कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता कुर्दै परिवार

कमल पन्थी

(बर्दिया) — बारबर्दिया नगरपालिका ११, बेलभारका १८ वर्षीय राजन थारू घर नजिकै खेल्दै गर्दा १८ वर्ष अघि नै तात्कालिन सुरक्षा फौजले बेपत्ता पार्‍यो । बाँकेको चिसापानीस्थित नेपाली सेनाको ब्यारेकमा पुर्‍याइयो ।

बेपत्ता कुर्दै परिवार

०५८ पुस ५ गते छोरालाई सेनाले पक्राउ गरी लगेको खबरपछि ६५ वर्षीया आमा फकली चिसापानी ब्यारेक पुगिन् । सोधखोज गर्दा पक्राउ नगरेको जवाफ दिइयो । तर, त्यसयता फक्लीका एकमात्र छोरा राजनको अहिलेसम्म कुनै पत्तो छैन । अब छोरो घर फर्किने आशा उनले मारिसकेकी छन् । छोराको सुर्तामा परेका श्रीमान् पनि २ वर्ष अघि बिते । अहिले फकली एक छोरीको सहारामा छन् ।


०५८ चैत १ गते सोही गाउँमा ५ नि:शस्त्र युवालाई सेनाले मारेको थियो । सुरेश थारूलाई स्थानीय सिम्मा माविको चौरमा दिउँसै गोली हानी हत्या गरिएको वडाध्यक्ष अजय चौधरीले बताए । खेतमा घाँस काटिरहेको अवस्थामा स्थानीय कर्णबहादुर थारूको पनि हत्या गरियो । ‘सेनाले तिलकजंग थारू, जितबहादुर चौधरी, कन्हैया चौधरीलगायतको हत्या गरेको थियो,’ उनले भने, ‘हत्या गरिएको महिना नबित्दै अन्य ४ जनालाई बेपत्ता पारियो ।’ हत्या गरिएकामध्ये कन्हैया अपाङ थिए । कक्षा ९ मा पढ्न विद्यालय गएका उनी विद्यालयमै सेना देखेर भाग्न खोज्दाखोज्दै गोली हानेर मारेको उनले बताए ।


बेलभार गाउँबाट राजन, चैतुलाल थारू र रामजानकी थारूलाई बेपत्ता पारिएको छ । हरिबहादुर थारूलाई भने बाँकेबाट बेपत्ता पारिएको थियो । चैतुलाल र रामजानकी पतिपत्नी हुन् । विवाह गरेको एक महिना नवित्दै उनिहरूलाई बेपत्ता पारिएको द्वन्द्व पीडित समितिका जिल्ला अध्यक्ष एवं द्वन्द्व पीडित साझा चौतारीका केन्द्रीय सदस्य भागीराम थारूले बताए । चारैजनालाई ०५८ पुस ५ गते बेपत्ता पारिएको थियो । ‘ती घटना अझै ताजै छ,’ स्थानीय आशाराम थारूले भने, ‘दिउँसै विद्यालयको चौर र खेतमा गोली प्रहार गरेको घटनाले त्यतिबेला धेरैले घर नै छाडेर विस्थापित भएका थिए ।’ अहिले फर्किने क्रम सुरु भएको उनले बताए ।


अहिले पनि बेला बेलामा पुरानो घटनाले झस्काउने ८० वर्षीय ठग्गु थारू बताउँछन् । उनका छोरा चैतु र बुहारी रामजानकीलाई सेनाले बेपत्ता पारेका थिए । छोरा, बुहारी बेपत्ता भएको १८ वर्ष पुग्यो,’ उनले भने, ‘फर्किन्छन् भने आशा नभए पनि सत्य तथ्य बाहिर सार्वजनिक नगरेसम्म अन्योल भइरहन्छ ।’ बेपत्ता पारिएका र हत्या गरिएकाका परिवारले निष्पक्ष छानबिन गरि दोषी माथि कारवाहीको माग गर्दै आएका छन् ।

प्रकाशित : कार्तिक २३, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?