कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैदीका माग सम्बोधन भए 

कान्तिपुर संवाददाता

बाँके — बाँकेस्थित कारागारका कैदीबन्दीले राख्दै आएको माग पुरा भएको छ । उनीहरुले बिहीबार दिनभर चौकीदारलाई बाहिर राखेर भित्रबाट तालाबन्दी गरी विरोध जनाएका थिए । शुक्रबार जिल्ला प्रशासन बाँकेका प्रमुख कुमारबहादुर खड्का, एसपी बिरबहादुर ओली, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य, कानुन व्यवसायी एवं सञ्चारकर्मीको रहोबरमा कैदीबन्दीको माग सम्बोधन गरिएको हो । 

मुख्य माग अन्तर्गत जेलर भरतराज पाण्डेलाई सरुवा गर्नुपर्ने, चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई पदबाट निष्क्रिय बनाउनु पर्ने माग थियो । उपचार खर्च, सरसफाई खर्च, खाना खर्चको नाममा कैदीबन्दीबाट रकम उठाउँदै आएको आरोप लगाएका थिए । चौकीदार र जेलरको मनोमानीको विरुद्ध आन्दोलन गरेका थिए ।


उनीहरुको माग अनुसार प्रशासनले जेलर पाण्डेलाई सरुवा गरिदिएको छ भने चौकीदार फडेरालाई निष्क्रिय पारेको छ । प्रशासन प्रमुख खड्काले कैदीबन्दीको आन्तरिक प्रशासनीक समाधान गर्न छिट्टै समिति गठन गर्ने विश्वास दिलाएका छन् । ‘कैदीबन्दीलाई कष्ट दिएका जेलरलाई सरुवा गरेका छौं,' उनले भने, ‘कारागारको आन्तरिक समस्या बुझ्न छानविन समिति बनाउने छौं ।’ जेलरले चौकीदार बनाउन १५ लाख घुस लिएको र त्यसको असुली चौकीदारले कैदीबन्दीसँग उठाउँदै आएको पीडित कैदी हरी खत्रीले बताए ।


नाइके तथा सह-नाइके नियुक्ति गर्दा चौकीदार र जेलरको मिलेमतोमा प्रतिव्यक्ति ५ हजार देखि १५ हजार रुपैयाँ लिने गरेको, सरसफाई भनेर मासिक रुपमा अनिवार्य १ रुपैयाँ कैदीबाट उठाउँदै आएको, पहिला फोन गर्दा २० रुपैयाँ मात्रै तिर्नु पर्थ्यो, अहिले अनिवार्य ६० तिर्न बाध्य बनाएको, कैदी बन्दी विरामी पर्दा चन्दा संकलन गरेर वा आफैंले व्यक्तिगत खर्चमा उपचार गर्दै आएको, जेलर र चौकीदारको मिलेमतोमा सरुवा गर्दा अनिवार्य १० देखि २५ हजार रुपैयाँ माग्ने गरेको लगायतका अनियमितता विरुद्ध कैदीबन्दीले आन्दोलन गरेका थिए ।

प्रकाशित : कार्तिक १५, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?