कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब साझा पर्व छठ

तराई समुदायले मनाउँदै आएको छठ केही वर्षदेखि पहाडका बासिन्दाले पनि मनाउन थालेका छन् 
मनोज पौडेल

(कपिलवस्तु) — तौलिहवा बजारकी पूजा गुप्ता तीन दिनदेखि व्यवसाय छाडेर छठ पूजाको तयारीमा जुटेकी छन् । उनीजस्तै गौढी चौककी रिना श्रीवास्तव पनि छठकै लागि साताभन्दा बढी समय व्यस्त भइन् । उनले शनिबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजाआजा गरिन् ।

अब साझा पर्व छठ

पूर्वी तराईमा मनाइने छठ अवधीभाषीको मन जोड्ने माध्यम बनेको छ । पहिले मिथिलावासीले मनाउने यो पर्वले अहिले मिथिला–अवधी संस्कृति जोड्दै छ । मिथिलावासी अति कम रहेको यहाँ बिस्तारै अवधी र पहाडी दुवै समुदायको मुख्य पर्व बन्न पुगेको छ ।


डेढ दशकअघि पूर्वबाट बसाइँसरी आएका एक–दुई परिवारले सुरु गरेको छठ अहिले सबैको साझा पर्व बनेको हो । छठ तराई समुदायको पर्वका रुपमा मनाउने भनिए पनि यहाँ पहाडी समुदायमा पनि छठ पूजाको मर्म बाँडिन थालेको छ ।


‘अवधीमा भाद्रमा तीन छठ्ठी मनाइन्छ,’ अवधी संस्कृति विशेषज्ञ विक्रममणी त्रिपाठीले भने, ‘त्यो अवधी संस्कृतिको छठ हो ।’ तर, मैथिलीको कात्तिक शुक्ल पक्ष चौथी तिथिबाट छठको व्रत प्रारम्भ हुन्छ ।


आफ्नो संस्कृतिको छठ बनाए पनि अवधीबासी अरु समुदायको पर्वलाई उत्तिकै श्रद्धा र सम्मान गर्ने उनले बताए । छठ पर्व पूर्वमा जस्तै अवध क्षेत्रमा उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सुख–समृद्धिको कामनासहित मनाउन थालिएको छ । अवध क्षेत्रका मधेसी र पहाडी दुवैले उत्तिकै श्रद्धा गरेर यो पर्व मनाउँछन् । ‘हिमाल, पहाड र तराईवासीलाई एउटै सूत्रमा बाँध्ने पुलका रुपमा छठ स्थापित हुँदै गएको छ,’ कपिलवस्तु बहुमुखी क्याम्पसका सहायक प्राध्यापक भक्तराम पन्थीले भने, ‘यसलाई मधेसी र पहाडीबीच सद्भाव र मित्रता जोड्ने अवसरका रुपमा उपयोग गर्नु पर्छ ।’ पछिल्ला वर्ष अवध क्षेत्रमा अवधी र पहाडी समुदायका व्रतालु बर्सेनि बढ्दै गएको उनले बताए । पहाडी समुदायले पनि छठ पूजा परम्पराकै रुपमा गर्न थालेका छन् ।


सदरमुकाम तौलिहवाकी रजनी कसौधनले तीन वर्षदेखि छठको ब्रत बस्दै आएको बताइन् । ‘चिताएको पुरा हुन्छ भन्ने जनविश्वास छ,’ उनले भनिन्, ‘यही भएर निरन्तरता दिंदै आएकी छु ।’ पतिको दीर्घायुका लागि भदौमा तीन छठ्ठीको पूजा गर्ने र अवधमा छठको महिमा बढाउन पूजा गर्ने गरेको उनले बताइन् । ‘पर्वले सद्भाव बढाउँदै लगेको छ,’ नयाँ टोल तौलिहवाकी व्रतालु सुशीला पन्थीले भनिन्, ‘तराई र मधेसको सम्बन्ध प्रगाढ बनाउने गरी जोडेको छ ।’ यसमा जातभात, उचनिच र लैंगिक विभेद केही नहुने उनले बताइन् । एउटै पोखरी, तलाउ र जलाशयमा विभिन्न जातजाति र वर्गले पूजाआजा गर्छन् । छठ, प्रकृति र पुरुषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा व्रतसँग जोडिएको हुन्छ । यहाँ छठका लागि सबै तयारी पुरा गरिएको छ । सदरमुकाम प्रवेशद्वार जमुवार नदीमा सरसरफाइ र विद्युत् जोड्ने काम सकिएको छ ।


घाटलाई सिंगारेर बेहुली झैं चिटिक्क बनाइएको छ । पूजाआजा व्यवस्थित गर्न कपिलवस्तु नगरपालिकाले १० लाख रुपैयाँ खर्च गरेर घाट सजाएको छ ।


सबैले सहजै पूजाआजा गर्न सकून् भनेर व्यवस्थापन मिलाइएको छठ पूजा तथा संस्कृति प्रवर्द्धन समिति संयोजक गणेशलाल कर्णले बताए । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई कात्तिक शुक्ल सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यर् दिएपछि छठ पर्व विधिवत् रुपमा समापन हुन्छ ।

प्रकाशित : कार्तिक १७, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?