‘बालविवाहले पढाइ रोकियो’
(नेपालगन्ज) — बाँकेको डुडुवा गाउँपालिका २, करातियापूर्वाकी १६ वर्षीया ओमाकुमारी लोनिया विद्यालय जान्नन् । कक्षा ५ सम्म अध्ययन गरिन् । बीचमै पढाइ छोडेकी उनको काँधमा अहिले घरको चुलोचौकादेखि गाईवस्तु हेर्ने जिम्मा छ । ‘पढ्न मन लाग्छ, आमाबुबालाई भन्न सक्दिनँ,’ उनले भनिन्, ‘आफ्नै उमेर समूहका साथीहरू विद्यालय जाँदा रहर लाग्छ ।’ घरमा धेरै काम हुनाले फुर्सद नहुने उनले बताइन् । ‘मन मारेर बस्नु पर्छ,’ उनले भनिन्, ‘विद्यालयबाटै भागेर विवाह गर्छन् भन्ने डरले पनि धेरै अभिभावक छोरीलाई विद्यालय पठाउँदैनन् ।’
उनीजस्तै डुडुवा २, करातियापूर्वाकी १५ वर्षीया सुनीता लोहनिया घरकी साइँली छोरी हुन् । कक्षा ५ सम्म अध्ययन गरेपछि उनले पनि पढाइ छाडिन् । उनका भाइ नेपालगन्ज बजारमा पढ्छन् । दुई बहिनीको विवाह भइसक्यो । पिता वैदेशिक रोजगारीमा छन् । घरको काम र भाइबहिनी हेर्ने जिम्मेवारी उनलाई छ । ‘सबै पढ्न गए भाइबैनी कसले हेरिदिन्छ र १,’ उनले भनिन् ।
डुडुवा २, सन्तलियाकी मनीषा नाउले ३ कक्षा पढेर विद्यालयको आँगन टेक्न पाइनन् । १८ वर्ष नपुग्दै विवाह गरेकी उनले २० वर्ष पूरा भएपछि पतिको घर जाने योजना सुनाइन् । अहिले उनी माइतीमा छन् । ‘त्यसभन्दा अगाडि पढ्न लाज लाग्यो,’ उनले भनिन्, ‘अब साथीहरू ठूलो कक्षामा गइसके । पुरानो कक्षामा कसरी पढ्न जाने १’ विवाह भइसकेकाले पनि विद्यालय जान अफ्ठ्यारो लागेको उनले बताइन् ।
डुडुवा २ की सन्तलिया नाउ १६ वर्षकी भइन् । ५ कक्षासम्म पढेपछि फेरि पढ्न गइनन् । आमा बिरामी हुन थालिन् । आमाको हेरविचारमा उनको स्कुल छुट्न थाल्यो । त्यसपछि विद्यालय जान छाडिन् । एक वर्षदेखि उनी घरायसी कामधन्दामा व्यस्त छन् । ‘हाम्रो समाजमा छोरीलाई पढाउँदैनन्,’ उनले भनिन्, ‘घरको कामले पढ्न पनि पाइँदैन, गृहकार्य नगरे शिक्षकले कुट्छन् । घरमा पढ्ने वातावरण हुँदैन ।’
राप्तीपारिको विकट मानिएको गाउँपालिकामा विकास र बाटो बने पनि सोच परम्परागत छ । शिक्षक गोपीचन्द्र बर्माले यहाँका धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको सुनाए । ‘कति त बालविवाह गरेका कारण विद्यालय आउँदैनन्,’ उनले भने, ‘जति चेतना बढाए पनि छोरी पढाउनु पर्छ भन्ने मानसिकता नै छैन ।’ पशुपति माविमा कक्षा ७ मा पढ्ने सुनीता थारु रोपाइँ र धान काट्ने बेला विद्यालय जान्नन् । सिर्जना बाल क्लबकी कोषाध्यक्षसमेत रहेकी उनले मधेसी समुदायका बालबालिकालाई रोपाइँका बेला अभिभावकले विद्यालय नपठाउने गरेको बताइन् । ‘केही आफैं पढ्न खोज्दैनन्, धेरैलाई अभिभावकले नै अनुमति दिंदैनन्,’ उनले भनिन्, ‘एकपटक विद्यालय छोडेका छात्रा फेरि विद्यालयमा भर्ना हुन नखोज्ने प्रवृत्ति पनि बढ्दो छ ।’
प्रकाशित : कार्तिक १९, २०७६ १०:०८