकै अर्का किसान मानबहादुर थापाले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख शिव अर्यालले आफूहरूलाई कालोपोकेका विषयमा अहिलेसम्म कुनै गुनासो नआएको बताए । उनका अनुसार ढुसीजन्य यस रोगको उपचारका लागि बीउमै समस्या भएको हुन सक्छ । उक्त रोगको यकिन उपचार नभएकाले किसान मर्कामा परेका छन् । बीउ लगाउनु पूर्व विषादी हालेर पानीमा भिजाउनु पर्ने भए पनि कृषकहरूले सीधै खेतमा लगाउँदा समस्या आएको हुन सक्ने उनले बताए । हावाको माध्यमबाट अन्य स्थानमा यो रोग फैलदै जाने भएकाले हाइब्रिड धानमा बढी असर गर्छ । यसले स्थानीय धानको जातलाई भने क्षति गर्न नसक्ने प्रमुख अर्यालले बताए ।

जिल्लाका तीन सय हेक्टरभन्दा बढी खेतमा लगाएको धानमा कालोपोकेले सताएको छ । । धानबाली लगाउने ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिंचाइ सुविधा उपलब्ध छ । वर्षैभरि ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिंचाइ हुन्छ ।

प्रकाशित : कार्तिक २०, २०७६ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×